मुम्बईमा भएको मैत्रीपूर्ण खेलमा डीसीए टोली पराजित

  पहिलोपेज

 802 पटक हेरिएको

मुम्बई, ६ कार्तिक । मुम्बईको टुरमा रहेको धनगढी क्रिकेट एकेडेमी (डीसीए) को १७ वर्षमुनिको टोली मंगलवार आफ्नो पहिलो मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।

मुम्बईको स्टार सीसी क्लबले डीसीएलाई ९ विकेटले पराजित गरेको हो । स्थानीय आजाद मैदानमा टस हारेर पहिले ब्याटिङ्गको निम्तो पाएको डीसीएले ४० ओभरको खेलमा ३६ ओभरमा अलआउट हुँदै १ सय ५ रन बनाएको थियो ।

डीसीएका लागि रोहन विकले सर्वाधिक ३५ रन बनाए । कप्तान सुवोध ऐरले १६, सक्षम पार्कीले १५ सन्दिप आउजीले ८ रनको योगदान गरे । त्यस्तै, किरन नाथले ३ र निशान पन्तले १ रन जोडेका थिए । डीसीएका ४ जना खेलाडी शून्य रनमै पवेलियन फर्केका थिए ।

डीसीएलाई धेरै रन बनाउनबाट रोक्ने क्रममा स्टार सीसीका लेग स्पीनर लक्षले सर्वाधिक ५ विकेट लिए । त्यस्तै, सुभम र अङ्कितले २÷२ विकेट हात पारे । धनगढीबाट मुम्बईसम्मको लामो यात्राको थकानका कारण डीसीएका खेलाडीहरु खुलेर खेल्न सकेका थिएनन् ।

१ सय ६ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रेको स्टार सीसीले १० दशमलव ३ ओभरमा १ विकेट गुमाएर सजिलै लक्ष्य पूरा ग¥यो । उसको जितमा प्राम्भिक ब्याट्सम्यान तस्यमले अर्धशतक पूरा गर्दै अविजित ५८ रन बनाएका थिए । अर्का ओपनर रोहित काम्लीले ३० र तेस्रो नम्बरमा ब्याटिङ्ग गरेका मयुरेशले नटआउट ८ रनको योगदान दिएका थिए ।

बलिङ गर्दै सोनु मण्डलले डीसीएलाई एक विकेटको सफलता दिलाएका थिए । दुई ओभर बलिङ गरेका उनले मात्र १३ रन खर्चेका थिए । तीन ओभर बलिङ गर्दै निशान पन्तले सर्वाधिक ३३ रन खर्चे पनि कुनै विकेट हात पार्न सकेनन् । त्यस्तै, ३० रन खर्चेका कुश मल्ल र १७ रन खर्चेका विनोद विष्ट पनि विकेटबिहीन बनेका थिए । तीन बल फालेका राजन लोहनीले १० रन खर्चे ।

प्रतिद्वन्दी राम्रो र बलियो रहेकाले डीसीएका खेलाडीहरुले राम्रो सिक्ने अवसर पाएको प्रशिक्षक दीपेन्द्र चौधरीले बताए । ‘यसबाट हामीले अरु खेलमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेका छौं’ उनले भने ।

१० दिनसम्मको लागि मुम्बई टुरमा आएको डीसीए टोलीले यहाँको विभिन्न क्लबसँग अझै ६ वटा एकदिवसीय खेल खेल्नेछ । नियमित प्रशिक्षण गरिरहेका खेलाडीहरुलाई थप ‘एक्सपोजर’ दिनका लागि मुम्बई टुरमा ल्याएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए । ‘यसले हाम्रो खेलाडीहरुमा निखारपना आउनेछ’, उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार