डा. बाबुराम भट्टराईलाई यसरी भयो आफ्नै ट्वीट निल्नु न ओकल्नु

  पहिलोपेज

 2546 पटक हेरिएको

नेकपाको चियापान बाबुरामले गरे बहिस्कार, बाबुरामलाई पनि मुखभरिको जवाफ


काठमाडौं, १० कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चियापान समारोह यतिबेला चर्चामा छ । ५० हजारलाई बाँडिएको भनिएको नेकपाको चियापानको निम्तोमध्ये ४ वटाचाहिँ एउटै खाममा पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईकोमा पुगेछ ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि के कम ? उनले ट्वीटमार्फत आफू चियापानमा नजाने घोषणा गर्दिएछन् । उनले सुझावै दिएछन्, गरीव देशको सर्वहारा वर्गको दुहाई दिने पार्टीले ५० हजारलाई भोज खुवाउने खर्चबाट कुनै उत्पादनको क्षेत्रमा लगानी गर्न सकिन्थ्यो । कुरो मनासिव नै थियो । आफ्नो अनुहार नहेरेर प्याच्चै अर्कालाई उपदेश दिइहाल्ने बानी त हाम्रो छँदैछ । अनि त आफैलाई गाली आउने नै भयो ।

टिप्पणीमा डा. बाबुराम भट्टराईलाई पनि मुखभरिको जवाफ दिइएको छ । डा. भट्टराईले नयाँ शक्ति पार्टी घोषणासभामा नेपालका सबै प्रिण्ट मिडियाहरुलाई लगाइदिएको विज्ञापनको कोटको तस्वीर हाल्दै उक्त उनकै दोहोलो काढिएको छ ।

डा. बाबुराम भट्टराईले आफ्नो ट्वीटमा भनेका छन्, ‘‘सत्तासीन कमरेडहरू, एउटै खाममा ४ वटा शुभकामना÷निमन्त्रणा कार्ड पठाउनुभएकोमा धन्यवाद ! तपाईंहरू सबैको भलो होस्, हाम्रो पनि शुभकामना ! गरीब देशको सर्वहारावर्गको दुहाई दिने पार्टीले ५० हजारलाई भोज ख्वाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेको भए राम्रो हुन्थ्यो कि ? त्यसैले म आउन सकिनँ ! जय होस !’’

लगत्तै प्रदीप भट्टराईले यस्तो जवाफ दिएका छन्, ‘‘यो के हो महोदय ? सबै पत्रिकामा यसरी छपाउने पैसाले कम्तिमा १० बटा विद्यालय बन्थ्यो । सयौं विद्यार्थीलाई पढाउन सकिन्थ्यो होइन र ? पहिला आफ्नो अनुहार हेर्नुस है ।’’ प्रदीप भट्टराईले यो लेखिरहँदा नयाँ शक्ति पार्टी नेपालको घोषणासभाको दिन डा. बाबुराम भट्टराईले मूलधारका सबै दैनिक पत्रिकाहरुलाई विज्ञापनकै ज्याकेट ओढाइदिएको तस्वीर पोष्ट गरेका छन् । ज्याकेट विज्ञापन सारै महङ्गो मानिन्छ ।

त्यस्तै, माधव परिवर्तनले डा. बाबुराम भट्टराईलाई मुखभरिको जवाफ दिँदै भनेका छन्, ‘‘हजुर कामरेडले नयाँ शक्ति पार्टीको स्थापना गर्दा सबैजसो मूलधारका राष्ट्रिय दैनिक पत्रिकामा करोडौं खर्च गरेर ज्याकेटेड विज्ञापन निकालेको कति छिटै बिर्सनु भो । लाजको पसारो मितव्ययिताको गफ पनि कति देको ? जय नेपाल कामरेड ।’

एकजना शालिकले त झन यसो भन्न समेत भ्याएका छन्, ‘‘चित्रबहादुर केसी र नारायणमान बिजुक्छे बाहेक अरु सबैले बिगतमा गरेका गम्भीर गल्तीहरुको आत्मालोचना नगरिकन अरुमाथि यो गरे ऊ गरे भनेर आरोप लगाउने नैतिक हैसियत गुमाइसकेका छन् । सन्दर्भ नेकपाको चियापान र तत्कालीन प्रम बाबुरामको चियापान र बिरयानी र बाबुरामको ट्वीट !’

डा. बाबुरामको ट्वीटमा धेरैभन्दा धेरै नकारात्मक कमेण्ट ओइरिएका छन् । र, उनलाई आफ्नो ट्वीट निल्नु न ओकल्नु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार