समातिए सिके राउतसहित चारजना, समर्थकले नाराबाजी गर्दा प्रहरीसँग झडप

  पहिलोपेज

 1224 पटक हेरिएको

काठमाडौं, २१ असोज । स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सिके राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय गौरमा राखिएको र प्रहरीले सोधपुछ गरिरहेको बताइएको छ ।

जिल्ला अदालत रौतहटमा मुद्दाको तारिख लिएर फर्किदै गर्दा प्रहरीले राउतलाई नियन्त्रणमा लिएको हो । रौटहटका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले दिएको जानकारी अनुसार सोधपुछ गर्ने काम भइरहेको छ । सिके राउत पक्राउ परेपछि उनका समर्थकहरु र गठबन्धनका जिल्ला अध्यक्ष अशोक सिंहको नेतृत्वमा प्रहरी कार्यालय अगाडि उपस्थित भएका छन् ।

यसैबीच राउतलाई छोड्न माग गर्दै जिल्ला प्रहरी कार्यालय रौतहट अगाडि धर्ना बसेका राउतका समर्थक र प्रहरीबीच झडप भएको छ । बाटो बन्द गरी धर्ना बसेका राउतका समर्थकलाई प्रहरीले हटाउन खोज्दा झडप भएको हो । राउतका समर्थकले प्रहरीमाथि ढुङ्गा प्रहार गर्न थालेपछि प्रहरीले समेत उनीहरुमाथि सामान्य लाठीचार्ज गरेको थियो ।

गठबन्धनका जिल्ला संयोजक अशोक सिंहको नेतृत्वमा रहेका समर्थकहरुले प्रहरीको विरोधमा चर्को नाराबाजी समेत गरेका छन् । सडक अवरुद्ध गरेको र प्रहरीविरुद्ध नाराबाजी गरिएपछि प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला संयोजक अशोक सिंह, दीपेन्द्र झा, केन्द्रीय सदस्य वीरेन्द्र साह रहेका छन् । पक्राउ परेका विरुद्ध राज्यद्रोहको मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता मरासिनीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार