के हो रेबिज ? यो कसरी लाग्छ ? यसका रोकथाम केके हुन् ?

  पहिलोपेज

 713 पटक हेरिएको


काठमाडौँ । ‘रेबिज बारे जनचेतना फैलाऔँ, अमूल्य जीवन बचाऔँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी रेबिज विरुद्धको दिवस मनाइँदै छ । रेबिजले मानिसमा पार्ने प्रभावका बारेमा जनचेतना अभिवृद्धि गर्न, जोखिममा रहेकाहरूलाई रोकथामका बारेमा सूचना, सल्लाह र सेवा प्रदान गर्न तथा रोग नियन्त्रणका लागि आवश्यक वकालत गर्दै रेबिजविरुद्धको दिवस मनाइँदैछ ।

विश्वमा हरेक वर्ष रेबिजले ५९ हजार व्यक्तिको ज्यान लिने गरेको छ । जसमा आधाजति १५ वर्षमुनिका बालबालिका पर्छन् । विश्वभरीमा हुने रेबिजको ९५ प्रतिशत समस्या एसिया र अफ्रिकामा मात्रै हुने गरेका छ ।

रेबिजमा नेपालको अवस्था

विशेषगरी नेपालको तराई र पहाडी क्षेत्रमा रेबिजको समस्या बढी देखिएको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोथ नियन्त्रण महाशाखाका अनुसार नेपालको आधा जनसङ्ख्या रेबिजको उच्च जोखिममा रहेका छन् । यस्तै एक चौथाइ मध्ययम जोखिममा रहेको जनाएको छ । महाशाखाको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७४÷०७५ मा मात्रै २६ हजार ३ सय १२ जनालाई कुकुरले टोकेको थियो । यस्तै २ हजार २ सय २ जनालाई अन्य जनावरले टोकेको थियो ।

२८ हजार ५ सय १४ जनालाई रेबिज लाग्नसक्ने अशङ्का गरिए पनि २ लाख ८१ हजार ७ सय १८ भायल रेबिजविरुद्धको खोप दिइएको स्वास्थ्य सेवा विभाग जनाएको छ ।

कसरी लाग्छ रेबिज ?

रेबिज लाइसा नामक स्नायुमा प्रभाव पार्ने आरएनए भाइरसले गर्दा हुने रोग हो । यो भाइरसबाट सङ्क्रमित जनावरको र्यालबाट घाउको बटो हुँदै शरीरभित्र छिरेर नसाको माध्यमले मस्तिष्कसम्म पुग्दछ । यो भाइरस शरीरमा प्रवेश गरेपछि सुरुमा ज्वरो आउने, घाउ भएको स्थानमा दुख्ने, झमझमाउने, घोचे, पोले जस्तो हुने र पछि भाइरस मस्तिष्कसम्म पुगेपछि मस्तिष्क तथा नसाहरू सुनिन्ने हुन्छ । यो रोगबाट प्रभावित व्यक्तिका क्रियाकलाप र व्यवहार अत्यधिक उत्तेजित हुने, पानीदेखि डराउने, हावाको चालबाट तर्सिने र केही दिनपछि श्वासप्रश्वास र रक्तसञ्चारमा समस्या आई मूत्यु हुन्छ ।

रोकथाम

रेबिज रोग लागेपछि उपचारको कुनै पनि विकल्प छैन । रेबिज लागेपछि मानिसको मृत्यु निश्चित छ । सावधानी अपनाइयो भने यसलाई शतप्रतिशत रोकथाम गर्न सकिन्छ ।

–रोकथामको उत्तम उपाय भनेको जनावरबाट रेबिज भाइरस मानिसमा आउन नदिनु नै हो । त्यसका लागि पाल्तु जनावरलाई व्यवस्थित तरिकाले पाल्ने तथा जङ्गली जनावरहरूको सम्पर्कमा आउन नदिने नै हो ।

–घरपालुवा कुकुरलाई पशु चिकित्सकको सल्लाहअनुसार समय समयमा खोप लगाउने र यसको रेकर्ड अद्यावधिक गरी राख्ने । अन्य कुकुरहरूको समेत समुचित खोप लगाउने तथा व्यवस्थापन गर्ने ।

–समयमै रेबिज भएको शङ्कास्पद कुकुर वा अन्य जनावरहरूको टोकाइपछि टोकेको स्थानलाई १५ मिनेटभित्रमा साबुनपानी, डिटोल, पोभिडिन, आयोडिन जस्ता भाइरस मार्ने चीजले राम्ररी सफा गर्ने र नजिकको स्वास्थ्य संस्थामा गएर चिकित्सकको सल्लाहअनुसार रेबिजविरुद्धको खोप लागउने । यो खोप नेपाल सरकारले निःशुल्क उपलब्ध गराएको छ ।

–रेबिजबाट हुने मानव मृत्युलाई शून्य बनाउने र रेबिज रोगलाई सन् २०३० सम्म निवारण गर्ने विश्वव्यापी लक्ष्य प्राप्तिका लागि यस रोगको खोप र उपचारको उपलब्धता सुनिश्चित गर्न नेपाल सरकारले नागरिकलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार