अमेरिका गएका शिक्षाविद् दाहालको उतै भयो निधन

  पहिलोपेज

 844 पटक हेरिएको

काठमाडौँ, ३० असोज । शिक्षाविद् एवं सर्च फर कमन ग्राउण्ड नेपालका राष्ट्रिय निर्देशक भोलाप्रसाद दाहालको ५१ वर्षको उमेरमा निधन भएको छ । एउटा कार्यक्रममा सहभागी हुन अमेरिका गएका दाहालको उतै निधन भएको हो ।

सोमबार राति होटलको कोठामा सुतिरहेको अवस्थामा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । काठमाडौँ विश्वविद्यालयबाट शिक्षाशास्त्रमा विद्यावारिधि गरी शिक्षामा समाजवादी दृष्टिकोण र सुशासनका लागि वकालत गर्दै आएका उनी हाल त्यहाँ अध्यापनसमेत गर्थे ।

शिक्षाविद् दाहालको निधनको कारणबारे त्यहाँ थप अध्ययन भइरहेको उनको परिवारलाई भेटेर फर्केका विश्वविद्यालयका शिक्षा सङ्कायका डीन डा. महेशनाथ पराजुलीले जानकारी दिए । रामेछापको साँघुटारमा जन्मिएका दाहालले यसअघि नेपालका लागि रोयल नर्वेजियन राजदूतावासमा सुशासन सल्लाहकार, नेपालका लागि फिनल्याण्ड दूतावासमा कार्यक्रम संयोजक, सेभ द चिल्ड्रेनमा कार्यक्रम निर्देशक र नेपाल रेडक्रसमा कार्यक्रम संयोजक रही काम गरेका थिए ।

राति होटलमा सुतेको अवस्थामा निधन भएको र उनको नाकबाट रगत बगेको पाइएपछि उनलाई हृदयाघात भएको अनुमान गरिएको छ । निधनबारे चिकित्सकीय अध्ययन प्रक्रिया पूरा भएपछि उनको शव अन्त्येष्टिका लागि नेपाल ल्याइनेछ । उनका श्रीमती र तीन छोरा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार