झण्डै ७० वर्षदेखि नेपालले साँचेको सुरुङ मार्गको सपना अब चाँडै विपना हुने

  पहिलोपेज

 511 पटक हेरिएको

काठमाडौं, २७ भदौ । झण्डै ७० वर्षदेखि नेपालले साँचेको सुरुङ मार्गको सपना अब चाँडै विपना हुने भएको छ । अबको ६ महिनाभित्रै चन्द्रागिरीको बलम्बु हुँदै नौविसेलाई जोड्ने गरी नौबिसे र नागढुंगाबीच सुरुङमार्ग निर्माण योजना तीब्र रुपमा अगाडि बढेको छ । येजना अनुसार काम अगाडि बढे सुरुङ मार्गबाट सरर यात्रा गर्न त्यति धेरै समय कुर्न नपर्ने भएको छ ।

सुरुङमार्ग निर्माण गर्न अहिलेसम्म विभिन्न ३५ वटा निर्माण कम्पनीले प्रस्ताव पेश गरिसकेका छन् ।

सडक विभाग अन्तर्गत वैदेशिक महाशाखाले यो सुरुङ निर्माण गर्न गरेको ग्लोबल टेण्डर (अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान) बमोजिम अहिले पनि निर्माण कम्पनीहरुको प्रस्ताव दर्ता हुने क्रम चलिरहेको जनाइएको छ ।

नागढुंगा नौविसे सुरुङमार्ग नाम दिईएको यो सुरुङ निर्माण गर्न सरकारले साउन २४ गते ग्लोबल टेण्डर आह्वान गरेको थियो ।

६० दिने ग्लोबल टेण्डरमा कम्पनीहरुले कार्तिक ३ गतेसम्म टेण्डर भर्न पाउँछन् । सडक विभाग अन्तर्गत वैदेशिक महाशाखाका ईन्जिनियर छविलाल पौडेलका अनुसार, त्यसपछि प्राप्त निर्माण कम्पनीहरुको प्रस्ताव जापान पठाइने छ । त्यहाँबाट प्रस्तावको मूल्यांकन गरेर २०१९ को जनवरीसम्ममा ठेकेदार छनोट गरिनेछ ।

छनोट गरिएको ठेकदारले ४२ महिना (साढे ३ वर्ष) भित्र सुरुङ निर्माण गरिसक्नु पर्ने शर्त ग्लोवल टेण्डरमा राखिएको छ ।

सन् २०१३ देखि शुरु भएको सुरुङ निर्माणको कुरा सन् २०१६ को डिसेम्बरमा जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)संग ऋण सम्झौता भएपछि मात्र यसको काम अघि बढेको हो । सम्झौता अनुसार, नेपाल सरकारलाई जाइकाले सुरुङ निर्माण गर्न ४० वर्षभित्र फिर्ता गर्ने गरी शून्य दशमलव १ प्रतिशत व्याजदरमा १६ अर्व ४६ करोड ९६ लाख ऋण दिएको छ । सुरुङमार्ग बनाउन करीब २० अर्व रुपैयाँ लाग्ने अनुमान छ । जाइकाको ऋणमा नपुग रकम नेपाल सरकारले लगानी गर्नेछ ।

 

मिल्यो मुआब्जा समस्या
सुरुङ मार्ग निर्माण गर्न काठमाडौं जिल्लामा पर्ने चन्द्रागिरी नगरपालिकाको सडक रुटमा पर्ने २६७ रोपनी जग्गाको मुआब्जा वितरण गर्ने काम अन्तिम चरणमा पुगेको छ । इन्जिनियर पौडेलले दिएको जानकारी अनुसार धादिङको १०९ रोपनी जग्गा अधिग्रहण गर्दा लाग्ने मुआब्जाको रकम पनि तयारी अवस्थामा छ । अब काठमाडौंका जग्गा धनीलाई मुआब्जा वितरण गर्ने काम सकिन लागेको छ ।

जग्गा अधिग्रहण गर्दा काठमाडौंमा जग्गाको मूल्यांकन न्यूनतम नौ लाख प्रतिआनादेखि बढीमा ४२ लाख रुपैयाँसम्म निर्धारण गरिएको छ । यो भाउ अनुसार त्रिभुवन राजपथसँग जोडिएको करीब १० आना जग्गाका जग्गा धनीले मात्रै प्रतिआना ४२ लाख रुपैयाँ पाएका छन् ।

बाँकी जग्गाको मूल्यांकन गर्दा मूल पक्की सडकले छोएकालाई प्रतिआना २१ लाख, अन्य सहायक सडकले छोएकालाई १९ लाख, कच्ची मोटर बाटोले छोएकालाई १७ लाख, गोरेटो बाटोले छोएकालाई १३ लाख र बाटोले नछोएको जग्गाको जग्गालाई ९ लाख रुपैयाँ प्रति आनाका दरले मुआब्जा दिएको छ ।

धादिङ तर्फका जग्गाका लागि भने मुआब्जा रकम तय गर्न बाँकी छ । सुरुङमार्ग बनाउन लाग्ने एक चौथाई रकम (करीब ४ अर्व) जग्गाको मुआब्जामा नै खर्च हुनेछ ।

सुरुङमार्गको डीपीआर अध्ययनका क्रममा नागढुंगा संघर्ष समितिले आफ्ना जग्गा मासिने र आफू घरबार विहीन हुने भन्दै बिरोध जनाएका थिए । तर सरकारले पर्याप्त मुआब्जाको व्यवस्था गरेपछि यो समस्या सुल्झेको थियो ।

 

यी ठाउँलाई छुन्छ सुरुङमार्गले

सुरुङमार्गको मुख नागढुंगाबाट केही पर दहचोकको टुटीपाखामा हुने जनाइएको छ । बलम्बुबाट टुटीपाखा पुग्न लगभग साढे दुई (२.३ किलोमिटर) सडक पार गर्नुपर्नेछ । यो सडकमा पस्न बलम्बुमा ओभरब्रिज पनि बन्नेछ ।

सुरुङमार्ग प्रयोग गर्ने गाडीहरु बलम्बुको ओभरब्रिजबाट दाहिने मोडिने छन् भने नागढुंगा हुँदै जाने गाडीहरुले अहिलेको त्रिभुवन राजपथलाई नै प्रयोग गर्नेछन् ।

बलम्बुमा बन्ने इस्टर्न एप्रोच रोड भनिएको ओभरब्रिजसहित २.३ किलोमिटर सडक जस्तै धादिङ जिल्लामा करीब आधा किलोमिटर (५ सय ६५ मिटर)को वेस्टर्न एप्रोच रोड बन्नेछ । नौविसेबाट काठमाडौ पस्ने गाडी धादिङको सिस्नेखोलामा बन्ने यही ५ सय ६५ मिटरको एप्रोच रोड भएर सुरुङमार्गमा प्रवेश गरि सरासर बलम्बु निस्कनेछन् । यसैगरि बलम्बुबाट टुटीपाखा हुँदै सुरुङमा पसेका गाडी धादिङको सिस्नेखोलामा निस्केर नौविसे जाने जनाइएको छ ।

नागढुंगाको टुटीपाखाबाट शुरु भई धादिङको सिस्नेखोलामा निस्कने सुरुङमार्गको लम्बाई करीब अढाई (२.६) किलोमिटरको मात्र हुनेछ । सुरुङमार्गको दाँया र बाँया साढे ३ मिटर चौडाई अथवा सरदर १२ फिटको सडकका दुईटा लेन हुनेछन् । यी दुई लेनलाई डेढ मिटर (करीब ५ फिट)को मिडियनले अलग गर्ने जनाइएको छ ।

बलम्बुदेखि टुटीपाखासम्म र सिस्नेखोलामा एप्रोच सडक, सुरुङमार्गको दुई किनारामा ढल निकासको लागि आधा मिटर चौडा सोल्जर, सुरुङमार्गमा पर्ने ७ वटा पुल, ११ वटा कल्भर्ट, टोल (सडक दस्तुर) गेट, धादिङको सिस्नेखोलामा सर्भिस स्टेसन पनि निर्माण गर्नुपर्ने कुरा ग्लोबल टेण्डरमा समावेश छ ।

धादिङको सिस्नेखोलाको खोल्सामा बन्ने स्टेसनमा कम्तिमा पनि २५ ठूला गाडी पार्किङ गर्न मिल्ने जनाइएको छ । सर्भिस स्टेसनमा एउटा पेट्रोल पम्प र खाजाघर निर्माण गरिने छ । सुरुङमार्गमा रहने मिडियनले गाडीहरुलाई लेन मिच्न दिदैन र सुरुङमार्गको साढे दश किलोमिटर सडकमा जाम हुँदैन । जाम नहुने बित्तिकै काठमाडौ र नौबिसे बीचको यात्रा सरदर २० मिनेटमा पूरा हुने कुरामा सडक विभागका इञ्जिनियरहरु बताउँछन् । यो योजना पूरा हुन ४–५ वर्ष लाग्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार