फेरि पोखरामा बालिका बलात्कारपछि हत्या, १६ घण्टाभित्रै अपराधी पक्राउ

  पहिलोपेज

 480 पटक हेरिएको

काठमाडौं, १० असोज । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको विषय टुंगोमा नपुग्दै फेरि पोखरामा त्यस्तै प्रकृतिको घटना भएको छ । सोमबार साँझ मृत भेटिएकी १० वर्षीया बालिका श्रेया बिकको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ ।

बिस्कुट किन्न भन्दै बालिका श्रेया सोमबार साँझ घरबाट निस्केकी थिइन् । उनी साँझ अबेरसम्म पनि घरमा नफर्केपछि परिवारका सदस्यले खोजी गर्न थालेका थिए । तर, परिवारले उनलाई भेटाउन सकेनन् ।
श्रेयाको शव मंगलबार बिहानै झाडीमा अर्धनग्न अवस्थामा मृत भेटिएकी थिइन् । उनको टाउकोमा केही चोटहरु र छेउँमा ढुङ्गाहरु थिए । यो घटना भएको १६ घण्टामै प्रहरीले अपराधी पक्राउ गर्न सफल भएको दावी गरेको छ ।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा २७ जनालाई अनुसन्धान गरेको थियो । जसमा श्रेयाका छिमेकी कुसुम पौडेलले बलात्कारपछि आफैले हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए । एसपी रानाले हत्यामा संलग्नको पहिचान गरी पक्राउ गरिएको पुष्टि गरेका छन् ।

मंगलबार बिहान घटना सार्वजनिक भएलगत्तै वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी नविन कार्कीको कमाण्डमा रहेको टोली शुरुदेखि नै अनुसन्धानमा जुटेको थियो । बिहान ८ बजे स्थानीयले खबर गरेबित्तिकै घटनास्थल पुगेर अनुसन्धान गरेको कार्की नेतृत्वको टोलीले मध्यरातमा अनुसन्धानपश्चात घटनामा संलग्न पक्राउ गर्न सफल भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार