आयोजनाको सिमेण्ट बेच्नेमाथि लगाम कस्दै खानेपानी मन्त्रालय

  पहिलोपेज

 346 पटक हेरिएको

काठमाडौं, ७ असोज । मेलम्ची खानेपानी आयोजनाको अम्बाथान हेलम्बु सुरुङको बाँध निर्माणको लागि ल्याएको ३ सय ४० बोरा सिमेन्ट मिलेमतो गरी निजी पसलमा बिक्री भएको भन्ने घटनाको विषयमा खानेपानी मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । खानेपानी मन्त्री बिना मगरको सचिवालयद्वारा जारी विज्ञप्तिमा यस्तो लापरवाहीप्रति मन्त्रालयले मेलम्ची खानेपानी विकास समिति र ठेकेदार कम्पनी सिएमसीलाई सचेत गराइएको उल्लेख छ ।

“राष्ट्रिय गौरवको आयोजना निर्माण कार्यको सम्बन्धमा देखिएको यस किसिमको लापरवाहीप्रति मेलम्ची खानेपानी विकास समिति र सम्बन्धित ठेकेदार कम्पनी सिएमसी थप जिम्मेवार भई कार्य गर्न मन्त्रालयको तर्फबाट सचेत गरिन्छ”, विज्ञप्तिमा भनिएको छ । खानेपानी मन्त्रीको सचिवालयका स्वकीय अधिकृत विजयदेव भट्टराईद्वारा जारी विज्ञप्तिमा “आयोजनाको काम समयमा सक्नुपर्ने जिम्मेवारीलाई आत्मसात गरी निर्माण कार्य अघि बढाउन मन्त्रालय र सम्बन्धित निकाय दिनरात लागि परेको सन्दर्भमा यस किसिमको घटना हुनु दुःखद कुरा हो” भनिएको छ । यस घटनामा संलग्न दोषीहरुलाई कानुन बमोजिम कारवाही गर्न र अब उप्रान्त यस्तो घटना दोहोरिन नदिन तथा आयोजना निर्माणको कार्य समयमा नै सम्पन्न गर्न मन्त्रालयबाट सम्बन्धित जिम्मेवार निकायलाई निर्देशन दिइएको पनि विज्ञप्तिमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार