मालिकाको ट्रेलर : मर्मस्पर्शी सम्वाद र सामाजिक रुपान्तरणको अग्रिम झल्को

  पहिलोपेज

 2695 पटक हेरिएको

काठमाडौं, १२ असोज । बहुप्रतिक्षित नेपाली कथानक चलचित्र मालिकाको ट्रेलर सार्वजनिक गरिएको छ । यो समयकी सर्वाधिक चर्चित र लोकप्रिय नायिका रेखा थापा आफैले निर्देशन गरेको मालिकाको २ मिनेट १७ सेकेण्डको ट्रेलरमा नै मर्मस्पर्शी र घतलाग्दा सम्वाद तथा सामाजिक रुपान्तरणको गहन विषयवस्तुको झल्को पाउन सकिन्छ ।

हेर्नुहोस् ट्रेलर

आगामी कार्तिक १६ गते रिलिजको मिति तय गरिएको मालिकाले विशेषतः बालविवाहविरुद्ध सामाजिक रुपान्तरणको कथावस्तुलाई उठाएको छ । जाजरकोटकी कमला वली मालिकाकी नयाँ प्रस्तुतिका रुपमा छिन् । कहिल्यै टेलिभिजन नहेरेकी, अभिनयमा कहिल्यै नजोडिएकी र पहिलोपटक गाडी चढेर काठमाडौं आएकी कमलाको अभिनय सराहनीय मात्र होइन दमदार देखिन्छ ।

चलचित्र मालिकाको ट्रेलरमै अत्यन्त मन छुने र घतलाग्दा सम्वाद सुन्न सकिन्छ । छोटो समयको आयामभित्रै सुन्दै ताली बजाउन मन लाग्ने खालका गहन, मर्मस्पर्शी र घतलाग्ने सम्वादले मालिकामा साँच्चिकै ज्यान भरेका छन् । “डर निर्धा र निर्धनको होइन, डर त यहाँ शिक्षित र सम्पन्नताको खोल ओढ्नेहरुको छ”, “पहिले मान्छे बनेर देखाऊ, छोरी मान्छे त्यसपछि बन्ने”, “आफन्त ती होइनन्, जो तिमी रोएको बेला आउँछन्, आफन्त ती हुन् जसले तिमीलाई रुन दिँदैनन्”, “डरको आँखामा यसरी आँखामा आँखा जुधाएर हेर ताकि डर पनि तिमीसँग डराउन थालोस्” जस्ता गहन र वजनदार अर्थ बोकेका सम्वादले चलचित्र मालिकाको गम्भीरता र त्यसले दिने सामाजिक रुपान्तरणको सन्देशलाई संकेत गरेका छन् ।

मालिकामा द्वन्द्व त देखिन्छ नै त्यसबाहेक यसले नेपालकै उपेक्षित भूभागलाई पनि स्पर्श गरेको छ । सबैको दृष्टिमा विकट मानिने तर प्रकृतिको अनुपम छटाले भरिएको जाजरकोटदेखि मधेसी भूमि र अन्य ग्रामीण मनोरम भूभागका मनोरम दृश्यहरु मालिकाका सम्पत्ति बनेका छन् । साथमा यसअघि नै रिलिज भएर जनजनको मन, मस्तिष्क र मुखमा झुण्डिन सफल “हल्का माया के माया गाढा लगाउने” र गम्भीर अर्थबोध गराउने अर्को “रङ्गीविरङ्गी सपनाका प्वाँख काटिएका छन्” बोलका गीत त यसका गहना नै हुन् ।

ट्रेलरको छोटो समयभित्र खिचिएको चलचित्र मालिकाको सारांशले भन्छ, सस्तो मनोरञ्जन होइन, यसले समाज रुपान्तरण र सामाजिक न्यायका लागि गहन सन्देश दिएको छ । देशको सचेत नागरिक र चलचित्र क्षेत्रको धुरीमा रहनुको नाताले रेखाले समग्र गाउँ, समाज र देशप्रतिको दायित्वबोध गरेर चलचित्र निर्माण गरेको सहजै अनुमान लगाउन सकिन्छ ।

पछिल्लो समय छोरीको निम्ती स्वर्णिम नेपाल महाअभियानको अभियन्ताका रुपमा क्रियाशील छिन् रेखा थापा । र, यो अभियानका सारथि हुन्, चर्चित जीवन प्रशिक्षक नरबहादुर कार्की । मालिकाको निर्माता रहेका सुपरिचित जीवन प्रशिक्षक नरबहादुर कार्कीको जीवन दर्शनको सुवास पनि मालिकामा आएको छ । नायिका रेखा थापा र निर्माता नरबहादुर कार्की दुबैले मालिकालाई एउटा अत्यावश्यक अभियानको हिस्सा पनि बताएका छन् ।

फिल्मको नामसँगै “तिमीभित्र पनि एउटा नायक छ” भन्ने नारा राखिएको मालिकाले “हरेक व्यक्ति नायक हो” भन्ने मियोमा सिङ्गो चलचित्रको तानाबाना बुनेर उभ्याइएको छ । आफ्नो फिल्ममा गाउँबाटै टपक्क टिपेर कलाकार ल्याउने नायिका, निर्देशक, गायिका तथा समाजसेवी रेखा भन्छिन्, “मेरा हिरोहरु गाउँमै छन् ।”

यसअघि रेखाले समाजमा व्याप्त एसिड आतङ्कविरुद्ध “रुद्रप्रिया”, अपाङ्गताको बिषयमा “हिम्मतवाली”, श्रमिक महिलाको बिषयवस्तुमा “रामप्यारी” र महिलामाथि हुने विभेद र असमानताविरुद्ध “काली” निर्माण गरेकी थिइन् । रेखा झनपछि झन गहन विषयवस्तुतर्फ पसिरहेको छनक यो ट्रेलरले दिएको छ ।

हेर्नुहोस् ट्रेलर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार