संविधानको मौलिक हक कार्यान्वयनको जिम्मेवारी र दायित्व सांसद दीनानाथ शर्मालाई

  पहिलोपेज

 285 पटक हेरिएको


काठमाडौँ, ११ असोज । नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट निर्वाचित सांसद दीनानाथ शर्माले संविधानको मौलिक हक कार्यान्वयनमा पाएको जिम्मेवारी र दायित्वलाई पूरा गरिएको बताउनुभएको छ ।

राष्ट्रियसभाको वर्षे अधिवेशन समापनको मन्तव्य व्यक्त गर्नुहुँदै आजको बैठकमा उहाँले मौलिक हकका विधेयकमा छलफल गरेर पारित गर्न प्रतिपक्षको जिम्मेवारीपूर्ण र रचनात्मक भूमिका रहेको बताउनुभयो ।

वर्षे अधिवेशन अन्त्यका क्रममा राष्ट्रियसभामा मन्तव्य राख्नुहुँदै सभामा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसद सुरेन्दराज पाण्डेले सहकार्य र सहमतिका कारण धेरै काम गर्न सम्भव भएको बताउनुभयो । उहाँले सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको समन्वयकारी भूमिकाको प्रशंसा गर्नुभयो ।

“सदनमा प्रश्नोत्तर शुरु गर्न सकेनौँ, क्यालेण्डर बनाएर व्यवस्थित गर्न सकेनौँ आगामी अधिवेशनमा यो आशा पूरा हुने आशा गरेका छौँ, राष्ट्रिय महत्वका प्रस्तावलाई छलफल गरेर अगाडि बढाउन सकेनौँ, प्रतिपक्षले उठाएका धेरै प्रश्नको जवाफ सरकारका अधिकांश मन्त्रीले दिनुभएन”, उहाँले भन्नुभयो ।

डा गोविन्द केसीको मागबमोजिम राष्ट्रिय चिकित्सा विधेयक नआउनु, मुलुकी संहितामा उठेका जनसरोकारका विषय सम्बोधन नहुनु दुःखद् रहेको नेता पाण्डेले बताउनुभयो । निर्मला पन्त हत्याका सन्दर्भमा गृहमन्त्रीले दिएको अभिव्यक्ति आफ्नो कमजोरी लुकाउन अरुमा दोष थोपर्न लगाइएको उहाँको भनाइ थियो ।

सरकारले घोषणा गरेको यातायात एकाधिकार, समयमा काम नगर्ने निर्माण व्यवसायीलाई गर्ने भनिएको कारवाही, सुन काण्डमा ठूला माछा पकड्ने नाममा साना माछा पनि फुत्काउने काम भएको प्रतिपक्षको भनाइ छ ।

सभामा राष्ट्रिय जनता पार्टीका सांसद वृषेशचन्दलालले कानून कार्यान्वयन भएमा मात्र बनाउनुको अर्थ हुने धारणा राख्नुभयो । कार्यान्वयन नहुने कानून कागजको खोस्टो मात्र हुने उहाँको भनाइ छ । संसद्मा शिक्षा, स्वास्थ्य, रोजगारी र विकास निर्माणसँग सम्बन्धित मुद्दाको जवाफ सरकारले दिन नसकेको सांसद लालले धारणा राख्नुभयो ।

सङ्घीय समाजवादी फोरमका तर्फबाट निर्वाचित सांसद प्रमीला कुमारीले मधेशका हकहितमा संविधान संशोधन नभएसम्म मधेसमा संविधान कार्यान्वयन हुन नसक्ने विचार व्यक्त गर्नुभयो ।

सांसद रामनारायण विडारीले संविधान कार्यान्वयनका लागि अधिवेशन महत्वपूर्ण भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार