भारतीय सेना प्रमुखले गरे हेपाहा टिप्पणी :नेपाल र भुटान भारततर्फ ढल्किनुको विकल्प छैन

  पहिलोपेज

 328 पटक हेरिएको

काठमाडौं, १ असोज । भारतीय सेनाका प्रमुख विपीन रावतले नेपाल र भुटानप्रति हेपाहा टिप्पणी गरेका छन् । उनले नेपाल र भुटानजस्ता मुलुकहरु भारततर्फ ढल्किनुको विकल्प नभएको बताएका छन् ।

भारतीय सेना प्रमुख रावतले भारतसँगको भौगोलिक निकटताका कारण नेपाल र भुटानले भारतलाई नजरअन्दाज गर्न नसक्ने बताएको भारतको इन्डियन एक्सप्रेस पत्रिकाको अनलाइन संस्करणले जनाएको छ । दुबै मुलुकका लागि चीनसँगको झुकाव भौगोलिक कारणले अनुकूल नरहेको उनले बताएका छन् । सेप्टेम्बर १० देखि भारतको पुणेमा भएको बिम्स्टेक राष्ट्रहरूको संयुक्त सैन्य अभ्यासपछि मिडियासँग बोल्दै रावतले नेपाल र भारतले भौगोलिक कारणले गर्दा भारतसँग निकट भइरहनुपर्ने बाध्यता रहेको बताएका हुन् ।

“उनीहरूले सम्बन्ध तोड्न सक्दैनन् । नेपाल र भुटानजस्ता देश स्वभाविक रुपमा भौगोलिक कारणले भारतसँग निर्भर छन्”, संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी नभएको विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै सेना प्रमुख रावतले भनेका छन्, “भूगोल भारत अनुकूल छ न कि चीनतर्फ ।” रावतले भारतीय राजनीतिक नेतृत्वले “छिमेक पहिला” को नीति लिएको र बिम्स्टेक त्यही नीतिको सफलताका लागि भएको बताए । “हामी हाम्रा छिमेकीहरूसँग सम्बन्ध सुदृढ गरिरहेका छौँ । हामी ठूलो देश हौँ, यदि हामीले त्यसको नेतृत्व लियौँ भने अरुले पनि त्यसलाई पछ्याउँछन् ।”

बिम्स्टेकका ७ सदस्य राष्ट्रमध्ये भारत, भुटान, म्यानमार, श्रीलंका र बंगलादेशका सैनिकहरू स्थल सैन्य अभ्यासमा सहभागी छन् । नेपाल र थाइल्यान्डले भने पर्यवेक्षक मात्र पठाएका छन् । सेना प्रमुख रावतले प्रतिआतंकवादका लागि सदस्य राष्ट्रहरूबीच यस्ता सैन्य अभ्यासहरू जारी रहने बताए । यद्यपि उनले यस्ता सैन्य अभ्यास भारतमा मात्र गर्ने वा अन्य देशमा पनि भन्ने निर्णय हुन बाँकी रहेको बताए ।

बिम्स्टेक राष्ट्रबीचको संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी भएन । नेपालको सहभागितालाई लिएर विवाद उत्पन्न भएपछि प्रधानमन्त्री केपी ओलीले सैन्य अभ्यासमा नजान नेपाली सेनालाई निर्देशन दिएका थिए । भदौ २५ देखि ३१ गतेसम्म भारतको पुणेमा संयुक्त सैन्य अभ्यास भएको हो । प्राविधिक र आर्थिक सहायताका लागि बनेको संगठनभित्र सैन्य अभ्यासको विषयले प्रवेश पाउनु असान्दर्भिक भएको भन्दै आलोचना हुँदै आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार