कतै विमानस्थल चाहियो भनेर आन्दोलन, दाङमा चाहिँ नबनाउने भनेर आन्दोलन

  पहिलोपेज

 1977 पटक हेरिएको

दाङ, १४ भदौ । धेरैजसो स्थानमा आफ्नो गाउँठाउँमा विमानस्थल चाहिने भनेर आन्दोलन गरेको त सुनिएकै हो, दाङमा भने विमानस्थल नचाहिने भनेर आन्दोलन चलिरहेको छ । नारायणपुर क्षेत्रमा अन्तर्राष्ट्रिय हवाई मैदान बनाउने हल्ला चलेपछि त्यस क्षेत्रका बासिन्दाहरु आन्दोलित भएका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १०, ११ र १२ का बासिन्दाहरु त्यसरी आन्दोलित भएका हुन् । आफूहरुसँगको सल्लाहबिना विमानस्थल निर्माणको विषय आएकाले संघर्ष समिति बनाएर उनीहरु आन्दोलित भएका हुन् ।

संघर्ष समितिको अगुवाईमा आइतवार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । यस्तै घोराही उपमहानगरपालिकामा पनि उनीहरुले ज्ञापनपत्र बुझाएका छन् । संघर्ष समितिका सदस्य सचिव धर्म सिजवालको नेतृत्यमा रहेको करिब ५ सय बढीको संस्थामा रहेका स्थानीयबासीहरुले घोराहीमा नाराबाजी गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्रमा पर्यटनमन्त्री दाङ आएको समयमा भ्रामक विषयमा उनलाई जानकारी गराइएकोप्रति उनीहरुले विरोध गरेका छन् । पर्यटन मन्त्री रविन्द्र अधिकारी दाङ आएको समयमा मन्त्रीलाई भूगोलको बारेमा यथार्थ जानकारी गराउने भनेर स्थानीयबासीहरु गएको भएपनि केही व्यक्तिहरुको हस्तक्षेपमा वास्तविक स्थलको मन्त्रीले अवलोकन नगरेकोमा विरोध गरेका छन् । मन्त्रीलाई मज्गैमा केही व्यक्तिहरुले भ्रामक जानकारी दिएको भन्दै उनीहरुले यथार्थ नबुझेर मन्त्री फर्किएकोमा पनि विज्ञप्तिमा विरोध गरेका छन् ।

यस्तै पूर्वमा गुर्जे खोलादेखि, पश्चिममा हापुर खोला एवं उत्तरमा दामोदर रोडदेखि दक्षिणमा घोराही तुलसीपुर मूल सडकको बीच भूभागमा करिब २ हजार बढी घर एवं हजारौं जनसंख्या रहेको, मुस्किलले २०/२५ बिघा जग्गामा गुठीको रहेको, यसक्षेत्रमा १ क्याम्पस, ३ सामुदायिक मावि र निजी विद्यालयहरु रहेको, ऐतिहासिक मन्ठोरिया मन्दिर रहेको करोडौको लगानीमा निर्माण भएको खानेपानी ट्यांकी, उद्योगहरु सञ्चालनमा रहेको, सिचाईका लागि खोलाहरुमा करोडौको रकम खर्च भइसकेकोले यसलाई विनाश गर्न सम्भव नभएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा यस क्षेत्रका लागि टरिगाउँ विमानस्थलको सुधार गरी शीघ्र हवाई सेवा नियमित सञ्चालन गर्न माग गरिएको छ । आफूहरुको बेवास्ता गरी सरकार अगाडि बढेमा जस्तोसुकै कदम चाल्न पनि आफूहरु तयार हुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझाइसकेपछि तुलसीपुर चोकमा कोणसभा पनि भएको थियो । सभामा स्थानीय अगुवा देवराज लामीछाने, महिला प्रतिनिधि नोखी खत्री र विद्यार्थी तुलसा पुनले भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण संघर्ष समितिका सदस्य सचिव धर्म सिजवालले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार