घोराही ११ को शिबपुरमा शहरी स्वास्थ्य केन्द्र स्थापना

  पहिलोपेज

 243 पटक हेरिएको

दाङ, ८ कार्तिक । घोराही उपमहानगरपालिकाले वडा नम्बर ११ को शिवपुरमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेको छ । जनप्रतिनिधिहरु निर्वाचित भएपछिको नगर कार्यपालिका बैठकले प्रत्येक वडामा एक वडा एक शहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने नीति पारित गरेको थियो ।

सोही निति अनुसार नागरिकहरुको स्वास्थ्य उपचारलाई पहुँच युक्त बनाउन शहरी स्वास्थ्य केन्द्र स्थापना भइरहेको नगर स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिए । कुनै पनि विरामीहरुलाई उपचारबाट बन्चित हुन नपरोस् र निःशुल्क उपचार होस भन्ने हेतुले वडाहरुमा वडाबासीको पायक पर्ने ठाउँमा स्वास्थ्य केन्द्रहरु स्थापना भइरहेको उनको भनाई छ ।

आज एक कार्यक्रमको आयोजना गरी वडा नम्बर ११ को शिवपुरमा शहरी स्वास्थ्य केन्द्रका नगरका कार्यबाहक प्रमुख सीता सिग्देल न्यौपानेले उद्घाटन गरेकी छन् । वडाध्यक्ष कुलबहादुर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा कार्यवाहक प्रमुख न्यौपानेले रिवन काटेर स्वास्थ्य केन्द्रको उद्घाटन गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै न्यौपानेले नागरिकहरुलाई स्वास्थ राख्न र कुनै पनि समस्या भए सम्भब भएसम्मका उपचारहरु घर नजिकैबाट प्रबाह गर्नका लागि वडाहरुमा शहरी स्वास्थ्य केन्द्रहरु स्थापना भइरहेको जानकारी दिइन् ।

गाउँमै स्वास्थ्य उपचार गराउने र जटिल प्रकारका रोगीहरुलाई उपमहानगरले ५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको समेत जानकारी दिइन् । कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनार, नगरका सल्लाहकार रमेशकुमार अधिकारी, नगरका जनस्वास्थ्य प्रबद्र्धन समिति संयोजक खोपीराम चौधरी, बाताबरण तथा बिपद व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीले जनस्वास्थ्यलाई सम्पत्तिका रुपमा बुझ्न आग्रह गरेका थिए ।

उक्त शहरी स्वास्थ्य केन्द्रबाट ३२ प्रकारका औषधिहरु निःशुल्करुपमा पाइने केन्द्रका इन्चार्ज शिबबहादुर कँवरले जानकारी दिए । प्राथमिक उपचार, गर्भवती जाँच, टिबिको उपचार, परिवार नियोजनका साधन बितरण, परामर्श, खोप लगायतका उपचार सेवा समेत दिइने उनको भनाई छ । कार्यक्रमको सहजीकरण वडा सदस्य ज्ञानेन्द्रबहादुर बस्नेतले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार