रणनीतिलाई कार्यनीतिका रूपमा प्रस्तुत गर्ने ‘वामपन्थी’ सङ्कीर्णवादी सोचाइबारे

  रामप्रकाश पुरी

 601 पटक हेरिएको

का. रामसिंहले भन्नु भए झैँ पहिले भएको बैठकमा हामीबीचमा पार्टी एकताका लागि आधार तयार पार्न बहस र छलफल गर्दै जाने सहमति भएको हो । हाम्रो पार्टीले उहाँहरूसँग मात्र होइन, देशका अन्य वामपक्षीय वा सार्वजनिक रूपले पनि त्यस प्रकारको बहस र छलफलका लागि ढोका खुला राखेको कुरा स्पष्ट छ । यस सन्दर्भमा यो कुरामा पनि स्पष्ट हुन आवश्यक छ कि बहस र छलफलको लागि ढोका खुला रहनु र पार्टी एकता गर्नु फरक कुराहरू हुन् । महामन्त्री क. मोहन विक्रम सिंहले पार्टीको यस प्रकारको नीतिबारे बारम्बार प्रकाश हाल्दै आउनु भएको छ ।

क. रामसिंहले लेख्नु भएको छ : “नेकपा (मसाल) ले पार्टी एकताका लागि आधार तयार पार्न छलफल र बहस गर्ने कुरा तत्कालको विषय हुन नसक्ने र कार्यगत एकताको लागि मात्र छलफल गर्ने कुरा आएपछि नेकपा (मसाल) र नेकपा (क्रान्तिकारी माओवादी) का बीचमा पार्टीको एकताका लागि आधार तयार पार्ने छलफल र बहस गर्ने कुरा तत्कालका लागि स्थगित भएको छ ।” का. रामसिंहले रणनीतिक विषयहरूलाई उल्लेख गरेर वर्तमान राजनीतिक भूमिकाका लागि अपनाइने कार्यनीतिबाट आफ्नो दृष्टिकोणलाई पुरै अलग गरेर पार्टी एकताको आधार तयार हुने कुरामा जोड दिनु भएको छ । रणनीतिक महत्व राख्ने विषयहरूमा कुरा गर्दा हामीले इतिहासका यी घटनाहरूलाई स्मरण गर्नु आवश्यक छ कि झापा विद्रोहको उद्देश्य नेपालमा जनवादी व्यवस्था स्थापना गर्ने भनिएको थियो । हो, नेपालमा जनवादी व्यवस्था स्थापना गर्नु पर्दछ र यसका लागि हामीले लामो सङ्घर्ष गर्दै आएका छौँ तर किन झापा विद्रोहसित हाम्रो सहमति हुन सकेन ? हामीले किन माओवादी सशस्त्र गतिविधिलाई सही मानेनौँ ? इतिहासले हाम्रो समझदारी र विश्लेषणलाई कसरी सही सावित गरिदियो ? यी प्रश्नका उत्तरहरूका लागि हामीले नेपालको कम्युनिस्ट आन्दोलनको वास्तविकतालाई हेर्नु पर्दछ । के क. रामसिंहले यो वास्तविकतालाई विचार गरेर कार्यनीतिक विषयहरूको महत्व र औचित्यमाथि ध्यान दिन आवश्यक ठान्नु हुन्छ ? यदि त्यसो हो भने रणनीतिक विषयहरूमा हाम्राबीचमा रहेका सहमतिहरू मात्र पार्टी एकताको आधार तयार पार्नका लागि काफी छैनन् भन्ने कुरा प्रष्ट छ ।

तर का. रामसिंहले केही रणनीतिक विषयहरूलाई हाम्रा मुख्य सहमतिका आधार बताएर यो लेख्नु हुन्छ : “….कतिपय कार्यनीतिक विषयहरूमा समान दृष्टिकोण नहुँदानहुँदै पनि पनि नेकपा (क्रान्तिकारी माओवादी) ले नेकपा (मसाल)सँग पार्टीको एकताको आधार तयार पार्न छलफल बहस गर्ने प्रस्तावलाई अगाडि बढाएको हो । पार्टी एकताका लागि आधार तयार पार्ने छलफल बहस र अगाडि बढेको भए समान दृष्टिकोण नभएका कार्यनीतिक विषयहरू दुई पार्टीका बीचमा आन्तरिक छलफलको विषय हुने थियो ।”

यस विषयमा हामी उहाँहरूलाई इतिहासको यो पक्षतर्फ ध्यान आकर्षण गराउन चाहन्छौँ : नेकपा (मसाल) र तात्कालीन नेकपा (एकता केन्द्र) को करिब चार वर्षे लामो गृहकार्यपछि पनि केही कार्यनीतिक विषयहरूमा सहमति हुन सकेन । तर त्यसका बाबजुद पनि अन्तरपार्टी बहस र छलफलद्वारा ती समस्याहरूलाई समाधान गर्ने निर्णयका साथ पार्टी एकीकरण भएको थियो । भविष्यमा यो कुरा सावित भयो कि कार्यनीतिक विषयमा रहेका तिनै मतभेदहरू नै पार्टी विभाजनका लागि कारण बने । त्यो विभाजनले पूर्व मसालको शक्तिलाई धेरै नै धक्का पुग्यो । का. रामसिंहले यो कुरालाई बिर्सेर कार्यनीतिक प्रश्नमा मतभेद भएपनि ती प्रश्नहरूमा आन्तरिक रूपमा छलफल गर्दै पार्टी एकता गर्न सकिन्छ भन्ने विचार प्रकट गर्नु भएको छ तर एकता केन्द्रसँगको पार्टी एकताको कटु अनुभवमाथि विचार गर्दा त्यस प्रकारको सोचाइ अत्यन्त घातक हुने कुरा प्रष्ट छ । त्यस प्रकारको गलत पार्टी एकताको परिणाम थियो कि उनीहरूसित पार्टी एकता गरेको चार वर्षसम्म पार्टीमा आन्तरिक र सार्वजनिक दुवै रूपमा द्वन्द्व चलिरह्यो । त्यो द्वन्द्वको क्रममा नै स्वयम् का. रामसिंहको नेतृत्वमा एउटा पक्ष हाम्रो पार्टीबाट अलग भएर गएको उदाहरण पनि हाम्रा अगाडि छ । हामीले पुनः त्यस प्रकारको गलत साङ्गठनिक पद्धतिलाई पुनः दोहोर्‍याउन चाहदैनौँ । स्वयम् उहाँको लेखबाट हाम्राबीचमा कार्यनैतिक प्रश्नहरूमा तीव्र मतभेद भएको कुरा प्रष्ट छ । त्यो अवस्थामा उहाँहरूसित पार्टी एकतालाई स्थगित गर्ने हाम्रो विचार सही भएको कुरा बुझ्न गाह्रो पर्दैन । यदि त्यो पक्षको उपेक्षा गरेर हामीले उहाँहरूसित पार्टी एकता गरेको भए हामी एकता केन्द्रसित पार्टी एकता गरेर दलदलमा फसे जस्तो स्थिति सृजना हुने कुरा निश्चित थियो । त्यो दलदलबाट निस्कन हामीलाई अर्को चार वर्ष लाग्न सक्दथ्यो वा हाम्रो पार्टी पुरै नै त्यसमा डुबेर गायब हुन्थ्यो ।

नेकपा (क्रान्तिकारी माओवादी) का कामरेडहरूमा रणनीतिक विषयहरूलाई कार्यनीतिक रूपमा राख्ने गम्भीर वैचारिक समस्या छ । प्रतिक्रियावादी राज्यसत्ताभित्र क्रान्तिकारीहरूले तात्कालिक परिस्थितिको ठोस विश्लेषण सहित निर्वाह गर्नु पर्ने राजनीतिक भूमिकाप्रति उहाँहरूले नकारात्मक दृष्टिकोण राख्नु हुन्छ । यही नकारात्मक दृष्टिकोणका कारणले संविधान सभा, गणतन्त्र, संविधान सभाको चुनाव, संविधान आदि विषयहरूलाई वुर्जुवा ठानेर तिनीहरूको विरोध गर्न वा निषेध गर्न पुग्नु भएको छ । यस प्रकारको सोचाइले माक्र्सवादी लेनिनवादी सोचाइसित होइन, अराजकतावादी सोचाइसित बढी मेल खान्छ । त्यस प्रकारको सोचाइको नै परिणाम हो कि उहाँहरूले जनआन्दोलनका उपलब्धिहरूलाई पुरै नै अस्वीकार गर्नु हुन्छ । त्यस प्रकारको सोचाइले उहाँहरूलाई अग्रगमन होइन, प्रतिगमनको नजिक पुर्‍याउँछ । पूर्व माओवादीमा त्यस प्रकारका सोचाइहरू प्रशस्त थिए । त्यसका अवशेषहरू अहिले उहाँहरूमा पनि केही न केही पाइन्छन् ।

हाम्रो पार्टीले केपी–प्रचण्डद्वारा नेतृत्व गरिएको नेकपालाई कम्युनिस्ट पार्टीको रूपमा स्वीकार गर्दैन र उनीहरूले निर्माण गरेको सरकारलाई वामपन्थीको सरकार पनि भनेको छैन । हामीले खालि वामपक्षको सरकार भनेका छौँ । वामपन्थी र वामपक्ष अलग अलग अर्थ बोकेका शब्दहरू हुन् । नेपालको सन्दर्भमा वामपक्ष एउटा ढुलमूल र सुधारवादी शक्ति हो । त्यसमा सामान्त, दलाल नोकरशाही पुँजीपति वर्ग वा साम्राज्यवाद र विस्तारवादसित साँठगाँठ गर्ने प्रवृत्ति हुन्छ । त्यसैले त्यो ढुलमूल, अवसरवादी र सम्झौतापरस्त शक्ति हो । अहिलेको नेकपामा भएका प्रवृत्तिहरूको सम्झौताहीन प्रकारले विरोध गर्ने हाम्रो नीति रहँदै आएको छ र हुने पनि छ । अहिलेको नेकपाको निम्न पुँजीपति चरित्रको कारणले त्यसमा त्यस प्रकारका प्रवृत्तिहरू हुन्छन् र हामीले त्यस प्रकारका प्रवृत्तिहरूको सम्झौताहीन प्रकारले विरोध गर्ने हाम्रो नीति रहँदै आएको छ र हुने पनि छ । तर त्यो कारणले त्यसलाई दुश्मन शक्तिको पङ्क्तिमा घचेट्नु वामपन्थी सङ्कीर्णवादी सोचाइ हो । उहाँहरूले त्यसलाई सामान्त र दलाल तथा पुँजीपतिको सङ्गठन बताएर त्यसलाई वर्गीय र रणनीतिक रूपले नै दुश्मन शक्तिको रूपमा व्याख्या गर्नु हुन्छ । तर त्यो निम्न पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने सङ्गठन भएको हुनाले वर्गीय र रणनीतिक रूपमा नेकपा हाम्रो मित्रशक्ति हो ।

यस सन्दर्भमा हामीले एमाले र माओवादी केन्द्रको एकतालाई सकारात्मक रूपमा लिएको कुरा पनि उहाँहरूका लागि आपत्तिको विषय बनेको छ । खासगरी उनीहरूको एकताबाट बनेको नेकपालाई प्रतिक्रियावादी शक्तिका रूपमा नै विश्लेषण गर्ने र त्यो शक्तिलाई कुनै पनि गुञ्जायसको रूपमा देख्न नसक्ने उहाँहरूको दृष्टिकोणका कारण हाम्रो उनीहरूप्रतिको दृष्टिकोणप्रति त्यो आपत्ति आएको बुझ्न कुनै गाह्रो पर्दैन । वास्तवमा देशको तत्कालीन परिस्थिति र आवश्यकता आधारमा नै हामीले यो कुरालाई सकारात्मक बताएका थियौँ । नेकाको गठबन्धनको सरकारको विजय भएको भए गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षता समेतमा गम्भीर आँच पुग्ने खतरा थियो । त्यसको तुलनामा एमाले र माओवादी गठबन्धनका नीतिहरू बढी सकारात्मक थिए । त्यसैले हामीले उनीहरूसित सहकार्य गरेका थियौँ र चुनावमा उनीहरूको विजयलाई स्वागत गरेका थियौँ । उहाँहरूको नेकपा र नेकालाई समान रूपले प्रतिक्रियावादी र दुश्मन शक्ति ठान्ने सोचाइ ठिक त्यस्तै हो, जस्तै कि कुनै बेला पूर्व मालेको बहुदलीय र निर्दलीय व्यवस्थालाई एउटै ड्याङको मूला ठान्ने सोचाइ । प्रतिगमनका विरुद्धको सङ्घर्षको क्रममा पूर्व माओवादीको राजा र काङ्ग्रेसलाई समान रूपले विरोध गर्ने विचार पनि यस सन्दर्भमा उल्लेखनीय छ, यद्यपि व्यवहारमा उनीहरूले राजापरस्त सोचाइ अपनाउन पुगेका थिए ।

चीजहरूलाई हेर्ने द्वन्द्वात्मक दृष्टिकोणका कारणले पञ्चायतकालीन समयमा राजाका राष्ट्रियता वा कोदारी राजमार्गसम्बन्धी कतिपय नीतिहरूलाई हामीले समर्थन गरेका थियौँ । तर यसको अर्थ यो थिएन कि हामीले सम्पूर्ण रूपले राजावादी नीति अँगालेका थियौँ । त्यस्तै अरू विषयमा पनि हाम्रा नीतिका कुराहरू इतिहासमा साक्षीका रूपमा रहेका छन्, जस्तो कि उग्रवामपन्थी विचारधाराको विरुद्ध भयानक सङ्घर्षहरू चलेका छन् तर यसको अर्थ यो थिएन कि उनीहरूको सुधारको स्थिति वा प्रगतिशील कार्यहरूलाई समेत अस्वीकार गर्नु । माओवादीहरूले आफ्नो सशस्त्र गतिविधिको अवधिमा हाम्रा कैयौँ साथीहरूलाई अपहरण गर्ने, कुटपिट गरी अङ्गभङ्ग बनाउने र ज्यान समेत लिएका कैयौँ उदाहरणहरू जीवित छन् र त्यसका विरुद्ध हाम्रो पार्टीको ठुलाठुला सङ्घर्षहरू पनि भए । यी सबका बाबजुद पनि हामीले उनीहरूलाई दुश्मन शक्तिका रूपमा व्याख्या गरेका थिएनौँ र उनीहरूलाई सधँै नै मित्रशक्तिको रूपमा लिएका थियौँ । कुनै सङ्गठन वा शक्तिप्रतिको हाम्रो नीति त्यसका तात्कालिक गतिविधि र कार्यशैलीका आधारमा तय गरिएको भएता पनि त्यसलाई हेर्ने हाम्रो मूल दृष्टिकोण त्यसको वर्गचरित्रका आधारमा नै निर्धारित हुन्छ ।

का. रामसिंहले वर्तमान सरकारको आलोचना गर्दै नेकपासम्बन्धी जुन धारणा व्यक्त गर्नु भएको छ, त्यसले सैद्धान्तिक महत्व राख्दैन । राजनैतिक रूपमा ती कतिपय कुराहरूको महत्व भए पनि एउटा जिम्मेवार राजनीतिक शक्तिले सैद्धान्तिक महत्वलाई बढी प्राथमिकतामा राखेर नै आफ्ना दृष्टिकोण बनाउन आवश्यक हुन्छ । हामीले नेकपासितका गम्भीर सैद्धान्तिक र राजनीतिक मतभेदका बाबजुद पनि देशको आवश्यकतका आधारमा उनीहरूसितको कार्यगत एकतालाई जोड दिने कुरालाई का. रामसिंहले रणनीतिक दृष्टिकोण जस्तो अर्थमा परिभाषित हुने गरी प्रस्तुत गर्नु भएकाले त्यसबाट भ्रमहरू पनि सृजना भएका छन् । कुनै शक्तिप्रतिको विश्लेषण एउटा सैद्धान्तिक पक्ष हो भने त्योसित अपनाइने व्यवहार कार्यगत एकताको नीति अन्तर्गतको विषय हो । कार्यगत एकता देशको तात्कालिक आवश्यकता वा अन्य परिस्थितिमा पनि तत्काल पैदा हुन सक्ने विशेष अवस्थामा निर्धारण गरिने कुरा हो । तर उहाँहरूको कार्यनीतिक रूपमा पनि रणनीतिक विषयहरूलाई जोड दिने ‘वामपन्थी’ सकीर्णवादी सोचाइका कारणले उहाँहरूले ती दुवैका बीचको अन्तरलाई ठिकसँग बुझ्न सक्नु हुन्न र हामीले कार्यनीतिक रूपमा अपनाएका नीतिहरूलाई पनि रणनीतिक रूपमा बुझ्ने गल्ती गर्नु हुन्छ । यो उहाँहरूको चिन्तनमा भएको गम्भीर कमजोरी हो । त्यही प्रकारको कमजोरीका कारणले कुनै कार्यनीति रणनीतिक अनुरूप नभएको कारणले त्यसको विरोध गर्न पुग्नु हुन्छ ।

नेकपा (क्रान्तिकारी माओवादी) ले संविधानसम्बन्धी जुन धारणा राख्ने गरेको छ, त्यसलाई हामीले वस्तुगत र सही मान्दैनौँ । हामीले यो संविधानलाई सैद्धान्तिक र रणनीतिक रूपले समर्थन गर्दैनौँ र त्यसलाई कार्यनीतिक अर्थमा नै समर्थन गरेका छौँ । हामीले यो संविधानलाई बुर्जुवा संविधानको रूपमा व्याख्या गरेको भए पनि वर्तमान परिस्थितिमा यसको महत्वलाई कम आँकलन गर्ने कुरालाई गलत मान्दछौँ । पहिलो कुरा त यो संविधान राजतन्त्रको अन्त्य र गणतन्त्रको युगको एक दस्तावेजको रूपमा रहेकाले यसको महत्व छ । दोश्रो, यो संविधान जनताद्वारा निर्वाचित प्रतिनिधिहरूद्वारा निर्माण गरिएको नेपालको पहिलो संविधान हो । तेस्रो, यो संविधानमा जनताको जीतको रूपमा गणतन्त्र, धर्म निरपेक्षता र समाजवाद उन्मुख समाज जस्ता विषयहरू पहिलो पटक दस्तावेजीकरण भएका छन् । हामीले संविधानको कार्यान्वयनमा जोड दिनाको अर्थ पनि यिनै विषयहरूलाई सुदृढ र संस्थागत विकास गर्ने कुरासित सम्बन्धित छ । त्यसैले संविधानमा राखिएको सङ्घीयता विरुद्ध हाम्रो पार्टीको सङ्घर्षको लामो र गौरवपूर्ण इतिहासका बाबजुद पनि यो संविधानलाई कार्यान्वयन गर्ने कुरामा हामीले जोड दिएका हौँ । तर यसको अर्थ हाम्रो सङ्घीयता विरोधी आन्दोलनलाई परित्याग गर्‍यौँ भन्ने होइन । उहाँहरूले संविधानका सकारात्मक पक्षहरूलाई पुरै अस्वीकार गर्नु हुन्छ र संविधानको खारेजी चाहनु हुन्छ । गोलमेच सम्मेलन गर्ने कुरालाई जोड दिएर जननिर्वाचित संविधान सभाको औचित्यलाई तल राख्नु हुन्छ । गोलमेच सम्मेलनमा उहाँहरूले देशका राजावादी, जातिवादी, पृथकतावादी र प्रतिक्रियावादी शक्तिहरू र अहिले प्रतिक्रियावादी शक्तिको रूपमा व्याख्या गरिएको नेकपा र त्यसको जनमतलाई समेत सामेल गर्नु हुन्छ वा हुँदैन ? त्यस विषयमा उहाँहरूको कुनै दृष्टिकोण रहेको छैन । जहाँसम्म क्रान्तिकारी संविधान बनाउने कुरा हो, त्यो उहाँहरूले यो व्यवस्थाभित्र बनाउन खोज्नु भएको हो वा क्रान्तिको विजयपछि ? यसरी कार्यनीतिक रूपमा अपनाउनु पर्ने विषयप्रति उहाँहरूमा रहेको अन्यौलता र अस्पष्टता तथा रणनीतिक विषयहरूलाई कार्यनीतिक रूपमा राख्ने पद्दतिका कारण उहाँहरू र हाम्राबीचमा मतभेदहरू जटिल बन्न गएका छन् ।

का. रामसिंहको आरोप छ कि हाम्रो पार्टीको सातौँ महाधिवेशनले तय गरेका राजनीतिक शक्तिहरूको विश्लेषणबाट मसालपछि हटेको छ । हाम्रो पार्टी आठौँ महाधिवेशनको दौरानमा अघि बढेको अवस्था छ । यसबेला राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिमा कैँयौँ फेरबदलहरू आएका छन् । बदलिएका अवस्थाहरू ठोस विश्लेषण गर्दै अगाडि बढ्नु क्रान्तिकारीहरूको जिम्मेवारी हुन्छ । हामीले तत्कालीन एमाले, माओवादी, ने.का. आदिबारे गरेको विश्लेषण अबको गणतान्त्रिक परिवेशमा कसरी गर्ने भन्ने प्रश्न पनि पैदा हुन सक्ला । तर त्यो कुरा सम्बन्धित राजनीतिक शक्तिको वर्गीय चरित्रका आधारमा नै व्याख्या हुने गर्दछ । उनीहरूलाई जुनसुकै वर्गीय शक्तिको रूपमा स्वीकार गरिए पनि देशको आवश्यकता र परिस्थिति अनुसार कार्यगत एकताको ढोका बन्द गर्ने नीति हिजो थिएन, आज छैन र भविष्यमा पनि हुने छैन । दुई वटा महाधिवेशनका बीचमा आधारभूत नीतिहरूको प्रश्नमा पहिलेको महाधिवेशनले गरेका नीतिहरूलाई नै अपनाउनु पर्ने आवश्यकता हुन्छ । तर कार्यनीतिक प्रश्नहरूमा आवश्यकता अनुसार परिवर्तन गर्दै जान सकिन्छ । आठौँ महाधिवेशनले पार्टीका न्यूनतम कार्यक्रम र विधान तथा सातौँ महाधिवेशनले गरेका निर्णयहरूमा पनि परिवर्तन गर्न सक्ने छ । त्यो परिवर्तन कस्तो हुने छ ? अहिले भन्न सकिने कुरा होइन ।

का. ऋषि कट्टेलको स्टाटसका बारेमा

का. ऋषि कट्टेलले एउटा स्टाटसमा जुन विचारहरू प्रकट गर्नु भएको छ, त्यो देखेर हामीलाई धेरै नै आश्चर्य र दुःख पनि लागेको छ । त्यो वास्तवमा गालीगलौज झुटको खेती र चरित्र हत्याको राजनीति पनि हो । के त्यो उहाँको वास्तविक स्तर नै हो ? अहिलेसम्म हामीलाई त्यो कुरा थाहा थिएन । त्यस सिलसिलामा उहाँ कतिसम्म तल्लो स्तरमा उत्रिनु भएको छ, त्यो कुरा उहाँले बुटुवल र काठमाडाँैको भवनबारे प्रकट गरेको विचारबाट थाहा हुन्छ ।

उहाँले लेख्नु भएको छ : “हालैका वर्षहरूमा केही वर्षमा नै केसीको पार्टीले काठमाडाँैमा करोडौँको घर किनेको छ । बुटवलमा करोडौँको भवन बनाएको छ । फटाफट यति गर्न काङ्ग्रेस र र एमालेलाई पनि धौ धौ पर्दछ । कहाँबाट आएको छ यो पैसा ? एक÷दुई जना सांसदको श्रोतबाट सम्भव छ ?…..एकाएक कसरी जम्मा भयो करोडौँ रूपियाँ ? एकातिर, केसीजी बातैपिच्छे करोडौँको कुरा गर्ने। अर्कातिर, उहाँको पार्टीको करडौँको सम्पत्ति जम्मा हुने । यो संयोग मात्र हो कि चिल देखाएर कुखुरा टप्काउने छट्टु स्यालको तरिका हो । प्रश्न खडा भएको छ ।”

उहाँले अगाडि लेख्नु हुन्छ : “पेरिसडाँडाको भवनबारे चर्चा हुँदा बुटवल र कपनका भवनहरूबारे पनि प्रश्न उठ्नु कुन ठुलो कुरा हो र ? अझ मत भन्छु, राज्यका निकायहरूले यिनका श्रोतहरूबारे खोजबिन गर्नु पर्दछ ।”

बुटवल र काठमाडौँको भवनहरूबारे वा तिनीहरूको आम्दानीको श्रोतबारे खोजबिन गर्ने कुरामा हाम्रो कुनै आपत्ति छैन । नेपाल र संसारभरिका नेपालीहरूले त्यसका लागि सहयोग गरेका छन् । त्यो सबै हिसाबको विवरण हामीसित छ । बुटवल र काठमाडाँका भवनहरूको निर्माण वा किन्नका लागि सहयोग गर्ने चन्दादाताहरूको नामावली भित्तामा लेख्नका लागि हामीले तयार गरिरहेका छौँ । त्यति मात्र होइन, भूकम्प पीडित, बाढीपीडित र आगलागी समेतका लागि हामीले करिब ७५ लाख रकम जुटाएका छौँ । त्ये सबै आएर वितरण समेतको खर्च समेत लेखेर हामीले एउटा पुस्तिका पनि छिट्टै प्रकाशित गर्ने छौँ । राष्ट्रिय जनमोर्चाको हिसाबमा भएको त्यस प्रकारको पारदर्शिताको सन्दर्भमा का. कट्टेलले जुन आक्षेपहरू लगाउनु भएको छ, त्यसबाट नेपाल र संसारभरका हजारौँ नेपालीहरूको अगाडि उहाँको कुन प्रकारको स्तर रहेछ ? त्यसमाथि स्वयम् उहाँले प्रकाश हाल्नु भएको छ ।

राजनीतिक प्रश्नहरूको सन्दर्भमा उहाँले लेख्नु भएको छ : “जहाँसम्म उहाँको पार्टीको सङ्घीयता विरोधी अभियानको प्रश्न छ, यो पनि अनैतिक काम हो ।” उहाँको यस पूकारको विचारबारे हामीलाई केही भन्नु छैन ।

उहाँले अगाडि लेख्नु भएको छ : “हामी नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी माओवादी र विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीले यो संविधानलाई प्रतिगामी भन्यौँ । स्वीकार गरेनौँ । तर मसाल संविधान निर्माणमा सहभागी मात्र छैन, त्यसको कार्यान्वयन नै उसको कार्यनीति हो । यसैको स्वरूप उसले तिनै तहको निर्वाचनमा भाग लिएको छ । प्रदेश र सङ्घमा उसका सांसद छन् ।” उहाँको उपर्युक्त भनाइबारे हामीलाई थप भन्नु केही छैन । तर एउटा कुरा उहाँलाई हामी सम्झाउन चाहन्छौँ : उक्त तीन तहको चुनावमा क्रान्तिकारी माओवादीले पनि भाग लिएको थियो र बागलुङका एकाध वडामा उहाँहरूले विजय पनि प्राप्त गर्नु भएको थियो । त्यसबारे उहाँलाई केही भन्नु छ कि ?

आफनो स्टाटसमा उहाँले यो पनि लेख्नु भएको छ : “मन्त्री हुन पाइन्छ कि भनेर मोहनजी जस्तो घागडान नेता प्रचण्ड निवासमा धाएको पत्रपत्रिकाले सार्वजनिक गरेकै हुन् ।”

उक्त समाचार सार्वजनिक गरेको सत्य हो तर त्यसका साथै सत्य यो हो कि का. मोहन विक्रमले अहिलेसम्म दुर्गालाई मन्त्री बनाउनका लागि प्रचण्ड ओली वा कुनै पनि नेतासँग भेटघाट वा कुराकानी गर्नु भएको छैन । त्यसकारण समाचारमा जे लेखियो, त्यो असत्य हो । त्यही असत्यलाई बोकेर का. कट्टेल हिड्नु भएको छ । शायद त्यसले चरित्रसित मेल खान्छ । त्यसैले उहाँले त्यसो गर्नु भएको छ ।

 

लेखक रामप्रकाश पुरी नेपाल कम्युनिष्ट पार्टी (मसाल)का केन्द्रीय प्रवक्ता हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार