धनगढी क्रिकेट एकेडेमीको टोली खेल भ्रमणमा मुम्बईतिर

  पहिलोपेज

 788 पटक हेरिएको

काठमाडौं, ५ कार्तिक । धनगढी क्रिकेट एकेडेमी(डिसिए)को टोली १० दिने खेल भम्रणका लागि आइतबार मुम्बई प्रस्थान गरेको छ ।

टोलीले मुम्बईका विभिन्न क्लब तथा एकेडेमीसँग ७ वटा एक दिवसीय खेलहरु खेल्ने डिसिएले जनाएको छ । टोलीलाई आइतबार धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले एक कार्यक्रमकाबीच विदाई गरेका थिए ।

विदाई कार्यक्रममा शुभकामना मन्तव्य दिँदै मेयर वडले खेलले कुनै पनि क्षेत्रलाई चिनाउन तथा पहिचान गराउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले खेलको विकासका लागि आफूहरु प्रतिबद्ध रहेको बताए ।

‘धनगढीलाई हामीले नगरपरिषद्बाटै क्रिकेटको शहर नामकरण गरेका थियौं,’ वडले भने, ‘हामीले परिषद्बाटै प्रत्येक वर्ष खेल विकासमा सक्दो बजेट विनियोजन गर्दै आएका छौं र आगामी वर्षमा बजेट बृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दछौं ।’

यस्तै धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले खेलाडीहरुलाई प्रशिक्षणसँगै एक्सपोजरको पनि आवश्यकता पर्ने भएकाले मुम्बई टूरले राष्ट्रका लागि प्रतिभावान खेलाडीहरु उत्पादनमा सघाउ पुराउने विश्वास व्यक्त गरे ।

‘यसअघि हामीले गरेको मुम्बई टूरका खेलाडीहरुले राष्ट्रिय टूरमा स्थान बनाइसकेका छन्,’ शाहीले भने, ‘यस टूरले पनि राष्ट्रिय टोलीका लागि नयाँ खेलाडी दिनेमा विश्वस्त छौं ।’

टोलीमा सुबोध ऐर, सिजन कुँवर, सन्दीप आउजी, विनोद विष्ट, राजेन्द्र लोहनी, सोनु मण्डल, रोहन विक लगायतका खेलाडी छन् । यस्तै प्रशिक्षकमा दीपेन्द्र चौधरी छन् भने व्यवस्थापकमा भरत जोशी रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार