रक्षामन्त्री पोख्रेलको यस्तो उद्घोष, “सरकारले बृद्धभत्ता ५ हजार बनाउँछ”

  पहिलोपेज

 860 पटक हेरिएको

काठमाडौं, १५ असोज । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकारले आफ्नो घोषित प्रतिवद्धता अनुरुप नै ज्येष्ठ नागरिकलाई प्रदान गर्ने सामाजिक सुरक्षाभत्ता बृद्धि गर्ने बताएका छन् ।

२८ औ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ज्येष्ठ नागरिक चौतारीले काठमाडौंको विशाल मिलन केन्द्रमा आयोजना गरेको ज्येष्ठ नागरिक भेटघाट तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै पोखरेलले बृद्ध भत्तालाई ५ हजार पु¥याइछाड्ने बताए । “हामीले निर्वाचनमा गरेको प्रतिवद्धता अनुसार सरकारले सामाजिक सुरक्षा भत्ता ५ हजार पु¥याउँछ”, उनले भने, “निर्वाचन प्रतिवद्धता अनुसार यो बर्ष ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता नबढाएकोले कसैकसैले कम्युनिष्ट सरकारले झुक्कायो समेत भने तर कुरा त्यस्तो होइन । हामीले यही सरकारको कार्यकालमै ५ हजार सामाजिक भत्ता पु¥याउँछौ ।” उनले यस बर्ष ज्येष्ठ नागरिकको लागि सामाजिक सुरक्षाभत्ता बढाउन नसकेपनि स्वास्थ विमा गरिएको जानकारी गराए ।

कार्यवाहक प्रधानमन्त्री पोखरेलले ज्येष्ठ नागरिकलाई दशैंमा पनि केही दिन सकिन्छ भनेर सरकारले छलफल अगाडि बढाइरहेको खुलासा समेत गरे । कम्युनिष्ट सरकारको पालादेखि नै ज्येष्ठ नागरिकलाई सम्मान गर्ने भनेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको स्मरण गर्दै उनले ज्येष्ठ नागरिकको रेखदेखका लागि सरकार गम्भीर भएको बताए । सरकारले धेरै कुरा एकैपटक गर्दा लय नमिलेको भन्दै कार्यवाहक प्रधानमन्त्री पोखरेलले लय मिलाएर देश बनाउने अभियानमा सरकार लागिपरेको बताए । ज्येष्ठ नागरिकलाई सम्मान गरेमात्र अहिलेको समाज बन्ने समेत उनको भनाई रहेको थियो ।

ज्येष्ठ नागरिक चौतारीका हरि अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सांसद नारायण सिलवालले लामो जीवन व्यतीत गरेको ज्येष्ठ नागरिकलाई सरकारले सम्मान गर्ने बताए । कार्यक्रममा ज्येष्ठ नागरिक निर्मला आचार्य, विश्वनारायण महर्जन र प्रियकुमारी सेढाईलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार