यस्ता रहेछन् प्रहरीका ५ संकट र मनोबल खस्नुका १० कारण

  रविन्द्रनाथ रेग्मी

 648 पटक हेरिएको

नेपाल प्रहरी यति बेला सर्वत्र चर्चामा छ । खास गरी प्रशंसाभन्दा पनि आलोचना निकै धेरै भइरहेको छ । कुनै समयमा विश्वमै अब्बलदर्जाको संगठन भएको चर्चामा रहेको नेपाल प्रहरीमा आइपरेका संकट र एकाएक ओइलाउनुको कारणबारे खोतल्ने प्रयास गरेका छौँ । केही उच्च प्रहरी अधिकारीसँग गरेको छलफल र बहसबाट हामीले नेपाल प्रहरीले वर्तमानअवस्थामा झेलिरहेका पाँच संकट र मनोबल खस्कनुका १० वटाकारणहरु लिपिबद्ध गर्न सकिन्छ ।

प्रहरीका वर्तमान पाँच संकट

नीतिगत संकट
नीतिगत संकटमा ३० वर्षे सेवाअवधिले ल्याएका विकृतिहरू पर्छन् । जसभित्र पाँच वटा बुँदाहरू मुख्य रहेका छन् ।

  • एसएसपी/डिआइजीदर्जाबाट सिधै आइजिपीबन्नु, जसले गर्दा नीतिनिर्माणमा कम अनुभव र कूटनैतिक सम्बन्ध, क्षमता तथा स्तर कायम राख्न आवश्यक अनुभव हीनता ।
  • यसैको फलस्वरूप तीस वर्षदेखिको प्रतिस्पर्धीहरू आइजी, एआइजी, डिआइजी, एसएसपीहरु आइजिपीको ब्याज मेट ।
  • कमान्ड एन्ड कन्ट्रोलमा असर गर्नु, पोलिसि फरमुलेसन÷इम्पिलीमेन्टेसनको अनुभव शून्य हुनु । फलस्वरूप प्रहरीप्रतिको जनविश्वास घट्नु ।
  • यसैलाई बहाना बनाई एड्मिनिसट्रेटिभ कन्ट्रोलको नाममा गृह मन्त्रालयले फङ्सनल अटोनोमी हरण गर्नु । दैनिक पुलिसिङमा गृहले सूक्ष्म व्यवस्थापन गर्नु ।
  • आइजिपीको जागिर सधैँ धरापमा पर्नु । आइजिपीले दिनभर फोन उठाएर बस्नुपर्ने वा दिनभर गृह मन्त्रालयमा समय बिताउनु पर्ने अवस्था हुनु ।

व्यवस्थापकीय संकट
प्रहरीभित्रको व्यवस्थापकीय पाटो अर्को ठुलो समस्याका रूपमा देखा परेको छ । यसमा दैनिक कार्यमा आउटर इन्फ्लुन्स हाबी हुनु जस्ता सनातनी समस्याहरू पर्छन् । जसले गर्दा प्रहरीको मनोबल घटेको छ । कमजोर मनोबल भएको प्रहरीले स्तरीय सर्भिस डेलिभरी गर्न सक्दैन । व्यवस्थापकीय संकटका केही नमुनाहरू यस प्रकार छन् ।

  • नयाँ भर्ना सम्बन्धी समस्या नयाँ भर्ना खुला गर्दा लोक सेवा आयोग जस्तै वार्षिक क्यालेन्डर नभएको ।
  • तालिमको प्रभावकारिता सम्बन्धी समस्या सबै प्रहरी कर्मचारीलाई सबै तालिम दिन पर्ने बाध्यता हुनु अर्को समस्या ।
  • सेवा वर्गीकरण गरी विशेषज्ञता र व्यवसायिकताको विकास गर्न नसक्नु ।
  • सरुवा र बढुवाको समस्या: सरुवामा आइजिपीले निर्णय गर्न नपाउनु । सरुवामा आइजिपी भन्दा बाहिरी प्रभाव तीन चौथाइ बढी कार्यान्वयन भएको अनुभूति हुनु । अनि बढुवामा क्षमताहिनहरू पैसा र शक्ति केन्द्रको अनुग्रहको भरमा सरासरी नीति निर्माण तहमा पुग्नु ।

संरचनागत संकट
नेपाल प्रहरीमा देखिएको संरचनागत संकट तेस्रो ठुलो संकट हो । कुनै पनि संगठन सञ्चालनका लागि त्यसको सांगठनिक संरचना अति नै महत्त्वपूर्ण हुन्छ । आम नेपालीको सुरक्षासँग जोडिएको सुरक्षा संयन्त्र अझ बढी चुस्त, दुरुस्त र समयानुकूल परिवर्तन गर्दै लैजानु पर्ने हुन्छ तर त्यसमा नेपाल प्रहरी चुकेको देखिन्छ ।

जसमा

  • सांगठनिक संरचनामा सेट ब्याक हुनु । गम्भीर अध्ययन बिना, हतारमा परिवर्तन गर्नु ।
  • महानगरीय प्रहरीको अवधारणा धरापमा पर्नु ।
  • संघीय प्रणालीमा रूपान्तरण प्रक्रिया लम्बिनु ।

नयाँ कानुनी प्रावधानले ल्याएको संकट 
गत भदौ १ गतेबाट लागु भएको मुलुकी अपराध, एवं कार्यविधि(संहिता) ऐनले प्रहरीमा केही संकट निम्त्याएको अधिकारीहरूको धारणा छ । विक्रम संवत् २०१० सालमा जारी भएको पहिलो मुलुकी ऐनसँगै ६५ वर्षपछि नयाँ मुलुकी(संहिता) पायो । अपराध संहिता ऐन फौजदारी कार्यविधि ऐनलाई नै महत्त्वपूर्ण आधार मानिएको अपराध संहिता २०७५ लागू हुनुपूर्व आवश्यक तयारी नहुनु नै यसको मुख्य जड बनेको छ । विश्वका प्रचलित प्रावधानहरू लागू गर्दा आवश्यक स्रोत साधन र प्रविधि उपलब्ध गराइएको छैन । त्यसैगरी अनुसन्धान–न्यायाधीशको प्रावधान रहेका मुलुकहरूको कानुनको व्यवस्था कपि गर्ने प्रयास गरिएको छ ।

सेलिब्रिटी शैली अवलम्बनको संकट
केही समययता प्रहरीमा सेलिब्रिटी शैली खुबै चर्चामा छ । नागरिकस्तरमा मात्रै होइन, प्रहरी संगठन भित्रै यसका व्यापक चर्चा परिचर्चा हुने गरेको छ । यसले पनि सही पुलिसिङमा समस्या उत्पन्न गरेको छ ।

  • आवश्यकता भन्दा बढी मिडिया एक्स्पोजर दिने ।
  • कस्मेटीक पोलिसिङमा रमाउने ।
  • शून्य बजेटमा टोलटोलमा प्रहरी कार्यक्रम चलाउने । एकातिर यो दिगो नहुने अर्कोतिर जनअपेक्षा ह्वात्तै बढ्ने देखिन्छ ।
  • यदाकदा अरू निकायको कार्य क्षेत्रमा पर्ने काम समेत गर्ने । जस्तै ःड्राइभर्स रेस्ट सेन्टर खोल्ने । यो प्रहरीको काम होइन । एउटा सुविधा सम्पन्न सेन्टर भनी प्रचारित सेन्टर खडा गर्न चार–पाँच लाख बजेट लिएको पाइयो । यसमा तोकिएका सुविधाहरू दिन चार–पाँच करोड (जग्गाबाहेक) लाग्ने देखिन्छ । जनमानसमा सबै काम गर्ने दायित्व नेपाल प्रहरीको हो भन्ने भान पर्न जाने ।
  • नेकपा–माओवादीका प्रवक्ता खड्ग विश्वकर्माको पक्राउ र रिहाइको सिलसिलाले कानुनी राज्यको प्रत्याभूति दिएन । अदालतको आदेश विरुद्ध प्रहरीको दुरुपयोग भएको अनुभूति भएको छ ।

प्रहरी मनोबल खस्कनुका १० कारण

हालैका दिनहरूमा मुलुकभर महिला तथा बालबालिका विरुद्ध हिंसा बढेको, प्रहरी स्वयम् घुसखोरी लगायतका अपराधमा संलग्न भएको, प्रहरीको दैनिक कार्य सम्पादनको स्तर ह्रास भएको महसुस गरिएको छ । अचानक किन यस्तो देखियो ? कारण निम्नानुसार हुन सक्छन् ।

१ हालैका दिनमा उच्च दर्जाका प्रहरीको दरबन्दी बिना कुनै अध्ययन र पूर्व– रिसइबी साँधेको शैलीमा कटौती गरियो । प्रहरी जनशक्ति ७५ हजार पुगेको र अपराध दर तथा दायरा बढेको पृष्ठभूमि सरकारले बिर्सियो । दरबन्दी कटौतीले एकातिर वृत्ति विकासको अवसर न्यून हुन गयो र फलस्वरूप मनोबल गिर्न पुग्यो । अर्कोतर्फ उच्च अधिकृतको कमीले कनिष्ठ अधिकृतको कामको अनुगमन र मूल्याङ्कन हुन सकेन ।

२ हचुवा शैलीमा साबिकका अञ्चल प्रहरी कार्यालयहरू समायोजन गरियो । कञ्चनपुर जिल्लामा सो कार्यालय रही प्रहरी वरिष्ठ उपरीक्षक दर्जाको अधिकृतले अनुगमन गरेको भए निर्मला हत्याकाण्डले यो रूप लिने थिएन ।

३ प्रहरी कर्मचारीको राजनीतिक दुरुपयोग बढेको । सर्वोच्च अदालतको आदेश विपरीत नेकपा-माओवादीका प्रवक्ता खड्ग विश्वकर्मा प्रकाण्डलाई पटक पटक पक्राउ गर्न लगाई अदालतबाट छाडिने गरेको । यसले पनि मनोबल गिराउने काम नै भएको ।

४ सरुवा र बढुवामा बाहिरी हस्तक्षेपका कारण योग्य अधिकृतहरू पाखा लागेको । अयोग्य र चाप्लुस प्रवृत्तिका नेताका घरघरमा पुग्ने र नेताहरूले उनैलाई मात्र चिन्ने योग्यहरू चुपचाप काम गर्ने तर दृश्यमा आउन नचाहने हुँदा पछाडि पर्ने गरेको ।

५ काठमाडौँ प्रहरी भूकम्पको समयदेखि टेन्टमा रहन बाध्य रहेको । नेपालभरका प्रहरीका ब्यारेक दुरावस्थामा रहेको अर्कोतर्फ प्रहरी एकेडेमी हटाउने भन्ने सरकारले एकतर्फी आफू खुसी निर्णय गरेको ।

६ अपराध संहिता लागू गर्नु पूर्व आवश्यक तयारीको कमी । अनुसन्धानमा न्यून सङ्ख्यामा जनशक्ति खटिएको र त्यो पनि दक्ष नरहेको, भवन लगायतका पूर्वाधार नरहेको, सवारी साधन, यन्त्र उपकरण साधन नरहेको अवस्थाले अन्योलताको अवस्था सृजना गरेको ।

७ संघीय प्रहरी ऐन समयमै नआएको मात्र होइन, मुख्य सरोकारवाला प्रहरीलाई कुनै जानकारी नभएकाले अर्को अन्योलताको स्थिति थप भएको ।

८ प्रहरीप्रतिको चरम बेवास्ताले भएका सेवा सुविधाहरू काटिँदै गएको । साथै सांगठनिक विकास ठप्प भएको अवस्था रहेको । उदाहरणका लागि अवकाश हुँदा निबृत्तिभरण प्राप्त गर्ने सन्दर्भमा निजामती सेवा भएमा सम्भावित ग्रेडको गणना गर्ने तर प्रहरी भएमा कुनै ग्रेड प्राप्त नगर्ने ।

९ सबै कुरामा राजनीतिक र गृह मन्त्रालयको आदेश चल्ने भएपछि सीप विकासतर्फ कसैले ध्यान नदिएको । तालिमको प्रभावकारिता गुमेको । बचेखुचेका विशिष्ट सीप भएका प्रहरी शीघ्र अवकाशमा परेका । ३० वर्षे सेवा अवधिको दुष्परिणाम फिल्डमा देखिएको ।

१० महानगरीय प्रहरीको अवधारणा धरापमा पर्नु । संघीय प्रणालीमा रूपान्तरण प्रक्रिया लम्बिनु । प्रहरी कर्मचारीमा सेलिब्रिटी शैली अपनाउने दुष्प्रवृत्तिहावी हुनु । अपराध अनुसन्धानको काम व्यावसायिक प्रहरीको सट्टा गृह मन्त्रालयको सहसचिवको नेतृत्वमा गराउने कार्य हुनु । यी सबै प्रवृत्तिले अन्ततः प्रहरी मनोबल घट्नु स्वाभाविक हो।

निष्कर्ष

सबल, सक्षम र प्रभावकारी पुलिस नै आजको आवश्यकता र सबैको चाहना हो । सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा होस् या ‘सुशासनको माध्यमबाट विकास’मा फड्को मार्ने अभिलाषा नै किन नहोस् । यी सबै सपनाहरू पुरा गर्नकालागि देशको सुरक्षा व्यवस्था प्रभावकारी हुन जरुरी रहन्छ । यसर्थ अब नेपाल प्रहरीलाई नेपाल सरकारका मन्त्रालय अन्तर्गतका सञ्चालन हुने कुनै विभाग सरह भन्दा पनि छुट्टै एउटा विशिष्ट सुरक्षा संयन्त्रका रूपमा हेरिनु पर्छ । कार्य सञ्चालनका क्रममा कहिँकतै कसैको मातहत र नियन्त्रणमा राखिए पनि कार्यशैली र अपेक्षित नतिजालाई अन्य कार्यालयहरूले पेस गर्ने गरेको कागजी कार्यसम्पादन मूल्याङ्कन जसरी नभई सङ्गठनको आन्तरिक र जनताको महसुसीकरणबाट मापन गरिनुपर्छ तवमात्रै सही पुलिसिङ हुन्छ र त्यसको प्रभाव सिङ्गो देशमा देखिन्छ ।

प्रशासनबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार