खुर्सिदको हत्यारालाई कानुनको कठघारामा ल्याइछाड्ने गृहमन्त्रीको प्रतिवद्धता

  पहिलोपेज

 274 पटक हेरिएको

काठमाडौँ, १० असोज । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले सुनसरीमा अज्ञात समूहले असोज ४ गते हत्या गरेका खुर्सिद आलमको हत्यारालाई कानुनको कठघरामा ल्याइछाड्ने दृढता व्यक्त गरेका छन् । आज गृहमन्त्रालयमा मृतक खुर्सिदको परिवारका सदस्य र सो क्षेत्रका जनप्रतिनिधिहरुसँगको भेटमा गृहमन्त्री थापाले त्यस्तो दृढता जनाएका हुन् ।

घटना लगत्तै छानविन समिति गठन गरी समितिले काम अघि बढाएको र केही दिनमै हत्याराको पहिचान हुने विश्वास व्यक्त गर्दै गृहमन्त्री थापाले मृतक अन्सारीका परिवारप्रति समवेदना प्रकट गरे । घटनालगत्तै अन्सारीलाई शहीद घोषणा गरिसकेको र उनको परिवारलाई दिने भनिएको राहत रकम दुई÷चार दिनमै परिवारका सदस्यले पाउने जानकारी दिए ।

भेटमा गृहमन्त्रीले भने, “यो घटनालाई मैले गम्भीर रुपमा लिएको छु । अपराधी जोसुकै भएपनि कारवाहीको दायरामा ल्याइछाड्छौं ।” गृहमन्त्री थापाले नेपालमा रहेका मुस्लिम समुदायको सुरक्षालाई सरकारले विशेष प्राथमिकतामा राखेको प्रष्ट पारे । भेटमा सहभागी मृतक खुर्सिदका भाइ जावेद आलम र काका जमिल आलमले घटना भएको एक हप्ता बित्दासमेत हत्यारा अझै पक्राउ नगरिएको भन्दै छिट्टै पक्राउ गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

उनीहरुले घटनापछि खुर्सिदलाई लाञ्छना लगाएर मिडियामा आएको समाचारले आफूहलाई झनै पीडा थपिएको बताए । उनीहरुले मृतक खुर्सिदलाई नियोजित रुपमा आरोप लगाइएको भन्दै आरोप लगाउनेहरुमाथि समेत छानविन गर्नुपर्ने गृहमन्त्रीसँग माग राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार