सरकार सञ्चालकहरु “नचिनेका विष्ट” होइनन्, यो बादलले पानी पार्लाजस्तो छैन : चित्रबहादुर केसी

  पहिलोपेज

 300 पटक हेरिएको

काठमाडौं, १ असोज । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको कडा आलोचना गरेका छन् । प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष केसीले भने, “सरकार सञ्चालकहरु नचिनेका विष्ट होइनन् । यो बादलले पानी पार्लाजस्तो छैन ।”

दुईतिहाइको शक्तिशाली सरकारबाट जनताले निकै ठूलो आशा गरेको उल्लेख गर्दै अध्यक्ष केसीले अब बाम सरकार असफलताको दिशामा भएको टिप्पणी गरे । “वामपन्थीहरुको सरकार हात्ती आयो हात्ती आयो फुस्सा” भनेजस्तै भएको बताउँदै नेता केसीले रेमिट्यान्सले मात्रै संघीयता चल्न नसक्ने बताए ।

नेता केसीले बलात्कारी, हत्याराहरु समात्न नसकेको बताउँदै थपे, “दिनहुँ नयाँ नयाँ समिति बनाउँदै नयाँ लुगा फेरेर छानविनको नाममा कञ्चनपुर गइरहेका छन् । तर उपलव्धि शून्य छ ।” महंगी, भ्रष्टाचार, हिंसा न्युनीकरण नभएको बताउँदै अध्यक्ष केसीले थपे, “अपराधी, तस्कर उम्काइएको छ । अब यो सरकारबाट जनताले अब के आशा गर्ने ?” सरकारले समयमै कार्यशैली नबदले जनताले सरकारको बिकल्प खोज्ने बताए । “काम गर्न कसले रोकेको छ ? सातैवटा सरकारमा त्यत्रो बहुमत छ । माफिया, तस्कर, ठेकेदारको घेरा तोड्न पनि सरकारले सकेन ।”

उनले सरकारप्रति ब्यङ्ग्य गर्दै पुरानै अनुहार सरकारमा भएकाले परिवर्तनको आशा नभएको बताए । उनले भने, “सरकार सञ्चालकहरु ‘नचिनेका बिष्ट’ होइनन् ।” सरकारलाइ समयमै गम्भीर र सचेत बन्न आग्रह गर्दै केसीले थपे, “यदि जनताले यो बादलबाट पानी नपर्ने भो भने सडकमा ओर्लिए भने के हुन्छ ?”

जनताले अब संघीयताको आवश्यकता नरहेको महसुस गरिसकेको दावी गर्दै नेता केसीले भने “संघीयता कर बढाएर मात्रै सफल हुन्न र जनतालाई करको भारी, कुशासनको बिगबिगी छ । सरकारको हालत य्रस्तो छ । अब चाँडो भन्दा चाँडो संघीयता खारेजीको बिकल्पै छैन ।” अहिलेसम्म आफ्नो पार्टीले मात्रै संघीयताको विरोधमा अडान लिँदै आएको भएपनि अब जनताले समेत संघीयता आवश्यक नभएको महसुस गरेकाले अब यो एजेण्डाले जित्ने ठोकुवा गरे ।

“पहिले जनता खोज्दै जानुपथ्र्यो । अहिले जनताले राष्ट्रिय जनमोर्चा र चित्रबहादुर खोज्दै आउन थाले”, अध्यक्ष केसीले संघीयता खारेजीको माग गर्दै संसदमा संसोधन दर्ता गराउने तयारी आफ्नो पार्टीले गरेको जानकारी पनि दिए । “सबै तयारी सकिएको छ । केही दिनमै संशोधन दर्ता गरिने छ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार