सौर्य एयरलाइन्सको जहाजमा चरा ठोक्कियो

  पहिलोपेज

 355 पटक हेरिएको


काठमाडौं, १ असोज । चार चालकसहित ४८ यात्रुसहितको सौर्यको जहाजमा आज चरा ठोक्किएको छ ।

काठमाडौंबाट विराटनगरका लागि उडेको सौर्य एयरलाइन्सको जहाजमा चरा ठोक्किएको हो । ९ एनएएमइ कल साइन भएको उक्त जहाजको बायाँ इन्जिनमा चरा ठोक्किएपछि बायाँ इन्जिनभित्रको दुई ब्लेडमा क्षति पुगेको छ । जहाज मर्मत गरेपछि मात्रै उड्ने हुने त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले बताएका छन् । सोमबार बिहान पौने ९ बजे काठमाडौं विमानस्थलबाट उड्ने क्रममा चरा ठोक्किएको हो ।

पाइलटले उड्ने क्रममा केही ठोक्किएको जस्तो महसुस गरे पनि सामान्य भन्दै जहाज विराटनगर उडाएका थिए । जहाज अभिषेक राईले उडाएका थिए । बीच मार्गमा पुगेपछि जहाज थर्थराउन थालेपछि पाइलटले विराटनगर एयरपोर्टमा आपतकालीन अवतरणको लागि खबर गरेका थिए ।

नागरिक उड्ययन प्राधिकरण क्षेत्रीय कार्यालयका निमित्त प्रमुख सन्तोष ढकालका अनुसार पाइलटले शुरुमा चरा ठोक्कियो भनेर ‘सस्पेक्ट’ मात्रै भएको र बीचमा डाउट भयो भनेर विराटनगर विमानस्थलमा जानकारी गराएका थिए । ढकालले भने, ‘पाइलटले काठमाडौं विमानस्थलमा नै चरा ठोक्किएको हो कि हैन भनेर कन्फर्म नभएकोले उडानलाई निरन्तरता दिएको बताए । बाटोमा इन्डिकेसन समस्या आएपछि विराटनगरमा ल्याण्ड गरियो ।’

जहाज विराटनगर विमानस्थलमा ग्राउण्डेड भएको छ । जहाजलाई नागरिक उड्ड्यन प्राधिकरणका प्राविधिकले जाँच गरिरहेको जनाइएको छ । आज बिहान विमनस्थलमा वरपर चराको गतिविधि बढेपछि इस्तानबुलका लागि उड्नुपर्ने टर्किस एयरलाइन्सको जहाज पनि करीव डेढ घण्टा डिले भएको थियो ।

टर्किस समय तालकाअनुसार बिहान ७ : ३५मा उड्नुपर्ने जहाज ९ बजेर ७ मिनेटमा मात्रै उडेको थियो । धावन मार्गमा केही अवरोध आएपछि विमानस्थलले नोटम (हवाइकर्मीका लागि सूचना) जारी गर्नुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार