कृष्णनगरमा बेलुकी ५ बजेदेखि पुनः निषेधाज्ञा

  पहिलोपेज

 812 पटक हेरिएको

काठमाडौं, ५ कार्तिक । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगर बजार क्षेत्रमा साँझ ५ बजेपछि पुनः निषेधाज्ञा जारी गरेको छ । सोमबार बिहान ८ बजेदेखि दुई चरणमा हटाइएको निषेधाज्ञा पुनः लगाइएको हो ।

प्रशासनले सोमबार बिहान ८ बजेदेखि १२ बजेसम्म र दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म दुई चरणमा निषेधाज्ञा हटाएको थियो । जिल्ला प्रशासन कार्यालयले साँझ ५ बजेदेखि अर्को आदेश जारी नहुँदासम्म निषेधाज्ञा जारी गरेको हो ।

शनिबारदेखि अशान्त बनेको भारतीय सीमावर्ती बजार कृष्णनगरमा आइतबार साँझदेखि निषेधाज्ञा लगाइएको थियो । सोमबार बिहानदेखि कफ्र्यू हटाइएपछि त्यहाँको जनजीवन सामान्य बन्दै गएको भएपनि साँझ पुनः निषेधाज्ञा लगाइएको हो । कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तरतर्फ कृष्णनगर १ शिवानगरको बढाया पोखरी क्षेत्र, पूर्व सेमरागाउँ र पश्चिम सिर्सिहवा चोकसम्म निषेधाज्ञा लगाइएको छ ।

दुर्गा पूजाका मूर्ति बिसर्जन गर्ने क्रममा शनिबार स्थानीय हिन्दू समुदाय र मुस्लिम समुदायबीच विवाद बढेको बताइएको छ । यद्यपि, उक्त घटना हिन्दू र मुस्लिम समुदायको नभएर मूर्ति विसर्जन गर्ने समूह र प्रहरीबीच सामान्य असमझदारी हुँदा उक्त घटना भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार