यस्ता छन् नेकपाका प्रदेश इन्चार्ज र अध्यक्षका सम्भावित नामहरु

  पहिलोपेज

 341 पटक हेरिएको


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबारदेखि सचिवालय बैठक जारी छ ।

बैठकले पार्टी एकतालाई तार्किक निष्कर्षमा पु¥याउने गरी छलफललाई अगाडि बढाइएको छ । बैठकबाट प्रदेश नेतृत्व चयन समेत हुने देखिएको छ । एकजना सचिवालय सदस्यका अनुसार आजका बैठकमा प्रदेशका इन्चार्ज र अध्यक्षको विषयमा छलफल हुनेछ ।

नेकपाको बैठकले क–कसलाई कुन प्रदेशको इन्चार्ज वा अध्यक्ष बनाउँलान् ? हामीले केही सम्भावित नाम उतारेका छौँ ।

 

प्रदेश १
हाल विभिन्न तहमा चलिरहेको छलफल अनुसार प्रदेश १ को अध्यक्ष बन्न तत्कालीन एमालेका नेताहरुले दौडधुप थालेका छन् । माओवादीले अध्यक्षको दावी नगरेको यो प्रदेशमा एमालेका मात्रै आधा दर्जनभन्दा बढीले आकांक्षा राखेका छन् । विश्वस्त स्रोतका अनुसार यो प्रदेशको अध्यक्षका लागि तत्कालीन एमाले नेता जगन्नाथ खतिवडा, नरेश खरेल, घनेन्द्र बस्नेत, देवराज घिमिरे, राजेन्द्र राई, राजेन्द्र गौतमले बलियो दावी राखेका छन् । यी मध्ये को अध्यक्ष बन्ने हुन् भन्ने टुंगो भने लागेको छैन ।

यो प्रदेशको इन्चार्जमा भीम आचार्य र राम कार्कीमध्ये एक हुने बताइन्छ ।

 

प्रदेश २
प्रदेश नम्बर २ को अध्यक्षमा तत्कालीन एमालेले दावी गरेको छैन । त्यसो हुँदा यो प्रदेशको नेतृत्व तत्कालीन माओवादीबाट सम्हाल्ने छ । माओवादीबाट अध्यक्षमा विश्वनाथ साह, प्रभु साह र अजयशंकर नायकले दावी राखेका छन् । दावेदारमध्ये विश्वनाथ र प्रभु प्रदेश एकीकरण कार्यदलमा समेत छन् भने नायक पूर्वकानुनमन्त्री हुन् ।

यो प्रदेशको इन्चार्जमा सत्यनानारायण मण्डलको सम्भावना छ ।

 

प्रदेश ३
प्रदेश ३ को अध्यक्ष तत्कालीन एमालेलाई दिने नेकपाको शीर्ष तहमा सहमति भइसकेको छ । त्यसैले यो प्रदेशको अध्यक्ष निवर्तमान कानुनमन्त्री शेरवहादुर तामाङ बन्ने प्रबल सम्भावना छ । नेकपा एमालेबाट दुई पटक केन्द्रीय सदस्य भइसकेका तामाङ अध्यक्ष बन्ने सम्भावना प्रबल रहेको स्रोत बताउँछ । त्यस्तै उनीसँगै काशिनाथ अधिकारी, कृष्णगोपाल श्रेष्ठदेखि आनन्द पोखरेल लगायतले पनि दावी राखेका छन् ।

एमालेले नेतृत्व चयनमा विवाद भएको खण्डमा तत्कालिन माओवादीका नेताहरु हितमान शाक्य, नारायण दाहाल, हितबहादुर तामागमध्येबाट अध्यक्ष बन्न सक्ने बताइन्छ ।

प्रदेश ३ को इन्चार्ज भने अष्टलक्ष्मी शाक्य, अग्नि सापकोटा, हरिबोल गजुरेल, रघुजी पन्त लगायतमध्येबाट तोकिने सम्भावना छ ।

 

प्रदेश ४
प्रदेश ४ को अध्यक्षमा माओवादीबाट हरि अधिकारी हुने सम्भावना प्रबल छ । प्रदेश ४ माओवादीले पाउने शीर्ष तहको सहमति छ । उनी गोरखाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पनि हुन् । यदि माओवादीबाट अध्यक्ष नपाएको खण्डमा तत्कालिन एमालेका खगराज अधिकारी, तुलबहादुर गुरुङमध्येबाट अध्यक्ष बन्नेछन् ।

प्रदेश ४ को इन्चार्जमा किरण गुरुङ र देवेन्द्र पौडेलमध्ये एक हुने सम्भावना छ ।

 

प्रदेश ६ अर्थात कर्णाली प्रदेश
प्रदेश अध्यक्ष एमालेले पाउँदा यो प्रदेशको अध्यक्ष यमलाल कँडेल बन्ने प्रबल सम्भावना छ । तत्कालिन एमालेका पोलिटव्युरो सदस्य तथा कर्णाली प्रदेश सहसंयोजक कँडेल प्रदेश संसदीय दलको नेता पनि हुन् ।

यो प्रदेशबाट इन्चार्जमा जनार्दन शर्माको सम्भावना छ ।

 

प्रदेश ७
प्रदेश ७ ले अध्यक्ष र सचिवको नामसमेत सिफारिस गरेकाले सचिवालयले सोही अनुमोदन गर्ने सम्भावना छ । प्रदेश ७ को अध्यक्षमा तत्कालीन एमालेका कर्णबहादुर थापा र सचिवमा तत्कालीन माओवादीका लक्ष्मी जोशी सिफारिस भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार