‘पहिलो स्पोर्टस् सिटीमा स्पोर्टस् ट्रेनिङ सेन्टर’

  नारायण भण्डारी

 346 पटक हेरिएको

तुलसीपुर ।

नेपाल कै पहिलो स्पोर्टस् सिटीका रुपमा घोषणा भएको दाङको तुलसीपुरमा स्पोर्टस् ट्रेनिङ सेन्टर खुल्ने भएको छ । यहाँका युवा व्यवसायीहरुको लगानीमा स्पोर्टस् ट्रेनिङ सेन्टर स्थापना हुने भएको हो । तुलसीपुुर उपमहानगरपालिकाको वडा नं. ६ गोलौरामा ज्ञ्यानज्योती स्पोर्टस् ट्रेनिङ सेन्टरको स्थापना गरिने बुधबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।

खेलकुदको विकासका लागि नीजि लगानीमा स्पोर्टस् ट्रेनिङ सेन्टर स्थापना गर्न लागिएको अध्यक्ष सुरेन्द्र जिसीले बताए । गोलौरामा २ विघा जग्गा भाडामा लिएर भौतिक संरचना निमार्ण सुरु गरिएको जिसीले बताए । खेलमा रुची राख्नेहरुलाई स्कुल तहदेखि नै विभिन्न खेल सिकाइने उनले जानकारी दिए ।

पत्रकार सम्मेलनमा ट्रेनिङ सेन्टरका सदस्य विनिल केसीले नीजि क्षेत्रबाट गरिएको सामाजिक कार्य भएको बताए । उनले खेलाडिको मनोवल उच्च राख्ने र राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्षका साथ आफूहरु अगाडी बढेको जानकारी दिए ।

ट्रेनिङ सेन्टरका प्रेस सल्लाहकार लक्ष्मण बस्नेतको सञ्चालनबाट सुरु भएको कार्यक्रममा सदस्य अरुण लहरेले गोलौरामा ५० लाखको लागतमा ट्रेनिङ सेन्टर स्थापना गरिने बताए । ट्रेनिङ सेन्टरमा तत्काल फुटवल, क्रिकेट, तेक्वान्दो र करातेको खुला तथा बन्द प्रशिक्षण दिइने सञ्चालकहरुले जानकारी दिएका छन् । त्यसैतै टेवुलटेनिस, ह्याण्डवल, यथेलेटिक्स, ब्याडमिन्टन, भलिवल लगायतका खेलहरुको व्यवसायिक कोचहरुद्वारा खेलकुद सिकाइने जनाइएको छ ।

देशमै पहिलो पटक स्पोर्टस् सिटीका रुपमा घोषणा भएको तुलसीपुरमा नीजि लगानीबाट खेलकुद प्रशिक्षण केन्द्र स्थापना हुनु सकारात्मक भएको दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली बहादुर डाँगीले बताए । तुलसीपुरलाई स्पोर्टस् सिटीका रुपमा विकास गर्नका लागि धेरै संरचना आवश्यक रहेको र ती संरचनाहरु निमार्ण गर्न राज्यले ध्यान नदिएकाले पनि खेलकुदमा नीजि लगानी अनिवार्य भएको डाँगीले बताए । राष्ट्रिय खेलकुद परिषदको सिफारिसमा सरकारले दाङको तुलसीपुरलाई नेपालकै पहिलो स्पोर्टस् सिटीका रुपमा घोषणा गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार