भीमगिठेमा पहिरोले पुरिएर एक महिलाको मृत्यु, अरु पनि पुरिएको आशंका

  पहिलोपेज

 357 पटक हेरिएको

काठमाडौं, १ असोज । मध्यपहाडी लोकमार्गअन्तर्गत बडीगाड गाउँपालिका भीमगिठे र ढोरपाटन नगरपालिका बुर्तिवाङको सीमानामा पर्ने तुरतुरेस्थित ठूलो भर्याङमा पहिरो जाँदा अर्घाखाँचीकी ३५ वर्षीया बिबिरन खातुनको मृत्यु भएको छ । प्रहरीका अनुसार ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा व्यवसाय गर्ने खातुन अर्घाखाँचीतर्फ आउँदै गर्दा पहिरोमा पुरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

शुक्रबार रातिदेखि खस्न थालेको पहिरो अहिले पनि खसिरहेको छ । सडकको विकल्प नभएकाले मानिसहरु पहिरो खसेको ठाउँबाटै बुर्तिबाङदेखि भीमगिठेसम्म आवतजावत गरिरहेका छन् ।

खातुनको शव प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा राखिएको छ । सडक पार गर्दा अरु पैदलयात्रीहरु समेत पुरिएको आशंकामा खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक ओमप्रकाश यादवले जानकारी दिए । पहिरो पार गर्दै गरेकी खातुनसँगै अरु पनि पुरिएको हुनसक्ने आशंका गरिएको छ । पहिरो खसेको ठाउँमा महिलाको खुट्टा देखिएपछि खोजी गरिएको थियो । अरु धेरै मानिसहरु आवतजावत गरिरहेको बताउँदै यादवले भने, “ठूलो पहिरो खसिरहेको छ । तत्कालै थप जानकारी आउन सक्ने अबस्था छैन ।”

पहिरोले झण्डै सात घण्टासम्म बडीगाड खोला थुनिएको थियो । ठूलो ताल बनेको अवस्थामा शनिबार बिहान खोला ओभरफ्लो भएर बग्न थालेको थियो । मध्यपहाडी लोकमार्ग भन्दा करिब ५ सय मिटर माथिबाट पहाडै खसेर अहिले लोकमार्ग नै ठप्प छ । सडक अवरुद्ध भएसँगै बुर्तिबाङ हुँदै बाहिर जाने यातायातका साधन बन्द छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार