माधव नेपालले यसरी खेले उधारो भैलो, नेकपाको पुरानै निर्णय सदर

  पहिलोपेज

 1285 पटक हेरिएको

काठमाडौं, ५ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाललाई यसपालि उधारो भैलो खेलेजस्तो भएको छ । असन्तुष्टको आवाजलाई आगामी दिनमा सम्बोधन गर्ने भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश समिति गठनको पुरानो निर्णयलाई सदर गरेपछि उनलाई उधारो भैलो खेलेजस्तो भएको हो ।

बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोक्ने पूर्व निर्णयलाई यथावत राख्ने निर्णय गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले नेता माधव नेपाललगायतले उठाएका विषयलाई आउँदा दिनमा ध्यान दिनेगरी प्रदेश कमिटी गठनसम्बन्धी निर्णयलाई निरन्तरता दिने निर्णय गरिएको बताए ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू विदेशमा रहेको बेला एकलौटी प्रदेश कमिटी गठन गरेको भन्दै नेता नेपालले लिखित असहमति जनाएका थिए । नेकपाले पूर्वएमाले र पूर्वमाओवादी पक्षबाट २÷२ जनाको भागबण्डा गरी असोज ५ गते प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव गरी मुख्य चारवटा पदमा जिम्मेवारी तोकेको थियो ।

सचिवालय बैठकले प्रवक्ता श्रेष्ठले दिएको राजीनामालाई अस्वीकृत गरेको छ । त्यस्तै, चिकित्सा शिक्षामा सुधारको माग गरेर आमरण अनशनमा बसेका डा. गोविन्द केसीसँग भेटघाट गरेको विषयमा पार्टीमा विवाद आएपछि प्रवक्ता श्रेष्ठले गत साउन पहिलो साता राजीनामा दिएका थिए ।

जिल्ला तह र जनसंगठन एकीकरणको विषयमा छलफल गर्न पर्सी कार्तिक ७ गते दिउँसो १ बजे पुनः सचिवालय बैठक डाकिएको छ । आइतबार बसेको बैठकले सांसद रामवीर मानन्धरले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गर्दै सकिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार