निर्मला बलात्कार/हत्या प्रकरण झनै रहस्यमयः फेरि बन्यो अर्को छानविन समिति

  पहिलोपेज

 410 पटक हेरिएको

काठमाडौं, ३१ भदौ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना झनपछि झन रहस्यमय बन्दै गएको छ । यसअघि गठन गरिएका छानविन समिति तथा उच्चस्तरीय छानविन समितिपछि फेरि डीआइजी धीरु बस्न्यातको नेतृत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

नेपाल प्रहरीले डीआईजी धीरु बस्न्यातको नेतृत्वमा गठन गरेको ९ सदस्यीय समिति भदौ १४ मा गठित एसएसपी उत्तम सुवेदी नेतृत्वको समितिलाई विस्तार गरिएको बताइएको छ । विस्तारित समितिमा प्रहरी मुख्यालयले निर्मला प्रकरणको छानबिनको जिम्मेवारी डीआईजी बस्न्यातलाई सुम्पेको हो ।

शक्तिशाली भनिएको यस छानबिन समितिमा यसअघि गठित समितिका संयोजक एसएसपी उत्तम सुवेदी र अर्का एसएसपी नरेश शाही सदस्य छन् । नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाका अनुसार समितिमा सीबीआर र पोलिग्राफ टेस्ट गर्नसक्ने विज्ञ प्रहरी अधिकृतहरुलाई पनि सदस्य तोकिएको छ ।

“निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई पत्ता लगाउन अनुसन्धानको दायरा अझै फराकिलो बनाउनु जरुरी थियो”, प्रहरी प्रवक्ता थापाले थपे, “पहिले एकजना एसपी मात्रै निलम्बनमा थिए । हिजो दुई डीएसपीसहित अन्य पाँचजना अधिकृत पनि निलम्बनमा परेका छन् । त्यसकारण छानबिनलाई प्रभावकारी बनाउन यसो गरिएको हो ।”

निर्मला पन्तको हत्या भएको ५३ दिन बितिसक्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन । बलात्कारी तथा हत्यारा पत्ता लगाउन सरकारमाथि देशव्यापी दबाब बढिरहेको बेला प्रहरी प्रधान कार्यालयले सम्पूर्ण अधिकारसहित डीआईजीलाई छानबिनको जिम्मा सुम्पिएको हो । थापाका अनुसार निर्मला हत्यामा संलग्न भएको भन्दै एसपी डिल्लीराज विष्टसहितले मुख्य अभियुक्त बनाएका दिलीपसिंह विष्ट र अर्का युवा चक्र बडूको डीएनए रिपोर्ट नेगेटिभ आएको सन्दर्भमा अपराधी पत्ता लगाउने सबै विधि यो समितिलले प्रयोग गर्नेछ ।

यो समितिले निलम्बनमा परेका सबै प्रहरी अधिकृतसँग बयान लिनेछ । बयानमा उनीहरुका कुरा सही या गलत भएको पत्ता लगाउने विकसित प्रविधि समेत यो समितिले प्रयोग गर्ने बताइएको छ । प्रवक्ता थापाका अनुसार गहन अनुसन्धानका लागि यो समितिले सीबीआर र पोलिग्राफ टेस्ट पनि गर्नेछ । थापाका अनुसार ९ सदस्यीय समितिमा आपराधिक घटनामा गहन अनुसन्धान गर्दै आएका अधिकृतहरु छन् । “यो समितिलाई विज्ञ प्रहरीको टोली भन्दा पनि हुन्छ”, प्रवक्ता थापाले भने, “हामीमाथिको यो गम्भीर चुनौतीलाई पार लगाउने गरी समितिले काम थालिसकेको छ ।” निर्मला हत्याकाण्डपछि घटना ढाकछोपमा संलग्न भएका प्रहरी अधिकृतलाई कारबाहीका लागि समेत यो समितिले सिफारिस गर्नेछ ।

घटना छानबिन गर्न गृह मन्त्रालायले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पनि उच्चस्तरीय समिति बनाएको थियो । मैनालीको नेतृत्वको समितिले निर्मला प्रकरणमा प्रहरीबाट गम्भीर लापरबाही भएको र अनुसन्धान पनि फितलो भएको भन्दै नयाँ शिराबाट अनुसन्धान गरिनुपर्ने सिफारिस गृहमन्त्रीसमक्ष गरिसकेको छ ।

गत साउन १० गते घरबाट साथीकहाँ हिँडेकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्त साउन ११ गते मृत अवस्थामा उखुबारीमा भेटिएकी थिइन् । उनको बलात्कारपछि हत्या भएको पुष्टि डीएनए परीक्षणबाट भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार