पत्रकार राजु बस्नेत साधारण तारेखमा रिहा

  पहिलोपेज

 233 पटक हेरिएको


विद्युतीय अपराध मुद्दामा प्रहरीले हिरासतमा लिएका खोजतलास साप्ताहिक र खोजतलास डटकमका प्रधानसम्पादकलाई रिहा गर्न अदालतले आदेश दिएको छ ।

शुक्रबार काठमाडौं जिल्ला अदालतले बस्नेतलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

बस्नेतले बयानमा आफूले समाचार अन्तैबाट सारेको र त्यसको खण्डन पनि छापिसकेको हुनाले विद्युतीय अपराधमा आफूलाई कारबाही हुन नहुने बताएका थिए । न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलासले उनको मुद्दामा प्रेस काउन्सिलले पनि कारबाही गर्न सक्ने भन्दै उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

‘अदालतले छोड्न भनिसक्यो तर प्रहरीले जाउलाखेल लगेर मेडिकल गर्नुपर्छ भनेका छन्,’ बस्नेतकी पत्नी रमिता बस्नेतले भनिन् । ललितपुर प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले उनका सामान दिन ललितपुर ल्याइएको र अहिले छोडिसकिएको जानकारी दिए ।

खोजतलास साप्ताहिक र खोजतलासडटकमले दृष्टि साप्ताहिकमा प्रकाशित ‘हरिसिद्दि को जग्गा गैरकानुनी रूपमा बिक्री गर्न सांसदहरूकै दबाब’ शीर्षकको समाचार साभार गरेको थियो । दृष्टिमा उक्त समाचार ‘जनप्रतिनिधि कि जग्गा दलाल’ शीर्षक छापिएको थियो । समाचार नेकपाकी सांसद पम्फा भुषाललगायत हरिसिद्दि इँटा उद्योगको जग्गा व्यक्तिको नाममा नामसारी गर्न दबाब दिएको उल्लेख छ ।

सो समाचारले आफ्नो चरित्र हत्या भएको भन्दै सुशील खनालले बस्नेतविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा हालेका थिए । अदालतले उनलाई पक्रन आदेश दिएपछि सोमबार प्रहरीले बस्नेतलाई हिरासतमा लिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार