माओवादी “जनसत्ता”मा समलिङ्गी मुद्दाको यस्तो रोचक प्रसङ्गको खुलासा

   श्यामकुमार बुढा “चिन्तन”

 1115 पटक हेरिएको

रोल्पाको दक्षिणी भेगमै खट्दा बुढागाउँ एउटा नमूना थियो र आज पनि छ । त्यहाँका कार्यकर्ताको समर्पण भाव र जनताको हार्दिकतापूर्ण सहयोगले नै दुश्मनको दशवर्षे युद्धको मध्यकालीन दमनलाई चिर्न सकियो । राम्रो भित्र नराम्रोको अंश हुनु र नराम्रोको थुप्रोभित्र राम्रोको अंश हुनु पनि प्रकृतिको द्वन्द्वात्मक नियम नै रहेछ । नराम्रो राम्रोमा रुपान्तरण हुने र राम्रो नराम्रोमा रुपान्तरण हुनसक्ने कुरा पनि संघर्षबाट विकासको आधारभूत नियम नै रहेछ । यस्तै कुराको गुत्थी बनेर मेरो कालमा बुढागाउँमा समलिङ्गी मुद्दा आइलाग्यो ।

म एरियाको इन्चार्ज थिएँ । एरीया कमिटीका साथीहरु दुईवटी महिला बहिनीको बारेमा चिन्ता व्यक्त गर्नुहुन्थ्यो । “यी दुईवटीको उठबस राम्रो छै्रन” भन्ने टिप्पणी आइरहन्थ्यो । मैले भने, “विपरीत लिङ्गी भए पो बिग्रेलान् भन्ने डर । समलिङ्गीको बीचमा के होला र ?” यस्तै भनेर साथीहरुका कुरालाई टारिदिन्थें । त्यो मुद्दा त्यसबेला गम्भीर लाग्यो जतिबेला चिठ्ठीमा एउटीले “श्रीमान्” अर्कीले “श्रीमती” भनेर सम्बोधन गरेको भेटियो । मलाई साह्रै अचम्म लाग्यो । घरमा बुझ्न पठाइयो । एउटीको घरमा “तपाईको बुहारी ल्याएको छु” भनेको पाइयो । त्यसपछि विवाहको कुरा चलाइयो । त्यसपछि उनीहरुले “विवाह नै नगरे के हुन्छ र ?” हामीले त विवाह गरिसक्यौं” जस्ता उत्तर आए । उठबससँगै छुट्टिन गाह्रो मान्ने भएपछि शंका निवारणको लागि उनीहरुलाई एरिया कार्यालयमा बोलाइयो ।

यी दुईवटीमध्ये एउटीबाट मैले पनि र साथीहरुले पनि धेरै आशा गर्नुभएको थियो । अर्की भने मुस्किलले कामसम्म लाग्ने ठानिएको थियो लडाइँ र पार्टी जीवनका लागि । अहिलेसम्मको परिणामले पनि त्यही त्यही सावित गरेको छ ।

एरिया कार्यालयमा एरिया सेक्रेटरी र म बसेर करिब २ घण्टा छलफल ग¥यौं । अनि बैनीहरुसँग सोधपुछ शुरु भयो । प्रारम्भमा ….. मात्र गरे । टार्न खोजे । तर प्रश्नहरु झनपछि झन तथ्यसँग जोड्दै जाँदा डेढ घण्टापछि आपूmहरु समलिङ्गी भएको स्वीकार गरे । बैनीहरुको स्वीकारोक्तिपछि मनभित्र झन पीडानुभूति भयो । धेरै आशा गरेकोबाट यस्तो भयो भन्ने झैं भयो । तत्काल उनीहरुलाई निलम्बन गरेर जिल्ला कार्यालयमा रिपोर्ट गरियो । यस्तो मुद्दा सम्भवतः हाम्रो आन्दोलनकै प्रथम थियो । पछि कारवाहीको ठोस भयो । सम्पूर्ण जिम्मेवारी छोडेर जनसेनामा अथवा त्यसबेलाको छापामार दलमा एउटीलाई र अर्कीलाई मिलिसियामा खटाइयो ।

 “बीउ गुणाको फल, संगत गुणाको बुद्धि” भन्ने हाम्री मावली हजुर आमाको उखान टुक्का मेरो मनभित्र नाँचिरह्यो । संगतको प्रभावले किशोर उमेरलाई अति नै प्रभावित पार्दो रहेछ ।

केही समयपछि विदेशी भाइचारा संगठनबाट आएका साथीहरुसँग भेट भयो । समलिङ्गीलाई कारवाही गरेको विषयमा मसँग दह्रो छलफल भयो । मानवाधिकार र स्वतन्त्रताको कुरा पनि भयो । पश्चिमा देशहरुमा अनेक विवाह हुने कुरा पनि थाहा पाइयो । सरकारले समलिङ्गी विवाहलाई मान्यता दिएको पनि थाहा पाइयो । जीवनमा पहिलोचोटी “कोर्ट म्यारिज”, “पिस म्यारिज” जस्ता केके हो केके विवाह पद्धतिको व्याख्या पनि सुनियो । २ वर्षको लागि विवाह गर्ने त्यो बीचमा बच्चा भएमा दुबैले पाल्ने तर दुई वर्षपछि सम्बन्ध स्वतः विच्छेद भएर अरुसँग विवाह गर्न पाउने विवाहको कुरा भने अनौठो लाग्यो । अनौंठो लागेर के गर्नु ? धर्तीको कुनै ठाउँमा त्यसै भइरहेछ । हाम्रो ठाउँमा यस्तै परम्परा छ भनेर प्रतिवाद गरियो तर दुनियाँ बुझ्ने मामिलामा अत्याधुनिक संसारबाट भने टाढा भएझैं लाग्यो ।

वर्तमानका हाम्रा निर्णयहरु यो समाज विशेषअनुसार सही भएपनि सुदूर भविष्यको क्षितिजबाट हेर्दा अपूर्ण र पुरानो लाग्यो । तैपनि हाम्रो नियतमा खराबी थिएन । अप्राकृतिक संसारबाट प्राकृतिक दुनियाँमा फर्काएर विज्ञानसम्मत काम गरेकोमा भने गर्व लाग्यो ।

             (लेखक श्यामकुमार बुढा “चिन्तन” तत्कालीन जनमुक्ति सेनाको ब्रिगेड कमाण्डर हुन् । माओवादी जनयुद्धको शुरुवाती चरणदेखि नै पार्टी, संगठन र जनमुक्ति सेना सबैतिर काम गरेका उनी शान्तिवार्ता शुरु भएपछि जनमुक्ति सेना छोडेर संगठनको काममा फर्किएका थिए ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार