गृहमन्त्री बादलले जासुसी संयन्त्रलाई किन भने सरकारको आँखा ?

  पहिलोपेज

 445 पटक हेरिएको

काठमाडौँ, ९ कार्तिक । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय अनुसन्धान विभाग बलियो बन्नसके मात्रै मुलुक बलियो हुने बताएका छन् । विभागमा आज आयोजित १८औं अनुसन्धान अधिकृत आधारभूत तालिम, दिक्षान्त कार्यक्रममा गृहमन्त्री थापाले जुन मुलुकको जासुुुसी संयन्त्र बलियो छ, तिनै मुलुकले आर्थिक र सामाजिक विकास गरिरहेको पनि बताए ।

गृहमन्त्री बादलले अन्य सुरक्षा निकायलाई औँला र विभागलाई आँखाको संज्ञा दिँदै यी निकायबीचको समन्वयमा मात्रै अपराधका घटना नियन्त्रण गर्न सकिने बताए । गृहमन्त्री बादलले भने, ‘विभागले आँखाको रुपमा राष्ट्र र समाजका शत्रुहरुलाई पहिचान गर्ने, लक्ष्य तथा प्रहार स्पष्ट पार्नेे काम गर्नुपर्छ । यसले संकेत गरेका आधारमा अन्य सुरक्षा निकायले औंलाको काम गरी ट्रिगर दबाउनुपर्छ ।’

विभागले वस्तुनिष्ठ सूचना, तथ्य र तथ्यांक संकलन गर्न आवश्यक रहेको औंल्याउँदै गृहमन्त्री थापाले कल्पनाको आधारमा योजना बनाउँदा असफल हुने बताए । गृहमन्त्री बादलले भने, ‘सही योजना बनाउन पर्याप्त सूचना आवश्यक छ । त्यसका लागि तपाईहरुले अझै मिहिनेत गर्नुहोस् ।’

बिभिन्न नाममा देशमा अस्थिरता निम्ताउन खोज्नेहरु सक्रिय भइरहेको भन्दै तिनको समेत निगरानी बढाउन गृहमन्त्रीले निर्देशन दिए । गृहमन्त्रीले कार्यक्रममा दीक्षित भएका अधिकृतहरुलाई कार्यकाल सफलताको शुभकामना दिँदै देशले उनीहरुबाट धेरै आशा लिएको भन्दै सोही अनुसार जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गरे ।


कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले विभागको महत्व धेरै भएपनि सो अनुसार काम हुन नसकेको बताउँदै यसलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको जानकारी दिए । अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीले राज्यको आवश्यकता र सोँचअनुसार आफूहरु परिवर्तित भई काम गर्न तयार रहेको स्पष्ट पारे ।

तीन महिना चलेको सो तालिममा उत्कृष्ट प्रशिक्षार्थी किरण भट्टराईसहित २२ जना प्रशिक्षार्थीहरुलाई कार्यक्रममा गृहमन्त्री थापाले प्रमाणपत्र प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार