धनगढी क्रिकेट एकेडेमीको टोलीलाई मुम्बईमा लगातार दोस्रो हार

  पहिलोपेज

 821 पटक हेरिएको

मुम्बई, ७ कार्तिक । मुम्बईमा धनगढी क्रिकेट एकेडेमी (डीसीए) को लगातार दोस्रो हार भएको छ । बुधवार मातुङ्गा जिमखाना मैदानमा स्थानीय दादर यूनियन स्पोर्टिङ क्लबसँग भएको मैत्रीपूर्ण खेलमा डीसीए १ सय रन अन्तरले पराजित भएको हो ।

टस जितेर ब्याटिङ गरेको दादरले निर्धारित ४० ओभरमा सात विकेट गुमाएर दुई सय १८ रन बनाएको थियो । दादरको जितमा निनद् कर्मरकर र आर्यन सेनले समान ४८÷४८ रन बनाए । क्रिस सुव्रमन्यमले ८ र रोहनले ७ रनको योगदान दिए ।

बलिङ गर्दै डीसीएका लागि विनोद विष्टले सबैभन्दा बढी तीन, सोनु मण्डलले दुई, सन्दिप आउजीले एक विकेटको सफलता प्राप्त गरे । यसैगरी दुई ओभर बलिङ गरेका १० वर्षीय खेलाडी सुवोध तिवारीले पनि एक विकेट हात पारे । १८ रन खर्चेका उनले दादरका रोहनलाई बोल्ड गरेका थिए ।

जवाफी ब्याटिङमा उत्रेको डीसीए २९ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै एक सय १८ रनमा समेटियो । डीसीएका लागि कप्तान सुवोध ऐरले सर्वाधिक ३३, कुश मण्डलले २४ रन बनाए । अरु ब्याट्सम्यानले दोहोरो अङ्कमा स्कोर बनाउन सकेनन् । रोहन विकले ९, सोनुले ८ र निशान पन्तले ५ रनको योगदान दिए ।

डीसीएलाई सस्तैमा समेट्ने क्रममा दादरका साद शेखले सवैभन्दा बढी चार विकेट लिए । सोहम सबनिस र अजितले समान दुई÷दुई विकेट हात पारे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार