उर्जामन्त्री पुन र सर्वियाका उपप्रधानमन्त्रीबीच यस्तो भयो ऊर्जामा लगानीको कुरा

  पहिलोपेज

 415 पटक हेरिएको

काठमाडौं, १० कार्तिक । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन ‘अनन्त’ र सर्वियाका प्रथम उपप्रधानमन्त्री इभिका डाकिक (Ivica Dacic)बीच भेटवार्ता भएको छ । युरो–एसिया इनर्जी सेक्युरिटी फोरममा भाग लिन सर्विया पुगेका ऊर्जामन्त्री पुन र उपप्रधानमन्त्री इभिकाबीच शनिवार शिष्टाचार भेटवार्ता भएको हो ।

भेटमा द्विपक्षीय हितका विषयमा छलफल हुनुका साथै दुबै देशको बीचमा आगामी दिनमा गर्ने सहकार्यका विषयमा समेत कुराकानी भएको थियो । मन्त्री पुनले गत मईमा उपप्रधानमन्त्री इभिकाले गरेको नेपाल भ्रमणप्रति नेपाल सरकार, परराष्ट्र मन्त्री र आफ्नो व्यक्तिगत तर्फबाट धन्यवाद समेत व्यक्त गरेका थिए ।

भेटमा मन्त्री पुनले नेपाल र सर्विया असंलग्न आन्दोलनका सहयात्री मुलुक भएको बताउँदै आगामी दिनमा समेत विश्व मञ्चमा प्रस्तुत हुँदा साझा धारणा बनाएर जाने प्रस्ताव समेत राखेका थिए । मन्त्री पुनले दुबै देशको सम्बन्ध मजबुत बनाउन उच्चस्तरीय भ्रमणको आदान प्रदानमा जोड दिनुपर्ने धारणा पनि राखेका थिए ।

मन्त्री पुनले भेटमा भने, ‘हामी पुराना सहयात्री मुलुक पनि हौं । नेपाल र सर्वियाको द्वन्द्व र शान्तिको झण्डै उस्तै–उस्तै अनुभव छ । आगामी दिनमा विश्व मञ्चमा समेत साझा धारणा बनाएर अघि बढौं ।’ नेपाल लामो समय द्वन्द्वमा गुज्रेको भन्दै मन्त्री पुनले अहिले देश स्थायित्वको युगमा प्रवेश गरिसकेको र मुलुकमा मजबुत सरकार बनेकाले लगानीको उचित वातावरण बनेको जानकारी सर्वियाली उपप्रधानमन्त्रीलाई दिएका थिए ।

मन्त्री पुनले नेपालको ऊर्जा र जलविद्युत क्षेत्रमा लगानीको लागि सर्वियाली लगानीकर्तालाई उत्प्रेरित गरिदिन समेत आग्रह गरेका थिए । उनले सरकारले १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य अघि सारेको भन्दै त्यसमा लगानी जुटाउन आफूले पहल गरिरहेको बताएका थिए ।

सरकारले नेपालमा विदेशी पर्यटकहरुलाई भित्राउन भिजिट २०–२० कार्यक्रम अघि सारेको भन्दै त्यसमा सर्भियाली पर्यटकलाई नेपाल भ्रमणमा पठाउने वातावरण बनाइदिन पनि उनले उपप्रधानमन्त्री इभिकासँग आग्रह गरे । ‘तपाई आफै पनि नेपाल भ्रमणमा जानुभएको छ । नेपाल निकै सुन्दर पनि छ । सरकारले अघि सारेको अभियानमा सर्वियाली पर्यटकलाई नेपाल भ्रमणको लागि उत्प्रेरित गरेर सहयोग गर्नुभयो भने हामी आभारी हुने थियौ’, भेटमा मन्त्री पुनको भनाई उदृत गर्दै उनका निजी सचिव कमानसिंह थापाले भने ।

जवाफमा सर्वियाका उपप्रधानमन्त्री इभिकाले नेपालसँगको सम्बन्ध मजबुत बनाउन सर्विया इच्छुक रहेको भन्दै नेपालमा लगानीको लागि आफूले निजी क्षेत्रलाई उत्प्रेरित गर्ने र सर्वियाली पर्यटकलाई नेपाल भ्रमणमा जानको लागि वातावरण बनाउने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

सर्वियाली उपप्रधानमन्त्रीले इनर्जी फोरममा नेपालले सहभागिता जनाउनुले पनि नेपाल र सर्वियाबीचको सम्बन्ध मजवुत भएको पुष्टि गरेको भन्दै आगामी दिनमा समेत दुबै देशको बीचमा थप सहकार्य हुने विश्वास व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार