दश वर्षीया श्रीयालाई बलात्कारपछि हत्या गर्ने कुसुम को हुन् ? कसरी पक्राउ परे ?

  पहिलोपेज

 1225 पटक हेरिएको

काठमाडौं, १० असोज । पोखरा २२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारलाई बलात्कारपछि हत्या गरेको अभियोगमा छिमेकी कुसुम पौडेल पक्राउ परेका छन् । घटनाको २४ घण्टाभित्रै प्रहरीले मंगलबार राति २७ वर्षीय कुसुम पौडललाई पक्राउ गरेको हो ।

प्रहरीले अभियुक्त कुसुम पौडेलसहित ५ जनालाई पक्राउ गरेकोमा पौडेल मात्र दोषी देखिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पौडेलले घटनामा संलग्न भएको स्वीकार गरिसकेका छन् । रक्सी र गाँजाको सुरमा यस्तो काम भएको उनले प्रहरीसमक्ष बयान दिएका छन् ।

वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नवीन कार्कीले अपराधी पत्ता लागिसकेको पुष्टि गरे । “१३ घण्टा नबित्दै अपराधी पत्ता लगाउनु कास्की प्रहरीको सफलता हो ।”

मंगलबार बिहान शव भेटिएपछि प्रहरीले हत्याराको खोजी गर्न तालिम प्राप्त कुकुर परिचालन गरेको थियो । उक्त कुकुर शव भेटिएको एक सय मिटर पर पुगेर अल्मलिएको थियो । कुकुर सय मिटरभन्दा पर नगएपछि प्रहरी घटनामा छिमेकी नै संलग्न भएको निचोडमा पुगिसकेको थियो । घटनास्थलबाट श्रीयाको मामाघर २ मिनेट जति र अभियुक्त पौडेलको घर ५ मिनेट दुरीमा पर्दछ ।

घटना विवरणः
बालिका श्रीया सुनार मामाघरमा नै बस्थिन् । स्थानीय लीला आधारभूत माविमा ३ कक्षामा अध्ययनरत श्रीया मंगलबार पनि स्कुल गएकी थिइन् । हजुरआमा मेला गएकी थिइन् । खाजा खाने बेला पानी आएको थियो । स्कुलबाट श्रीया सार्थीसँगै फर्किरहेकी थिइन् । ओत लागेर बसेकी हजुरआमासँगै स्कुलबाट फर्केकी श्रीया बसिन् । हजुरआमाले खाजा खाइसकेको र चिया खान बाँकी रहेकाले त्यो चिया श्रीयाले पिएकी थिइन् ।

पानी बिदो भएपछि उनकी साथी आफ्नो घरतिर गइन् । हजुरआमा नातिनीसँगै घर फर्के । कपडा फुकालेपछि भोक लाग्यो भनिन् । “माइजूले खाजा बनाएको होला खाउ” भनेर हजुरआमाले भनिन् । पाँच रुपैंया लेउ भन्दै उनले ढिपी कसिन् । हजुरआमाले ५ रुपैंया दिइन् पनि । टिभी हेरेर बस भनेर मामा र हजुरआमा घाँस काट्न गए । घाँस लिएर आउँदा श्रीया भेटिएनन् । भोटे भोटे भनेर हजुरआमाले बोलाइन् । कतै सुनिएन । कान्छी फुपु, हजुरबुबा कसैलाई पत्तो भएन ।

पाँच रुपैंया पाएपछि श्रीया पाँच मिनेटको दुरीमा रहेको पसलमा समेत पुग्न पाइनन् । मेलामा हजुरआमाको भाग चिया मात्र खान पाएकी थिइन् । घरमा माइजूसँग खाजा पनि खाइनन् । हजुरआमाले दिएको ५ रुपैंया लिएर उनी नजिकैको पसलतिर दौडिन् । यो मंगलबार ५ बजेपछिको समय हो ।

खाजा पसल त्यो गाउँकै जक्शन हो । जहाँ बेलुकी समयमा भिडभाड हुने गर्दछ । केटाहरु भेला हुन्छन् । स्थानीय २७ वर्षीय कुसुम पौडेलले पसलमा रक्सी खाए । उसको समूहमा ५ जना थिए । उनीहरुले गाँजा पनि खाए । कुसुमले ब्याग पनि बोकेका थिए ।
बेलुकी ६ बजेपछि पाँच जना आआफ्ना घरतिर लागे । पसलमा खुकुरी चुरोट किनेर कुसुम पनि घरतिर हिँडे । श्रीया हातमा पाँच रुपैंया नोट बोकेर आइरहेको देखे । कोदीको झाडी भएको ठाउँ देखेपछि कुसुमको मनमा एकाएक पाप पलायो । उसले आफूतिर बोलाए । “५ रुपैंया लिएर पसल हिँडेको ? आऊ म दिन्छु पैसा” भने । हजुरआमासँग ५ रुपैंया पाएर फुर्फुर हुँदै गएकी बालिका छिमेकी मामाले भनेपछि नजाने कुरै भएन ।

त्यसपछि कुसुमले श्रीयालाई समाते । श्रीया रुनकराउन थालिन् । बालिकाको घाँटीमा समाते । झनै कराउन थालेपछि भिरालो झाडीमा फालिदिए । त्यसपछि, आफू पनि बाटो तल झरेर अर्ध बेहोस बनेकी श्रीयाको शरीरमाथि खेले । बालिका रक्ताम्य भइन् । इज्जत मात्र लुटेनन्, तिखो ढुंगाले अनुहार, टाउको क्षतविक्षत हुनेगरी ढुंगाले हाने । जमिन खोस्रेर टाउको माटोमा गाडिदिए । त्यसपछि कुसुम घर फर्के । घरमा श्रीमती र ८ वर्ष जतिको छोरा छ । कुसुमले कसैले थाहा नपाउने गरी कपडा धोए र सुकाए ।

श्रीयालाई राति अबेरसम्म खोजी गरियो भेटिएन । बिहान स्थानीय तुलसी प्रसाद ढकालले अर्का एक जना लिएर खोज्न हिँडे । बाटोमा डिल भत्केको देखियो । झाडीमा न उत्तानो, न घोप्टो परेको अवस्थामा माथि कपडा सोहोरिएको, तल घुँडामुनि सुरुवाल झरेको अवस्थामा अर्धनग्न शव भेटियो । ढकालले बालिकाकी हजुरबुबालाई खबर गरे । हजुरबुबा प्रहरीलाई खबर गर्न झरेका थिए ।

मंगलबार बिहान ८ बजेतिर शव भेटिएपछि प्रहरीलाई शव भेटिएको जानकारी प्राप्त भयो । वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नवीन कार्कीसहितको टोली खटियो । लगत्तै कास्की प्रहरी प्रमुख एसपी ओमबहादुर राना घटनास्थलमा पुगेका थिए । तालिमप्राप्त कुकुर साथमा थियो । कुकुर १०० मिटर वरपर घुमिरह्यो ।

स्थानीयले बलात्कार नै भएको ठोकुवा गर्दै नत्र कञ्चनपुर जस्तो घटना दोहोरिने भन्दै शव पोखरा झार्न दिएनन् । केहीबेरको अवरोधपछि चिनेकै चिकित्सक समावेश गरी स्थानीयको रोहवरमा पोष्टमार्टम हुनुपर्ने शर्तमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव पुराइयो । चिकित्सकले बलात्कार भएको त्यतिबेलै स्थानीयलाई गोप्यरुपमा भनेको बालिकाकी ठूलोबुवा मीनबहादुर बिकले बताए ।

कास्की प्रहरीले अन्त्यन्त गम्भीर भएर अनुसन्धान अघि बढायो । कास्की प्रहरी प्रमुख एसपी राना, प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङ, वैदाम प्रमुख डिएसपी कार्कीसहितको टिमले अन्ततः राति ११ बजेपछि अभियुक्त पक्रन सफल भयो । शुरुमा ६ जना नियन्त्रणमा लिएकोमा १ जना छाडेर रक्सी पिउने ५ जनाको समूहलाई केरकार गरिएको थियो । कुसुम पौडेलले घर जाँदा बाटोमा भेटिएकी श्रीयालाई आफूले बलात्कारपछि हत्या गरेको स्वीकार गरे ।

को हुन् अभियुक्त कुशुम पौडेल ?
पोखरा २२ पुम्दीभुम्दकीका कुसुम पौडेलको घरमा श्रीमती र छोरा छन् । बुबाआमासँग छुट्टै बस्ने कुसुमको काम केही छैन । मलेसिया र कतार गएर फर्किएका थिए उनी । एक डेढ वर्ष अघि फर्केर घरमै थिए ।

लेकसाइडमा जान्छु भनेर निस्कन्थे । कन्स्ट्रक्शन लेबरमा काम गर्थे । गाउँतिर हल्लियो । रक्सी गाँजा खायो । श्रीमतीले ५० हजार बढी पैसा छोरोको पढाई खर्चका लागि ऋणमार्फत जोहो गरेकी थिइन् । त्यही पैसा लिएर कता गए कता ? घर फर्केको तीन साता पनि भएको थिएन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार