जुम्लालाई अन्तर्राष्ट्रिय व्यापार केन्द्रका रुपमा विकास गरिनेछ : मुख्यमन्त्री शाही

  पहिलोपेज

 762 पटक हेरिएको

जुम्ला, २० असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जुम्लालाई अन्तर्राष्ट्रिय व्यापारिक केन्द्रका रुपमा विकास गरिने बताएका छन् । जिल्ला समन्वय समिति जुम्लाको आयोजनामा शनिवार सदरमुकाम खलंगामा भएको स्थानीय जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले विगतमा पनि जुम्ला व्यापारिक केन्द्र रहेको स्मरण गरे ।

“कर्णालीको केन्द्रमा रहेको जुम्लाले विगतमा पनि भोट र इण्डियासँग व्यापार गथ्र्यो”, मुख्यमन्त्री शाहीले भने, “जुम्लाको व्यापारले गर्दा हिजोका दिनमा कर्णाली उत्पादन र अर्थतन्त्रमा आत्मनिर्भर थियो ।” मुख्यमन्त्री शाहीले जुम्लालाई ठूलो अर्थतन्त्र भएका छिमेकी देश चीन र भारत जोड्ने द्रुतमार्ग निर्माण गरेर जुम्लालाई अन्तर्राष्ट्रिय व्यापारिक केन्द्रका रुपमा विकास गर्न सकिने बताए ।

मुख्यमन्त्री शाहीले ३ वटै तहका सरकारहरुबीचको आपसी समन्वयमा मात्रै संघीयतालाई सफल बनाउन सकिने बताए । संघीयताका विरुद्ध प्रतिगामी शक्तिहरुले विभिन्न भ्रम सिर्जना गर्ने गरेको भन्दै मुख्यमन्त्री शाहीले स्थानीय तहका सरकारहरु त्यसता भ्रमबाट सचेत हुनुपर्ने उल्लेख गरे ।

कर्णालीको विकासका लागि प्रदेश सरकार स्थानीय तहसँग हातेमालो गरेर अगाडि बढ्न चाहेको बताउँदै कर्णालीमा रहेको स्रोतसाधनको उपयोग गरेर जनताको अपेक्षा बमोजिम छोटो समयमै समृद्धि हासिल गर्न सकिने उनको भनाई थियो ।

“तपाईहरु निराश नहुनुस्, युद्धले ध्वस्त भएका जापान, चीन, कोरिया लगायतका देशहरु छोटो समयमै समृद्धिको शिखरमा पुगेका छन ।’ मुख्यमन्त्री शाहीले भने, “तपाई हामी पनि दृढ इच्छाशक्तिका साथ अगाडि बढ्यौं भने हाम्रो विकास र समृद्धि कसैले रोक्न सक्दैन ।”

समृद्धिको लागि उत्पादन अपरिहार्य भएको बताउदै मुख्यमन्त्री शाहीले उत्पादनमूलक योजना बनाउन स्थानीय जनप्रतिनिधिहरुलाई आग्रह गरे । “फापर, स्याउ र आलु बेचेरै हामी धनी हुन्छौं । चाउचाउको पछि नलाग्न जनतालाई अपिल गर्नुस”, उनले भने ।

कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले स्थानीय तहलाई आवश्यक कानुन छिटै तर्जुमा गर्ने प्रतिवद्धता व्यक्त गरे । संघीय सरकारले कानुन निर्माणको काममा ढिलाई गर्दा प्रदेश सरकारलाई कानुन निर्माणमा अप्ठ्यारो भएको मन्त्री भण्डारीको भनाई थियो ।

स्थानीय तहका सरकार जनतासँग सिधै जोडिएको कारण सेवा प्रवाह र विकास निर्माण कार्यलाई पारदर्शी, छिटोछरितो र सहज ढंगले अगाडि बढाउन मन्त्री भण्डारीले जनप्रतिनिधिहरुलाई आग्रह गरे । “तपाईहरुमा भुरेटाकुरे राजाको दम्भ नपलाओस ।” स्थानीय जनप्रतिनिधिहरुका बारेमा जनताले गुनासो गर्न थालेको बताउँदै मन्त्री भण्डारीले भने, “आफ्नो धरातल हेर्नुस, जनताले तपाईहरुबाट शासन होइन सेवा पाउन निर्वाचित गरेका हुन् ।” मन्त्री भण्डारीले समृद्ध कर्णालीको सपना धेरै टाढा नरहेको बताउँदै उत्कृष्ट वडा, गाउँ, नगर र जिल्ला निर्माणका लागि प्रतिस्पर्धा गर्नुपर्ने आवश्यकता औंल्याए ।

अन्तरक्रिया कार्यक्रममा जुम्लाका आठवटै स्थानीय तहका प्रमुखहरुले आफनो क्षेत्रमा भएका विकास निर्माण तथा समस्याहरुको बारेमा रिपोर्टिङ गरेका थिए । उनीहरुले प्रदेश सरकारले स्थानीय तहका कानुन निर्माणमा ढिलाई गरेका कारण समस्या भएको गुनासो गरेका थिए ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री खडकबहादुर खत्री, प्रदेश सभा सदस्य दीनबन्धु श्रेष्ठ, कुर्मराज शाही, प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, प्रहरी प्रमुख सीताराम रिजाल लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार