निर्मलाको बलात्कारपछि हत्या प्रकरण : एसपी विष्टलाई हुनसक्छ जेलको बास

  पहिलोपेज

 430 पटक हेरिएको

काठमाडौं, १० असोज । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई जेलको बास हुनसक्ने सम्भावना देखिएको छ । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा उनको गम्भीर गल्ती देखिएको उच्चस्तरीय छानविन समितिले निष्कर्ष निकालेपछि उनलाई जेल पनि हुनसक्ने देखिएको हो ।

बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा अनुसन्धानका लागि गठित समितिले मंगलवार गृहमन्त्रालयलाई प्रतिवेदन बुझाएको छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीको नेतृत्वमा गठित ५ सदस्यीय उच्चस्तरीय छानविन समितिले गृहमन्त्री रामबहादुर थापा “बादल”लाई प्रतिवेदन बुझाएको हो ।

गृहमन्त्रालय स्रोतका अनुसार प्रतिवेदनमा तत्कालीन एसपी डिल्लीराज विष्टले गम्भीर गल्ती गरेको उल्लेख छ । निर्मला पन्त हराउनेबित्तिकै निर्मलाकी आमाले प्रहरीलाई खबर गरेका थिए तर प्रहरीले बेवास्ता गरेको भन्दै त्यस्तो हुनुमा तत्कालीन एसपी बिष्टकै कमजोरी भएको प्रतिवेदनमा औंल्याइएको छ ।

घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान गर्नुपर्नेमा लाश धुनुको साथै सुरुवाल धोएर प्रमाण नष्ट गर्नुमा पनि विष्टकै संलग्नता रहेको प्रतिवेदनमा उल्लेख भएको बताइएको छ । प्रहरीले सक्कली अभियुक्त भगाएको भन्दै स्थानीयले गरेको आन्दोलनमा विष्टले गोली चलाउन आदेश दिएको पनि प्रतिवेदनामा उल्लेख छ । यी तथ्यहरु प्रमाणित भएमा एसपी विष्ट जेल जान सक्नेछन् ।

मानसिक अवस्था ठिक नभएका दिलीपसिंह विष्टलाई निर्मलाको बलात्कार तथा हत्याको अभियुक्तको रुपमा प्रहरीले सार्वजनिक गरेपछि कञ्चनपुरमा आन्दोलन भड्किएको थियो । त्यसपछि कञ्चनपुरका तत्काली प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । सुरक्षा समितिको बैठकले एसपी विष्टमाथि पनि छानविन गर्नुपर्ने भन्दै उनलाई निलम्बन गर्न निर्देशन दिएको थियो ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा सत्यतथ्य छानविन गर्न नसकेको र उनको आफ्नै भूमिका नै शंकास्पद रहेको भन्दै एसपी विष्टलाई कञ्चनपुरको प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाइएको थियो ।

त्यसैगरी तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णकुमार खड्का, डीएसपी ज्ञानबहादुर सेठ्ठी र मुद्दा शाखाका प्रहरी निरीक्षक एकेन्द्र खड्कालाई छानबिनका लागि केन्द्रमा तानिएको थियो । उता, कञ्चनपुरमा बसेको सवदलीय बैठकले आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका भीमदत्त नगरपालिका १८ का १४ वर्षीय बालक सन्नी खुनालाई शहीद घोषणा गर्न सरकारलाई पहल गर्ने निर्णय गरेको थियो ।

यसैबीच, कञ्चनपुरकी निर्मला पन्त हत्याको अनुसन्धान गर्ने क्रममा प्रहरीले बबिता बम र आँचल भनिने रोशनी बमलाई पक्राउ गरी अनुसन्धान गरेर छोडेको ििथयो । १३ वर्षीया बालिका निर्मला उनीहरुको घरमा गृहकार्य गर्न गएको बेला बेपत्ता भएकी थिइन् । पक्राउ परेकी रोशनी निर्मलाकी साथी थिइन् । ती दिदीबहिनीलाई पक्राउ गरेर अनुसन्धान गरेमा घटनाको वास्तविकता पत्ता लाग्ने स्थानीयको माग थियो । बबिता र रोशनीको शंकास्पद व्यवहार, तत्कालीन एसपी विष्ट र मेयरका भतिजासँगको सम्बन्ध, उनीहरुका भनाइ र ठाडो बोलीका कारण उनीहरुलाई पक्राउ गर्न स्थानीयले दबाब दिँदै आएका थिए । ती दुई दिदीबहिनी मात्रै बस्दै आएको सो घरमा तत्कालीन एसपी डिल्लीराज विष्टका छोरा र नगर प्रमुख सुरेन्द्र विष्टका भतिजा प्रायजसो गइरहने गरेको स्थानीयको भनाई रहँदै आएको छ ।

निर्मला पन्तको बलात्कारपछि हत्याको विरोधमा राजधानीलगायत देशैभर प्रदर्शन भएका थिए । उनीहरुले अपराधी पत्ता लगाएर कानुनी कठघरामा ल्याउन र निर्मला पन्तलाई न्याय दिन माग गर्दै देशैभर प्रदर्शन भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार