निर्मला प्रकरण ः अनुसन्धानमा आबद्ध प्रहरीहरू नै छानबिनमा

  पहिलोपेज

 284 पटक हेरिएको

महेन्द्रनगर । निर्मला बलात्कारपछि हत्याको आरोपमा प्रहरी प्रकाउ गरेको दिलिपसिंह विष्टले बन्दुकको टुप्पोले घोचेर अपराध सकार्न लगाएको बताएका छन् । उनले नयाँ पत्रिका दैनिकका सरोजराज अधिकारीसँग भनेका छन् ।

‘म सधैँ महेन्द्रनगर बजार जान्छु  । तर, प्रहरीले मलाई पक्राउ गरेको बाटोबाट होइन, अर्को बाटोबाट । मलाई सादा पोसाकमा आएका तीन प्रहरीले पक्राउ गरे । मैले निर्मलालाई चिनेको पनि छैन ।

अहिलेसम्म अविवाहित छु, यौन चाहना भएको भए मैले विवाह गरिसक्थेँ । मलाई जुन दिन प्रहरीले पक्राउ गर्यो, त्यसैदिन दुईवटा कुर्सीको बीचमा च्यापेर अपराध सकार्न लगाए । मैले होइन भनेँ ।

मसँग त्यसदिन ३२ रूपैयाँ थियो । सिआइबीबाट आएको भन्ने प्रहरीले फकाउन थाले । २ सय रूपैयाँ पनि दिए । गाँजा, चरेसको व्यवस्था पनि गरिदिन्छु भने । ‘पेटभर खाना पाउँछस, कति दिन माग्दै हिँड्छस्’ भनेर फकाए । तर, गर्दै नगरेको अपराध मैले कसरी सकार्ने ? मेरोबारेमा सिंगो महेन्द्रनगर र मेरो गाउँमा गएर बुझ्दा हुन्छ । म त्यस्तो हराम गर्ने गरी बिग्रिसकेको छैन ।

म बागफाटामा बस्छु । त्यहाँ कसैलाई पनि सोध्नुहोस्, म नारीलाई कति सम्मान गर्छु ? मलाई काठमाडौं लगे । धेरै जाँच गरे । पाँचपटक त मेरो रगत लिए । पछि डाक्टरले सोधे, ‘धेरै कुरा नर्मल देखिएको छ, तिमीलाई अरू कुनै समस्या छ ?’ मैले भनेँ, ‘गाँजा वा चरेसको नसामा रहेका वेला म मान्छेहरूसँग कुरा गर्न डराउँछु । उनीहरूको प्रश्नको उत्तर दिन सक्दिनँ । त्यसवेला मलाई टाउको दुखेजस्तो हुन्छ । म एक्लै रमाउँछु, मानिसहरूको संगत गर्न नपरे हुन्थ्यो झैँ लाग्छ ।’

म महेन्द्रनगर बजारमा गएर मानिसहरूसँग पैसा माग्छु । एकजनासँग दश रुपैयाँभन्दा बढी कहिल्यै मागिनँ । कहिले सय त कहिले एक सय पचाससम्म कमाउँछु । त्यो पैसाले म थोरै रक्सी खान्छु । अनि एक चिलिम गाँजा खान्छु । मागेर पैसा नपाएको दिन गाँजाको चिलिम बनाउँछु, अर्को कसैले खान्छ र मलाई ५० रुपैयाँ दिन्छ ।

 

अनुसन्धानमा आबद्ध प्रहरीहरू छानबिनमा
गृह मन्त्रालयको छानबिन समितिसँगै प्रहरी प्रधान कार्यालयले निर्मला पन्त हत्याको घटनाको प्रारम्भिक अनुसन्धान गर्ने प्रहरीमाथि आन्तरिक छानबिन सुरु गरेको छ । निलम्बित एसपी डिल्लीराज विष्ट, डिएसपी ज्ञानबहादुर सेठी, इन्सपेक्टर एकेन्द्र खड्कामाथि छानबिन सुरु भएको हो । उनीहरूलाई ७ भदौमा जिम्मेवारीबाट हटाइएको थियो ।

त्यस्तै, अनुसन्धानमा खटिएको सिआइबी टोलीमाथि समेत छानबिन हुन लागेको हो । सो टिमले दिलीपसिंह विष्ट नै अभियुक्त भएको भन्दै पत्रकार सम्मेलन गरेको थियो । तर, नयाँ प्रहरी टोलीले अनुसन्धान गर्दा उनीहरूको घटनामा संलग्न नभेटेपछि विष्ट जिम्मा जमानीमा छुटिसकेका छन् ।

उनीहरूले नियतवश नै नक्कली अभियुक्त खडा गरेको हुन सक्ने देखिएपछि प्रहरी प्रधान कार्यालयले प्रहरीमाथि नै छानबिन थालेको हो । उजुरी छानबिन इकाइलाई यस सम्बन्धी जिम्मेवारी दिइएको छ । सो घटना अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीको गल्ती देखिए उनीहरूलाई कारबाही गरिने प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार