सरकारले मनपरी गर्न छुट छैन, मनपरी गरे ठेगान लगाइन्छ : सभापति शाह

  पहिलोपेज

 395 पटक हेरिएको

काठमाडौं, २२ असोज । प्रतिनिधिसभा सार्बजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सरकारले मनपरी गर्न खोजे ठेगान लगाउने बताएका छन् ।

“जहा पनि सरकारले मनपरी गर्न खोज्छ । सेना, शक्ति उसैको हुन्छ तर हामी निगरानी र खबरदारी गर्छौ”, उनले भने । बुटवलमा सोमबार रिपोर्टर्स क्लव प्रदेश ५ ले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले समितिलाई स्वतन्त्रतापूर्वक काम गर्न पाउने अधिकार संबिधान ऐनमा नै उल्लेख भएको बताउँदै त्यही बाटो अघि बढ्ने र दायाँबायाँ नहुने शाहले बताए ।

शाहले भने, “नेपालमा अहिले ५ खर्बको बेरुजु छ । हामीले मसिनो गरी अध्ययन गर्दैछौं । सरकार गलत बाटोमा हिडे हामीले नियन्त्रण गर्छौं ।” लेखा समितिकै निर्देशनका कारण एनसेलले ६५ अर्ब लाभकर रकम तिर्नु आग्रह गरेको स्मरण गर्दै उनले २३ अर्ब रुपैंया एनसेलले तिरेको र अरु बाँकी रकम पनि तिर्न आग्रह गरे ।

सरकारका गतिविधि निगरानी गरिरहेको भन्दै ठूला आयोजनामा भ्रष्टाचार हुने सम्भावना रहेको र हल्लाहरु आइरहेकाप्रति आफूहरु सचेत रहेको प्रष्ट पारे । संसदले बनाएका ऐन तथा कानुनअनुसार सरकार अघि नबढे सरकार आफै फेल भएर जाने उनको भनाइ छ । सरकारले खरिद गरेको वाइडबडी बिमानको मूल्य नै बढी रहेको र सार्वजनिक खरिद ऐनको बिरुद्धमा रहेको भन्दै उनले प्रतिबेदनमाथि छलफल गरिरहेको जानकारी दिए ।

लेखा समितिले चिनीको खुद्रा मूल्य ६३ रुपैयाँ कायम राख्न सरकारलाई निर्देशन दिएको भन्दै उनले चिनी उद्योगीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा खुद्रा मूल्य ६३ रुपैयाँसम्म पर्ने बताएकाले यही मूल्यलाई आधार मान्दै समितिले पनि ६३ रुपैयाँ तोक्न निर्देशन दिएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार