मुम्बईमा दुई खेल हारेको डीसीएको टोलीलाई तेस्रो खेलमा पहिलो जित

  पहिलोपेज

 365 पटक हेरिएको

मुम्बई, ८ कार्तिक । खेलमा सुधार गरेपछि धनगढी क्रिकेट एकेडेमी (डीसीए) को मुम्बईमा पहिलो जित भएको छ ।

आफ्नो तेस्रो मैत्रीपूर्ण खेलमा डीसीएले बिहीवार मुम्बई पुलिसको १७ वर्षमुनिको टिमलाई १० रनले पराजित गरी रोचक जित दर्ता गरेको हो । मुम्बई पुलिस जिमखाना खेल मैदानमा टस जितेर पहिले ब्याटिङ्ग गरेको डीसीएले निर्धारित ४० ओभरको खेलमा आठ विकेट गुमाएर एक सय ६५ रन बनाएको थियो ।

आफ्नो टिमलाई जिताउन डीसीएका रोहन विकले २७ बलमा ४२ रन बनाए । उनको ब्याटबाट चार चौका प्रहार भएको थियो । त्यस्तै, सोनु मण्डलले ३३ रन बनाए । उनले पनि चार चौका प्रहार गरेका थिए । कप्तान सुवोध ऐरले ४ चौकाको मदतले २७, राजन लोहनीले दुई बलमा ६ र सन्दिप आउजीले ५ रनको योगदान दिए ।

बलिङ गर्दै मुम्बई पुलिसका जेनिथ सर्हदेव, कुश जैन र धनित रावतले समान दुई÷दुई विकेट लिए पनि डीसीएलाई लयमा फर्किनबाट रोक्न सकेनन् । एक सय ६६ रनको लक्ष्य पछ्याउन जवाफी मैदानमा उत्रेको मुम्बई पुलिस टिम ३४ ओभरमा अलआउट हुँदै १ सय ५५ रनमा समेटियो । मुम्बईका आर्यनले ५१ रन बनाए पनि आफ्नो टिमलाई हारबाट जोगाउन सकेनन् । त्यस्तै, ऋषिभेष मोरेले २६, अभिषेक यादवले १२ रन बनाए ।

मुम्बईलाई लक्ष्यमा पुग्नबाट रोक्ने क्रममा डीसीएका विनोद विष्टले सर्वाधिक ४ विकेट लिए । ८ ओभर बलिङ गरेका उनले ४३ रन खर्चेका थिए । त्यस्तै, कुश मण्डलले तीन, सोनु मण्डल, निशान पन्त र राजन लोहनीले समान एक÷एक विकेट लिदैं आफ्नो टिमलाई पहिलो जित दिलाउन सफल भए ।

१० दिनसम्मको लागि मुम्बई भ्रमणमा आएको १७ वर्षमुनीको डीसीए टोलीले यसअघि दुई खेलमा पराजय भोगेको थियो । डीसीएले अझै चार वटा एक दिवसीय मैत्रीपूर्ण खेल खेल्न बाँकी रहेको छ ।

अरु खेलको तुलनामा बिहीवारको खेलमा सुधारिएको प्रदर्शन गरेपछि टोलीले पहिलो जित दर्ता गरेको डीसीएका प्रशिक्षक दीपेन्द्र चौधरीले बताए । उनले भने–‘आज सबैले राम्रो खेले । ब्याटिङ, फिल्डिङ र बलिङ राम्रो भएपछि बलियो प्रतिस्पर्धीमाथि जित दर्ता गरेका छौं । यसमा सबैको उत्तिकै योगदान छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार