काठमाडौं, ७ असोज । नुवाकोटको सूर्यगढी गाउँपालिका– १ लच्याङकी सम्झना तामाङलाई प्रहरीले पक्राउ गरेको छ । शिशुलाई जन्माएर हत्या गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यही शनिवार शिशुलाई जन्माएर हत्या गरेको अभियोगमा २२ वर्षीया तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए ।
पक्राउ परेकी सम्झनाका श्रीमान वैदेशिक रोजगारका लागि २९ महिना पहिले विदेश गएका थिए । श्रीमान विदेश गएको समयमा परपुरुषसँगको यौन सम्पर्कबाट उक्त शिशु जन्मिएको बताइएको छ । शिशुको शव भेटिएको स्थानको मुचुल्का, सम्झनाको प्रारम्भिक बयान, घरपरिवार र स्थानीयवासीले दिएको सूचनाको आधारमा ज्यान मुद्दा अभियोगमा कारवाहीको लागि शनिबार साँझ तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरका अनुसार घटनामा संलग्न रहेका परपुरुषको पनि पहिचान भइसकेको छ । उनलाई पक्राउ गर्न पनि प्रहरी परिचालन भइसकेको छ ।
शिशुको शवलाई परीक्षण गर्न जिल्ला अस्पताल त्रिशुलीमा पुराइएको छ । पक्राउ परेकी महिलाको श्रीमान विजय तामाङ २९ महिना साउदी बसेर एक महिना अघिमात्र नेपाल फर्किएका थिए ।