दशैंको मुखमा भयानक दुर्घटना, ६ जनाको ज्यान गयो

  पहिलोपेज

 1565 पटक हेरिएको

काठमाडौं, २० असोज । नेपालीहरुको महान पर्व दशैंको मुखैमा भयानक दुर्घटना भएको छ । दाङको तुलसीपुरबाट नेपालगञ्जतर्फ हिडेको माइक्रोबस दुर्घटनामा मर्नेहरुको संख्या ६ पुगेको छ ।

दाङबाट नेपालगञ्ज हिँडेको रा१ख १६६२ नं.को माइक्रोबस र नेपालगञ्जबाट विपरीत दिशातर्फ जाँदै गरेको लु१ख ७७२९ नं.को ट्रक बाँकेको राप्तीसोनारी गाउँपालिका–९, मुगुवा खोलानजिकै एक आपसमा ठोक्किएका थिए । उक्त दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने २ जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा एक जनाको अझै सनाखत हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक हिरेन्द्र रोकायले जानकारी दिए । मृतकहरु सबै दाङको तुलसीपुर उपमहानगरपालिका निवासी रहेका छन् ।

दुर्घटनामा मृत्यु हुनेहरुमा ३० वर्षीय तुलसी रावत, २६ वर्षीया वसन्ती चौधरी, ४० वर्षीया नारायणी श्रीस, ३० वर्षीया दोर्णा बुढाथोकी र माइक्रो बसका चालक ३९ वर्षीय सुगन चौधरी रहेका छन् । मृतकको शव परीक्षणका लागि भेरी अञ्चल अस्पताल नेपालगञ्जमा राखिएको छ ।

दुर्घटनामा परी घाइते भएकाहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । घाइते हुनेमा दाङ तुलसीपुर–१ का २८ वर्षीय मोहन जोशी, वडा नं ३ की २३ वर्षीया अञ्जली वर्मा, वडा नं ५ की ५० वर्षीया धनीसरा चौधरी, २४ वर्षीया गीता भण्डारी र २२ वर्षीया अञ्जली पुन रहेका छन् । त्यस्तै वडा नं ६ की ४० वर्षीया इन्दिरा केसी, ४२ वर्षीया ईश्वरी विक, ३६ वर्षीया कल्पना बस्नेत र ४९ वर्षीय टेकबहादुर सुनार, वडा नं ७ की २१ वर्षीया कृष्णाकुमारी रिजाल, ४८ वर्षीया मनकुमारी वली र वडा नं ८ का २३ वर्षीय प्रेम बुढा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, घाइते हुनेमा रोल्पा थवाङ गाउँपालिका–२ का ४२ वर्षीय कर्मबहादुर बुढा र ४३ वर्षीया रासकुमारी रोका, सल्यानको छायाँक्षेत्र गाउँपालिका–३ की २२ वर्षीया मीना योगी र शारदा नगरपालिका–१४ की ३० वर्षीया चन्द्रकला पुन रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार