डोल्पापछि बामदेव गौतम आइपुगे काठमाडौ, के जित्लान् त चुनाव ?

  पहिलोपेज

 1248 पटक हेरिएको

काठमाडौं, २२ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता रिङ्दैघुम्दै काठमाडौं– ७ मा आइपुगेका छन् । चुनाव लड्ने निर्वाचन क्षेत्र खोज्दै हिडेका गौतम यसअघि डोल्पा पुगेका थिए ।

डोल्पाका निर्वाचित सांसद तथा पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई राजीनामा गराएर आफू चुनाव लड्ने योजनामा रहेका नेता वामदेव गौतम त्यहाँको योजना सफल हुन नसकेपछि यता राजधानीतिरै हानिएका हुन् । डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढा राजीनामा दिन तयार रहे तापनि मतदाता तथा नेकपाका स्थानीय नेताहरुले दोस्रो व्यक्तिलाई चुनाव जिताउन नसकिने बताएपछि नेता गौतमको सपना त्यसै तुहिएको थियो ।

वरिष्ठ नेता गौतमका लागि डोल्पाको सांसद पदबाट राजीनामा दिन राज्यमन्त्री धनबहादुर बुढा तयार पनि भए । राजीनामा दिनुअघि उनी मतदाताहरुको राय बुझ्न जिल्लाका विभिन्न स्थानहरुमा पुगे पनि । तर, कसैले पनि सांसद बुढालाई राजीनामाको सल्लाह दिएन उल्टै, बामदेव आएमा चुनावमा जिताउन नसकिने चेतावनी पो दिए ।

मतदाताहरुको चेतावनीपछि नेता गौतमले डोल्पाबाट चुनाव लड्ने हिम्मत गरेनछन् । धेरै निर्वाचन क्षेत्रमा त्यहाँका सांसदहरुलाई राजीनामाका लागि मनाउने कोसिस गर्दागर्दै १४ औं निर्वाचन क्षेत्रका रुपमा काठमाडौं– ७ मा आइपुगेको स्रोत बताउँछ । पछिल्लो चरणमा काठमाडौं– ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा गराएर आफू चुनावमा भिड्ने चर्चा चलेको छ ।

बर्दियामा पराजित भएका नेता बामदेव गौतमका लागि राजीनामा दिन रामवीर मानन्धर छाड्न सहमत भएपछि गौतम काठमाडौं– ७ बाट लड्ने भएका हुन् । मानन्धरले राजीनामाका लागि सोमबार नेकपाको सचिवालयमा निवेदन दिइसकेको बताइएको छ । सांसद मानन्धरले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) समक्ष राजीनामा पत्र बुझाएका हुन् । सांसद मानन्धर नेकपाका अध्यक्ष केपी ओली निकट सांसद हुन् । प्रधानमन्त्री ओलीकै आग्रहमा मानन्धर राजीनामा दिन तयार भएको र उपनिर्वाचन गराई वामदेवलाई सांसद बनाउन लागिएको हो ।

डोल्पाको योजना सफल नभएपछि गौतम बाँके– ३ बाट चुनाव लड्ने योजना बनाएका थिए गौतमले । त्यो योजना पनि विफल भयो । एकपटक प्यूठानबाट भारी मतान्तरले विजयी भएका गौतमले त्यता पनि कोसिस गरेको चर्चा चलेको थियो । प्यूठानमा चुनाव जितेर केही गर्न नसकेका गौतमको योजना त्यहाँ पनि सफल नभएपछि धेरै निर्वाचन क्षेत्रहरुमा प्रयास गर्दै काठमाडौं आइपुगेको बताइएको छ ।

काठमाडौं– ७ बाट मानन्धर १८ हजार १०२ मतले बिजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी राप्रपाका बिक्रम थापाले १० हजार ७९ मत प्राप्त गरेका थिए । त्यही क्षेत्रमा विवेकशील साझा पार्टीकी अनुपा श्रेष्ठले पनि ५ हजार ३ सय ७६ मत प्राप्त गर्न सफल भएकी थिइन् । कांग्रेसले भने उक्त क्षेत्रमा राप्रपालाई सघाएको थियो ।

किन सांसद छोड्न तयार भए मानन्धर ?
सांसद मानन्धर यसअघि २०७० सालमा दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन माओवादीकी नेतृ हिसिला यमीलाई पराजित गरेका थिए । उनी आफ्नो निर्वाचन क्षेत्रमा निकै लोकप्रिय छन् । गौतमलाई काठमाडौँ–७ बाट प्रतिनिधि सभामा उठाउने विषयमा पार्टी अध्यक्ष प्रचण्ड, नेता गौतम र सांसद मानन्धरबीच सहमति भएको छ ।

प्रतिनिधि सभा सदस्य पदबाट राजीनामाका लागि मानन्धरले नेकपाको केन्द्रीय सदस्य, राष्ट्रिय सभाको सदस्य र मन्त्री पाउनुपर्ने माग राखेको बताइएको छ । यता, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बैठकमै सांसद मानन्धरले केन्द्रीय सचिवालयलाई लेखेको पत्र महासचिव विष्णु पौडेलले पढेर सुनाएपछि विरोध गरेको बताइएको छ ।

बर्दियामा अन्तर्घात गरेर हराइएको दावी वरिष्ठ नेता गौतमले गरेका थिए । यद्यपि, त्यहाँ अन्तर्घात नभएको निष्कर्ष पार्टी कमिटीले गरेको थियो । के गौतमले काठमाडौं– ७ बाट चुनाव जित्लान् ? नेकपाकै एक केन्द्री सदस्य भन्छन्, “वामदेवलाई उम्मेदवार बनाएर नेकपाले चुनाव जित्ने देशभर एउटा पनि क्षेत्र छैन ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार