दुबै अध्यक्ष विदेश हुँदा नेकपाका वरिष्ठ नेताहरुले यसरी खोले असन्तुष्टिका पोका

  पहिलोपेज

 387 पटक हेरिएको

काठमाडौं, १४ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुबै अध्यक्षहरु पुष्पकमल दाहाल “प्रचण्ड” र प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली यतिबेला देशभित्र छैनन् । यही मौकामा नेकपाका वरिष्ठ नेताहरु जम्मा भएर आफ्नै सरकार र पार्टीको नेतृत्वको कार्यशैलीप्रति तीब्र असन्तुष्टि पोखेका छन् ।

नेकपाका वरिष्ठ नेताहरुले पार्टी र आफ्नै सरकारको नेतृत्वको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै यथाशीघ्र सुधार गर्न ध्यानाकर्षण समेत गराएका छन् । स्थायी कमिटीका सदस्यहरूबीचको अनौपचारिक भेटघाटमा सहभागी कैयौँ वरिष्ठ नेताहरूले महँगी, भ्रष्टाचार, बलात्कारलगायत महिला हिंसाजन्य घट्ना बढ्दा समेत सरकारको कार्यशैलीमा सुधार नदेखिएको भन्दै आक्रोश पोखेका थिए । उनीहरुले पार्टीभित्रै तल्लो तहसम्म सरकारको आलोचना भइरहेको र कार्यकर्ता पंक्तिमा निराशा छाएको बताएका थिए ।

बिहीवार संसद् बैठकमा सरकारको कडा आलोचना गरेका नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शुक्रवारै नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा चियापान कार्यक्रमको बहाना मिलाएर स्थायी कमिटी सदस्यहरुलाई भेला पारेका थिए । दुबै अध्यक्ष देशबाहिर हुँदा पनि कार्यवाहक जिम्मेवारी नपाएकाले रुष्ट भएका नेता नेपालले डाकेको उक्त भेलालाई पनि त्यही असन्तुष्टिको संकेतको रुपमा बुझिएको छ ।

सरकारले जनताको अपेक्षाअनुरुप काम गर्न नसकेको र पार्टीभित्र मनोमानी ढङ्गले अघि बढेको आरोप लगाउँदै यथाशीघ्र स्थायी कमिटीको बैठक बोलाउन सुझाव दिइएको थियो । सरकार बनेको सात महिना बितिसक्दासमेत पार्टी कमिटीको औपचारिक बैठक बसेर सरकारको बारेमा समीक्षा नगर्दा पार्टीभित्रै पनि विभिन्न अन्योल उत्पन्न भइरहेको नेताहरुको दावी छ ।

चियापानमा पनि वरिष्ठ नेता नेपालले प्रदेश कमिटीका पदाधिकारी चयन लगायतमा समेत अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल “प्रचण्ड”ले मनोमानी गरेको भन्दै असन्तुष्टि जनाएको बताइएको छ । “सरकार बनेको सात÷सात महिना बितिसक्यो । पार्टी कमिटीको औपचारिक बैठक बसेर सरकारको बारेमा समीक्षा नगर्दा पार्टीभित्रै पनि विभिन्न अन्योल उत्पन्न भइरहेका छन्”, नेपालले भनेका थिए ।

पार्टीका तल्लो तहका कमिटी एकताबद्धहरुलाई गर्न नेतृत्वले आलटाल गरेको भन्दै नेताहरूले गुनासो गरेका थिए । महत्वपूर्ण निर्णय हुँदा केही असहमति देखिनुलाई स्वाभाविक भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीका निकट मानिने संसदीय दलका उपनेता सुवास नेम्वाङले केही गुनासो स्वाभाविक रहेको भन्दै नेतृत्वको बचाउ गरेका थिए । “प्रदेश कमिटीका पदाधिकारीको चयन कार्यदलको सिफारिसका आधारमा भएको हो । त्यही निर्णयअनुसार सातै प्रदेशमा नेतृत्व स्थापित भएको छ । मैले बुझेसम्म सचिवालयले सबैले सल्लाह गरेर नै यी विषय टुङ्गो लगाइएको हो । यति ठूलो निर्णय हुँदा यसो भएको भए राम्रो हुन्थ्यो भन्ने कुरा त स्वाभाविक हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार