प्रचण्डलाई हेर्दा मोहन “किरण”लाई किन विचित्र लाग्छ ? हेर्नुहोस्

  पहिलोपेज

 800 पटक हेरिएको

म जेल बस्दा प्रचण्डले भ्रम छरेर चुनबाङबाट जनयुद्ध विर्सजन गरे : मोहन वैद्य

काठमाडौं, ९ असोज । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य “किरण”ले जनयुद्धकालको उत्कर्षको बेला आफू तीन वर्ष जेलमा रहँदा तत्कालीन माओवादी अध्यक्ष प्रचण्डले धेरै नेता कार्यकर्तालाई भ्रममा पारेर चुनबाङबाट जनयुद्धको विसर्जनको कार्यदिशा लिएको बताएका छन् ।

प्रचण्डले योजनाबद्ध रूपमा जनयुद्धलाई शान्तिप्रक्रियामार्फत समाप्त पारेको बताए । रातोपाटी अनलाइनसँग कुराकानी गर्दै महासचिव वैद्यले यस्तो बताएका हुन् ।

उनले रातोपाटीको एउटा प्रश्नमा भनेका छन्, “एउटा अप्ठेरो कुरा के रहेछ भने मान्छेका बारेमा विश्लेषण गर्न धेरै गारो रहेछ । सुरुका दिनमा भन्दा प्रचण्ड र हाम्रो विचार मिल्थ्यो । उहाँ यसरी कसरी परिवर्तन हुनुभयो भन्ने विषयमा कुरा गर्दा उहाँभित्र एउटा निम्न पूँजीवादी मनोवृत्ति होला भन्ने लाग्छ ।” वैद्यले भनेका छन्, “उहाँ कहिलेकहीँ के भन्नुहुन्थ्यो भने पछि आएर म लेफ्ट–राइट जता पनि जानसक्छु भन्ने गर्नुहन्थ्यो । उहाँलाई त्यतिका धेरै बुझ्न सकेका थिएनौँ अब लेफ्टको कुरा छोड्नुहोस् । उहाँ त अब गम्भीर दक्षिणपन्थी विचलनमा पर्नुभयो । यो हेर्दा विचित्र लाग्छ ।”

प्रचण्डलाई आफू गलत बाटोमा गएको कुरा पनि थाहा भएको बताउँदै बैद्य भन्छन्, “उहाँको विशेषता के देखा पर्दछ भने पुरानै लोकतन्त्रको संविधान बन्यो, त्यो बनिसकेपछि हाम्रो कुरा के हो भने त्यसका केही कुरा संघीयता, समानुपातिकलगायत केही कुरा सही छन् । तर सारमा के हो भने यो संसदीय ब्यवस्था पुरानै प्रकारको लोकतान्त्रिक व्यवस्था हो । यसले पुरानै राज्यसत्ताको प्रतिनिधित्व गर्दछ भन्ने कुरा क्लियर छ ।” आफूहरुले बारम्बार यो कुरा उठाउँदै आएको बताउँदै बैद्य भन्छन्, “उहाँ जुन तहमा खस्केर तल जानुभयो, यसलाई युगान्तकारी छलाङ भन्नुहुन्छ । उहाँको विशेषता त्यो रह्यो ।” वैद्यले यसलाई सामन्तवादी मनोवृत्तिको संज्ञा दिँदै यस्ता घटनाहरूबाट पाठ सिक्नुपर्ने औंल्याएका छन् ।

मान्छेमा सामान्य प्रकारका कमीकमजोरी हुने बताउँदै बैद्यले त्यसलाई सच्याउँदै रूपान्तरण गर्नुपर्ने बताएका छन् । “शतप्रतिशत कोही पनि कम्युनिस्ट छैन । यस विषयमा हामीले कसैलाई केही भन्ने विषय पनि भएन । त्यतिबेला त्यस्तो उल्लेख गर्न लायक कमजोरी देखेनौँ । म तीन वर्ष भारतमा जेलमा बसेँ । त्यतिबेला परिस्थिति घनीभूत ढंगले अघि बढ्यो । यसको अभिव्यक्ति पछि चुनबाङ बैठकमा देखाप¥यो । उहाँप्रति साथीहरूको अपार विश्वास थियो, नेतृत्वले गल्ती गर्दैन भन्ने विश्वास । उहाँको नियोजित रूपमा संसदीय व्यवस्थामा अवतरण गराउने उद्देश्य रहेछ । यो कुरो थाहा भएन ।” पहिले आफूहरुलाई केही आशङ्का रहेको बताउँदै बैद्यले भनेका छन्, “केही समयसम्म अन्तरसंघर्ष चल्यो । पछिल्लो समयमा यो कुरा थाहा भयो । अब यसको मूल्याङ्कन इतिहासले गर्ने हो । अरूले गर्ने हो । मैले यो घटनालाई लिएर यही भनेर भन्न मिल्दैन ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार