बेइजिङमा उपप्रधानमन्त्री पोखरेलले भने, शान्ति सैनिक संख्या बढाउन नेपाल तयार छ’

  पहिलोपेज

 393 पटक हेरिएको

काठमाडौँ, १० कार्तिक । उपप्रधानमन्त्री ईश्वर पोखरेलले शान्तिपूर्ण सहअस्तित्वमा आधारित आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिमा रहेको नेपाल र चीनबीचको सम्बन्ध समस्यारहित रहँदै आएको बताएका छन् ।

चीनमा जारी आठौँ बेइजिङ सियाङग्स्ट्यान फोरम नामक अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा आज ‘संयुक्त राष्ट्र संघको शान्ति मिशनः चुनौती र सहकार्य’ विषयमा सम्बोधन गर्दै रक्षामन्त्री पोखरेलले राष्ट्रसंघको सुरक्षा परिषद्को स्थायी सदस्य चीनले अन्तर्राष्ट्रिय शान्ति स्थापना, बहुपक्षीय प्रणालीको सबलीकरण र आतङ्कवादविरुद्धको लडाइँमा महत्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रशंसा गरे ।

छ दशकदेखि नेपालले राष्ट्रसंघको शान्ति मिशनमा रही योगदान दिएकाले शान्ति, सद्भाव र करुणाजस्ता सन्देश दिने गौतम बुद्धको जन्मभूमिका नेपाली ज्ञानी रहेको प्रमाणित भएको बताए ।

हालसम्म नेपाली सेनाका छ हजार २५७ ले शान्ति मिशनमा खटिएर स्थायित्वका लागि योगदान दिइसकेको जानकारी दिँदै उनले राष्ट्रसंघको आह्वानमा यो संख्या बढाउन नेपाल तत्पर रहेको उल्लेख गरे ।

उनले भने, ‘नेपाली शान्ति सेनाले विश्वमा शान्ति स्थापना, स्थायित्व र द्वन्द्वग्रस्त अवस्थामा मान्छेको जीवन र सम्पत्ति बचाउन, मानवअधिकारको रक्षा गर्न खेलेको भूमिकाको अन्तर्राष्ट्रियरुपमा सराहना गरिएको छ ।’

उपप्रधानमन्त्री पोखरेलले मिशनका लागि नेपालको स्रोत, विज्ञता, सैन्य उपकरण र स्पष्ट मार्गनिर्देशनका विषय सोचनीय छन् भन्दै शान्ति स्थापनामा एकै खालको समाधानको उपाय सही नहुने नेपाली अनुभवसमेत प्रस्तुत गरे ।

नेपालले मौलिक ढङ्गले शान्तिवार्ता सफल बनाएको उदाहरण स्मरण गराउँदै उनले मिशनमा खटिएका सेना सम्बन्धित देशको आन्तरिक राजनीतिक मामिलाबाट टाढा रही शान्ति र विधि स्थापनाको परिणामुखी कार्यादेशमा कार्यरत हुनुपर्ने बताए ।

उपप्रधानमन्त्री पोखरेलको भ्रमणकै क्रममा नेपाली सेनाका लागि विपद् व्यवस्थापन परिचालनका लागि १५० मिलियन चिनियाँ युआन चीनले सहयोग गर्नेसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार