प्रचण्ड–बाबुराम क्रान्तिबाट भागेपछि त्यसको अभिभारा हामी पूरा गर्छौं : चन्द

  पहिलोपेज

 671 पटक हेरिएको

सल्यान, ८ कार्तिक । अखिल नेपाल महिला संगठनका केन्द्रीय अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टीका केन्दीय सदस्य बन्धु चन्दले दश बर्ष जनयुद्धले जनवाद ल्याउन खोजेपनि मुख्य नेतृत्व सत्तामा पुगेर दलाल पूँजीवाद ल्याएको बताएकी छन् ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको अखिल क्रान्तिकारी विद्यार्थी संगठन सल्यानले आज श्रीनगरमा गरेको दशैतिहार शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले अहिले देश दलाल पूँजीवादमा चुर्लुम्मै डुबेको बताएकी छन् । उनले अब पूँजीवादलाई लखेटेर वैज्ञानिक समाजबाद ल्याउने बताइन् ।

उनले भनिन्, “प्रचण्ड, बाबुरामले क्रान्ति छोडेर भागेपनि त्यसको अभिभारा हामी पूरा गर्छाै ।” आफूहरुले क्रान्ति गर्छाै भन्दा राज्यसत्ताले डर मानेर आफूहरुमाथि धरपकड र गिरफ्तारी गरेको उनले बताइन् । राज्यको यस्तो प्रवृत्तिले आफूहरु कुनै हलचल नभएको र कोही पनि विचलित नहुन उनले पार्टी कार्यकर्ता र शुभचिन्तकलाई आग्रह गरेकी छन् ।

त्यस्तै उनले निर्मला पन्तको हत्यारा समात्न नसक्ने अहिलेको राज्य ब्यबस्थाले जनस्तरको कुनै काम गर्न नसक्ने बताएकी छन् । उनले तत्कालीन माओवादी जनयुद्धको समयमा महिलाहरु सुरक्षित भएको बताइन् । उनले भनिन्, “जनयुद्धमा बलात्कारीलाई सजाय दिइन्थ्यो तर अहिले त्यही जनयुद्ध गरेर राज्यसत्ता चलाएकाहरुले बलात्कारीलाई जोगाएर हिडेका छन् ।”

कार्यक्रममा बोल्दै नेकपाका जिल्ला सेक्रेटरी लोक्पाल केसीले गाउँगाउँमा विप्लव नेकपाको खोजी गर्ने र प्रवेश गर्नेहरुको लर्काे भएको बताए । उनले ४ महिने जनजागरण अभियानमा नेकपाप्रति सबै सकारात्मक भएको बताए ।

पूर्व जनमुक्ति सेनाका बटालियन कमाण्डर क्रान्तिले आफूहरुले हिजो जनयुद्ध लडेको केवल प्रचण्डका लागि मात्रै भएको बताए । उनले भने, “हामी देशमा परिवर्तका लागि युद्ध लड्यौ तर त्यसको फाइदा प्रचण्डलाई मात्रै भयो । जनताको स्तर जस्ताको तस्तै भयो ।” आफूहरु अझै युद्धको मैदानमा भएको बताउँदै उनले युद्ध नरोकिएको बताए । फेरि पनि जनमुक्ति सेनामा भर्ती गरेर आफूहरु अगाडि बढ्ने उनले बताए ।

अर्का पूर्व जनमुक्ति सेनाका बटालियन कमाण्डर किरणले पनि अहिले माओवादी हराएको जस्तो भएको बताए । उनले अब माओवादीको अधुरो काम आफूहरुले पूरा गर्ने भन्दै एकपटक युद्ध लड्ने बताए । आफूले ज्यान बाजीमा राख्न तयार भएको भन्दै उनले मृत्युमा कुनै डर नभएको बताए ।

कार्यक्रममा विभिन्न पार्टीका एक दर्जन जति नेता कार्यक्रर्ता नेकपामा प्रवेश गरेका थिए । कार्यक्रमको अध्यक्षता अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष टंकप्रकाश केसीले गरेका थिए । उपाध्यक्ष भीम ओलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव दीपेन्द्रप्रकाश डिसीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार