मुख्यमन्त्री पोख्रेलको प्रश्न, ‘राजधानी देउवाले तोक्ने अनि पुत्ला शंकर पोख्रेल र कृष्णबहादुर महराको जल्ने किन ?’

  पहिलोपेज

 7338 पटक हेरिएको

तुलसीपुरमा प्रादेशिक स्तरको अस्पताल : मुख्यमन्त्री पोख्रेल

काठमाडौं, ५ कार्तिक । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले तुलसीपुरको अञ्चल अस्पताललाई प्रादेशिक स्तरको अस्पताल बनाउने बताएका छन् । सामान्य उपचारका लागि पनि यहाँका जनता टाढा जान वाध्य भएको भन्दै मुख्यमन्त्री पोख्रेलले सुविधासम्पन्न अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले योजना बनाइरहेको बताए ।

तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थल सञ्चालनमा आउनु सुखद कुरा भएको बताउँदै टरिगाउँ र नारायणपुरको विमानस्थल निर्माण एकैपटक सुरु हुने बताए । ‘तुलसीपुर विमानस्थल अब नियमित हुन्छ । आन्तरिक विमानस्थलका रुपमा यसलाई निरन्तरता दिँदै नारायणपुरमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण गरिनेछ’। मुख्यमन्त्री पोख्रेलले भने ।

दाङको विकासका लागि सबै एकजुट हुनुपर्ने आवश्यकता रहेको बताउँदै पोख्रेलले विकासका लागि क्षेत्रीय स्वार्थ त्याग्नुपर्ने बताए । ‘समग्र दाङको विकास कसरी गर्ने भन्ने हाम्रो ध्यान हुनुपर्दछ’, मुख्यमन्त्री पोख्रेलको भनाई थियो । दाङलाई प्रादेशिक राजधानी बनाउने कुरा आफ्नो हातमा नरहेको बताउँदै शेरबहादुर देउवाले गरेको गल्तीको दोष जनताले आफूलाई लगाएको आरोप समेत लगाए ।

‘राजधानी देउवा सरकारले तोक्ने अनि पुत्ला शंकर पोख्रेल र कृष्णबहादुर महराको जल्ने, हामी कस्तो राजनीतिक धरातलमा छौं ?’ मुख्यमन्त्री पोख्रेलले प्रतिप्रश्न गरे । प्रदेशको राजधानी छान्ने काम आफ्नो नभएको बताउँदै प्रदेश सभाको दुई तिहाई बहुमतले त्यसको छनोट गर्ने उनको कथन थियो ।

दाङमा सिंचाई र खानेपानीको समस्या रहेको भन्दै पोख्रेलले माडीको पानी दाङ ल्याउनका लागि प्रदेश सरकारले पहल गरिरहेको बताए । कुइरेपानीदेखि तुलसीपुरसम्मको सडकलाई चार लेन बनाउनका लागि काम अगाडि बढेको बताउँदै उनले तुलसीपुरमा चक्रपथ निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरिसकेको समेत बताए ।

कार्यक्रममा विषय प्रवेश गराउँदै नगर प्रमुख घनश्याम पाण्डेले बृहत गुरुयोजना निर्माण गरेर दाङको विकासमा लागि काम गर्न आग्रह गरेका थिए । सडक बजेटहरुलाई खण्ड खण्ड बनाएर विनियोजन गर्नुभन्दा पनि एकै ठाउँमा राखेर बृहत सडक योजना बनाउनका लागि नगरप्रमुख पाण्डेले आग्रह गरेका थिए । तुलसीपुरमा रहेको विमानस्थल सञ्चालनका लागि पहल गर्न आग्रह गर्नुका साथै उपमहानगरपालिकाले निर्माण गर्न थालेको मेट्रो कलेजलाई प्रदेशस्तरकै विश्वविद्यालय समेत बनाउन सकिने गरी काम गर्न उनले आग्रह समेत गरे ।

अस्पतालमा दरवन्दी अनुसार चिकित्सक नभएको भन्दै मुख्यमन्त्री पोख्रेलले सरकारले तोकेको दरवन्दी मिलान गर्नका लागि प्रदेश सरकारलाई आग्रह समेत गरे । प्रदेश सरकारले समयमै कानुन नबनाउँदा ढुँगा, गिट्टी र बालुवा निकासीमा अवरोध भएको भन्दै उनले विकासका काम प्रभावित भएको समेत जानकारी गराए ।

कार्यक्रममा बोल्दै तत्कालीन संविधानसभाका सदस्य बुद्धिराम भण्डारी र पूर्व सभासद गेहेन्द्र गिरीले दाङलाई राजधानी बनाउनका लागि पहल गर्न मुख्यमन्त्रीलाई आग्रह समेत गरेका थिए । उपमहानगरपालिका उपप्रमुख माया आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर प्रवक्ता सूर्यबहादुर डाँगीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार