एसिड प्रहार प्रकरण : किन सम्झिइन् रेखाले अचानक रुद्रप्रिया ? आक्रोशमा लेखिन् यस्तो

  पहिलोपेज

 1313 पटक हेरिएको

रेखा थापा

एसिड प्रहार भएको १२ दिनपछि हिजो सम्झना दास सम्झनामा मात्र सीमित भएर सदाका लागि बिदा भइन् । बहिनी सुस्मिता अस्पतालमा उपचारत छिन् । चितवनमा बसन्ती परियारमाथि एसिड प्रहार भएको घटना आज बाहिरियो । उनको शरीरको २५ प्रतिशत भाग जलेको छ । यस्तो खबरले एकसाथ ममा अथाह आक्रोश र आँशु पैदा गर्छ । सम्झनालाई हार्दिक श्रद्धान्जली अनि सुस्मिता र बसन्तीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

महिलामाथि हुने हरेक हिंसाले बिथोल्छ मलाई । त्यसमाथि एसिड भन्नासाथ शरीर नै उम्लन्छ, कहाली लाग्छ । त्यसैले “रुद्रप्रिया” बनाएँ । एसिड पीडित महिलाको साहस र प्रतिशोधको कथा भन्ने प्रयास गरें । त्यस फिल्मलाई मैले महिला हिंसा विरोधी अभियानकै रुपमा लिएको छु । तर हाम्ले जत्ति नै आधुनिक भयौं, महिला–पुरुषको विभेद हटायौं भने पनि “रुद्रप्रिया”हरु अझ जन्माइरहेका छौं । अचम्म त के भने, सम्झनाको ज्यानै जाँदा अनि बसन्ती मृत्युसँग लडिरहँदा पनि विरोधका आवाज मुखरित भएका छैनन्, न उनीहरुको उपचार खर्चकै बारेमा कसैलाई चासो छ ।

त्यसमा दुई कारण छन् । एक, उनीहरु कथित तल्लो जातका हुन् । अर्को, विपन्न आर्थिक अवस्थाका पनि । त्यसैले त उनीहरुमाथि त्यतिविघ्न अन्याय हुँदा पनि हामी मौन छौं । यही घटना शहरको कुनै सम्पन्न परिवारमा हुँदो हो त ?

चाहे एसिड आतंक होस्, चाहे बलात्कार । गुदी कारण एउटै छ, जब केटीले केटाको इच्छा अस्वीकार गर्छिन्, तब कुनै न कुनै रुपको शारीरिक र मानसिक हिंसाको शिकार हुनैपर्छ । सम्झना र बसन्तीको हकमा त्यही भएको हो । अर्थात, समाजमा स्त्री भोग्या साधन नै हुन् भन्ने विकृत र गलत सोच अझ प्रखर हुँदैछ । हाम्रो सुन्दरता नै हाम्रा लागि अभिशाप बनेको छ । के मुस्कुराउनु वा सुन्दर हुनु अपराध हो र ? यही पाराले हामी कस्तो समाज निर्माण गर्दैछौं ? ठण्डा दिमागले सोच्नु पर्छ । अपराधीलाई कठोरभन्दा कठोर सजाय त हुनुपर्छ नै तर यत्तिले मात्र महिलामाथिको आतंक रोकिन्न । त्यसका लागि अभिभावक, परिवार र समाजले हरेक पुरुषलाई हरेक महिला र उनको स्वतन्त्रतालाई सम्मान गर्न सिकाउनु पर्छ ।

अन्यथा, “रुद्रप्रिया” जन्मने श्रृंखला कहिल्यै रोकिने छैन । र, यसो हुनु भनेको, मानव सभ्यतालाई थप प्रदूषित र कलंकित पार्नु हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार