जेलबाट छुटेर आफैले बलात्कार गरेकी युवतीसँग बिवाह

  पहिलोपेज

 4397 पटक हेरिएको

काठमाडौं, ४ कार्तिक । बलात्कारको आरोपमा जेलमा रहेका एक युवकले जेलबाट छुटेपछि आफैले बलात्कार गरेकी युवतीसँग विवाह गरेका छन् । सप्तरी जिल्लाको फुलकाहीका एक युवकले आफूबाट पीडित युवतीसँग विवाह गरेका हुन् ।

पुनरावेदन अदालत राजविराजको फैसलाअनुसार शुक्रबार साधारण तारेखमा रिहा भएका २० वर्षीय दीपेन्द्रकुमार यादव र बलात्कारको शिकार भएकी १८ वर्षीया मन्जुकुमारी यादवबीच अधिकारकर्मी र कानुन व्यवसायीको रेखदेखमा राजविराजको भगवती मन्दिरमा विवाह भएको हो ।

विवाह समारोहमा युवकका बुवा जगतलाल यादव र युवतीका बुवा सिरहाको सोठियाइन–१ का पच्चु यादव, परिवारका सदस्यहरु र आफन्त सहभागी भएका थिए । विवाहपछि मान्यजनसँग आशीर्वाद लिँदै गरेकी मन्जुले भनिन्, ‘‘उसले मलाई हेरचाह गर्छ भन्ने विश्वास लागेकाले विवाहका लागि राजी भएकी हुँ ।’’

बलात्कारको आरोपमा थुनामा परेपछि उनीहरुका अभिभावकहरुले आपसमा छलफल गरी विवाहको टुंगो लगाएका थिए । विवाहको सहमतिपछि नै युवतीले अदालतमा राजी खुशीका साथ शारीरिक सम्बन्ध राखेको बताएर दीपेन्द्रविरुद्ध चलिरहेको मुद्दा हलुको बनाएकी थिइन् । उता पुर्पक्षका लागि थुनिएका युवकले पनि केही वर्षदेखिको प्रेम सम्बन्ध रहेको भन्दै पत्नी स्वीकारेका हुन् ।

दुबैजनाको सहमतिमा युवतीले जिल््ला अदालतमा गत फागुन ९ गते नाताकायमको मुद्दा दर्ता गराइन् भने युवकले पुनरावेदन गरेका थिए । दुबैले पति–पत्नीले नाता स्वीकारे पनि बलात्कारको मुद्दामा पर्नसक्ने असर विचार गरेर मात्र नाता कायम गर्ने भनी अदालतले आइतबार दुबैलाई बोलाएको अधिवक्ता धर्मेन्द्र यादवले बताए ।

जीवनमा आफूमाथि यति ठूलो हरकत गर्ने पुरुषसँगै उनले जीवन बिताउने निर्णय गर्नुको पछाडि दुबैबीचको प्रेम सम्बन्ध नै रहेको स्थानीय रामविलास यादव बताउँछन् । फुलकाही– १ प्रितमपुरस्थित दिदीको घरमा बसेकी युवती र युवकलाई उनका आफन्तले गत मङ्सिर २७ गते आपत्तिजनक अवस्थामा फेला पारेका थिए ।

दुबैका अभिभावकले दुबैबीच विवाह गराउने भनी गरेको सहमति भंग गर्दै स्थानीय नेताहरुले युवकलाई जरिवाना गराउने तर विवाह हुन नदिने निर्णय गरेपछि अलपत्र परेकी युवतीले अधिकारकर्मीको पहलमा गत पुस ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

प्रहरीले पुस ८ गते युवकलाई पक्राउ गरेपछि पुनः विवाह गर्न तयार बनेको युवकका अभिभावक तिनै नेताहरुको प्रभावमा परेर विवाह अस्वीकार गरेपछि अधिकारकर्मीहरुको पहलमा पुस १४ गते मुद्दा दर्ता भएको थियो । जिल्ला अदालतले पुर्पक्षका लागि माघ ११ गते राजविराज कारागारमा थुनामा पठाउने आदेश गरेपछि नेताहरुको आश्वासनबाट मोहभंग भएका युवकका अभिभावक पुनः विवाह गर्न तयार भएका थिए ।

युवतीका बाबु पच्चु यादवले भने, ‘आरोपितसँग छोरीको विवाह गरिदिनुभन्दा अर्को विकल्प मसँग थिएन ।’’ उनले दुबैको विवाह नगरिदिएको भए आफ्नी छोरीको जीवन नै बर्बाद हुने पनि बताए ।

युवकका परिवारले पनि युवतीलाई बुहारी स्वीकारेर घर भित्राएका छन् तर उनीहरुलाई दाइजो नपाइने चिन्ताले सताएको छ । आफुले सकेजति समान दिने बताएका पच्चुले आफ्नी छोरीको विवाह दर्ता र नागरिकता बनाई दिन पाए ढुक्क हुने बताउँछन् ।

विवाहअघि यौनसम्बन्ध राख्नु दुबैजनाको दोष भएपनि समाजले महिलालाई मात्र दोष दिने गर्छ । महिलालाई नै नराम्रो दृष्टिले हेर्ने तथा अरु पुरुषले पनि विवाह नगर्ने भएकोले दुबैबीचको विवाह ठिक विकल्प भएको विवाह समारोहमा सहभागी सबिता झाले बताइन् ।

बिहे नगर्दा लामो समय जेलमा बिताउनुपर्ने बाध्यताले दीपेन्द्रले जेलबाट छुट्नका लागि मात्र बिहेको नाटक गरेको हो भने मन्जुको जीवनमा संकट आउने छ । तर दीपेन्द्रले मन्जुलाई श्रीमतीको स्थान दिए भने यो एउटा अनौठो प्रेमकथा हुने स्थानीय बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार