उपराष्ट्रपति पुन आज चीन जाँदै, यस्तो छ उपराष्ट्रपतिको चीन भ्रमणको कार्यक्रम

  पहिलोपेज

 399 पटक हेरिएको

काठमाडौं, ३ असोज । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ औपचारिक भ्रमणका लागि आज चीन प्रस्थान गर्न गर्दैछन् । ६ दिने औपचारिक भ्रमणका लागि उनी आज बिहान १०ः४० बजे सिए ४३८ नं. को एयर चाइनाको विमानबाट सिचुवानको राजधानी छेन्दु प्रस्थान गर्ने उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

सिचुवान प्रान्तको राजधानी छेन्दुमा असोज ४ गतेदेखि सुरु हुने ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर उपराष्ट्रपति चीन जान लागेका हुन् । उपराष्ट्रपति पुनले असोज ४ गते अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

उपराष्ट्रपतिले असोज ४ गते नै चीन भ्रमणको क्रममा वेल्ट एण्ड रोड सम्बन्धी व्यवसायिक समुदायको कार्यक्रमलाई सम्बोधन गर्नेछन् । चीनमा रहँदा उपराष्ट्रपति पुनसँग चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का सिचुवान प्रान्तका सेक्रेटरी, सरकारी प्रतिनिधिहरुले शिष्टाचार भेट गर्ने तय भएको छ । उनले सिचुवानको विकासे परियोजना लगायत विभिन्न क्षेत्रको अवलोकन भ्रमण समेत गर्नेछन् ।

उपराष्ट्रपतिको भ्रमण टोलीमा उनकी धर्मपत्नी हस्तमाली पुन, उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य, उपराष्ट्रपतिका विज्ञ जीवन आचार्य, चीनका लागि नेपाली राजदूत लिलामणि पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव गणेश ढकाल, उपराष्ट्रपतिका स्वकीय सहसचिव तुल्सी डाँगी, प्रेस संयोजक मनोज घर्तीमगर, पाश्ववर्ती प्रमुख सेनानी अरुण कुमार केसी रहनेछन् । यसैगरी परराष्ट्र मन्त्रालयका नायव शिष्टाचार महापाल रामबाबु ढकाल, नेपाली सेनाका सेनानी प्रयोजन श्रेष्ठ, परराष्ट्र मन्त्रालयकी शिष्टाचार अधिकृत इन्दिरा गोहिवार उपराष्ट्रपतिको भ्रमण टोलीमा हुनेछन् । उपराष्ट्रपति चीनको भ्रमण सकेर असोज ८ गते बिहान ८ः४५ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

राष्ट्रपतिलाई जानकारी
उपराष्ट्रपतिले आफ्नो चीन भ्रमणबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएका छन् । राष्ट्रपतिलाई मंगलबार अपरान्ह भेटेर उपराष्ट्रपतिले आफ्नो चीनको औपचारिक भ्रमणबारे जानकारी गराएका हुन् ।

भेटमा राष्ट्रपतिले उपराष्ट्रतिलाई चीन भ्रमण सफलताको शुभकामना व्यक्त गरेकी थिइन् । राष्ट्रपति भण्डारीले उपराष्ट्रपतिको भ्रमणले दुई देशबीचका सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेकी थिइन् । उपराष्ट्रपतिले आफ्नो चीन भ्रमणलाई सफल बनाउन र दुई देशबीचको सम्बन्धलाई अझै बलियो बनाउन कोसिस गर्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार