निर्मलाका बाआमासँग प्रधानमन्त्री ओलीले यसो भने

  पहिलोपेज

 361 पटक हेरिएको

अपराधी जुनसुकै ओहोदाको भए पनि कारवाही हुन्छ : प्रम

काठमाडौँ, १ असोज । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बुवा र आमाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन् । भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कार र हत्याका घटनामा संलग्न अपराधी जुनसुकै ओहदाको भए पनि कडा कारवाही गरिनेमा विश्वस्त हुन पीडित परिवारसँग आग्रह गरेका छन् ।

घटनाको अनुसन्धान छिटो गरेर दोषीमाथि कारवाहीको माग गर्न निर्मलाका बुवाआमा प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । निर्मलाका बुबाआमासहित प्रदेश नं ७ का सांसदसँगको भेटमा प्रधानमन्त्री ओलीले धन, बल, दल वा ओहदा कुनै हिसाबले शक्तिशाली भए पनि दोषी उम्कन नसक्ने बताए ।

प्रधानमन्त्री ओलीले घटना मानवतामाथिकै कलङ्क र जघन्य अपराधको भएकाले कडाइका साथ छानबिन र निर्ममताका साथ कारवाही गर्न आफूले शुरुदेखि गृह मन्त्रालयलाई निर्देशन दिएको जानकारी गराउँदै जिल्लास्थित तत्कालीन सुरक्षा अधिकारीको छानबिन र गतिविधि सन्दिग्ध भएकाले निलम्बनसमेत गरिएको बताए । उनले पछिल्लो समयमा प्रहरी नायब महानिरीक्षकको संयोजकत्वमा शक्तिशाली छानबिन समिति गठन गरिएको जानकारी पनि दिए ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “प्रारम्भिक छानबिनमा त्यहाँका प्रहरीको भर पर्दा दोषी पत्ता लगाउने काममा ढिलाइ भयो । प्रहरीका अधिकृतले गल्ती वा बदमासी गरेका हुन सक्छन् तर अनुसन्धान पूरा नभईकन आरोप लगाइहाल्न मिल्दैन । त्यसैले राज्यले छानबिन गर्छ । कुनै जुलुस र धर्ना नभए पनि राज्यले कानूनी कारवाही गर्छ । दोषीलाई बचाउने कुरा सोच्न पनि सकिन्न ।”

प्रधानमन्त्री ओलीले यस्ता आपराधिक घटना र मनोवृत्तिलाई सामान्य रुपमा लिन नहुने बताउँदै कुनै पनि हालतमा अपराधीले छुट नपाउने बताए । कञ्चनपुरमा गत साउन १० गते निर्मलाको शव उखुबारीको पानीमा भेटिएको थियो । निर्मलाकी आमा दुर्गामायाले अपराध लुकाउन प्रमाण नष्ट गरिएको र ६० दिन बित्न लाग्दा पनि दोषीमाथि कारवाही नभएकाले बाध्य भएर प्रधानमन्त्रीसँग न्याय माग्न आएको गुनासो गरिन् ।

नेपाल कम्युनिष्ट पार्टीका नेता भीमबहादुर रावलले अपराधीलाई कानूनको कठघरामा ल्याउन सरकारले कुनै कदम बाँकी राख्न नहुने बताए । नेपाली कांग्रेसका नेता नारायणप्रकाश साउदले कञ्चनपुरवासीलाई न्याय दिन र त्यहाँको वातावरण शान्तिपूर्ण बनाउन प्रमुख प्रतिपक्षलगायत सबै दल लागिरहेकाले सरकारले दोषी पत्ता लगाई कारवाही गर्नुपर्ने माग गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार