चित्रबहादुर केसीको प्रश्न, ८ वटा नेपाल बनाएपछि कर नबढाएर कसरी पालिन्छन् ?

  पहिलोपेज

 586 पटक हेरिएको

काठमाडौं, २३ भदौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले राजा हुँदासम्म नेताहरु नारायणहिटी धाउने गरेको र अहिले राजा हटेपछि दिल्ली धाउन थालेको बताएका छन् ।

“राष्ट्रियता यतिबेला यति कमजोर भएको छ कि कुरै गरी साध्य छैन”, राष्ट्रिय जनमोर्चा काठमाडौंको पाँचौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष केसीले भने, “पहिले राजा हुँदा नेताहरु फुत्त फुत्त नारायणहिटी पुग्थे । राजा पनि नेता र पार्टीहरुको विवादमा खेल्थे, एउटालाई फाल्थे र अर्कोलाई उचाल्थे । अहिले राजा त भागे । अब राजनीतिक दलका नेताहरु फुत्त फुत्त दिल्ली धाउन थालेका छन् । दिल्ली त अहिले नेताहरुको पानीपँधेरा भएको छ ।” नागरिकता विधेयक ल्याएर अंगीकृत नागरिक पनि मुलुकको सर्वोच्च ओहदामा पुग्न पाउने प्रावधान राखिन थालिएको र प्रदेशहरुलाई तराई र पहाड अलग गरेर राष्ट्रियता कमजोर बनाइएको अध्यक्ष केसीको आरोप थियो ।

नेता केसीले चौतर्फी कर र करको दायरा आकाशै छुनेगरी बढाइएको बताउँदै प्रश्न गरे, “कर नढाएर त सुखै छैन नि ! पहिले एउटा नेपालको भार थेगिरहेका जनतालाई ८ वटा नेपालको भार थेग्नु परेन ?” जनताले कर तिरेवापत सेवासुविधा पाउनुपर्ने तर त्यसो नगरी ७ वटा प्रदेश सरकार र एउटा केन्द्रीय सरकार गरी ८ वटा नेपाल, ८ वटा सरकार, त्यसका मन्त्रीहरु, सांसदहरु पाल्नका लागि र सेवासुविधाका लागि पनि सरकार कर बढाउन वाध्य भएको बताए । आफ्नो पार्टी संघीय प्रणालीको विरोधी नभएको तर नेपालको सन्दर्भमा रत्तिभर उपयुक्त नभएकाले स्थानीय तहलाई अहिलेभन्दा बढी अधिकारसम्पन्न बनाई बीचको प्रदेशहरु खारेज हुनुपर्ने र एकात्मक शासन प्रणाली नै सही हुने बताए । “हाम्रो अर्थतन्त्रले ८ वटा नेपाल धान्नै सक्दैन । ढिलोचाँडो एकात्मक शासन प्रणालीमा नफर्की सुखै छैन । कि त यो देशकै भविष्य रहने छैन ।”

नेता केसीले वामपन्थी नेतृत्वको दुईतिहाईको शक्तिशाली र स्थायी सरकारबाट आफ्नो पार्टीले पनि केही गर्छ कि भन्ने आशा गरेको र त्यहीअनुरुप चुनावमा तालमेल गर्नुका साथै सरकारलाई पनि समर्थन गरेको स्पष्ट पारे । “हाम्रो पार्टीले अझै मया मारेको त छैन तर छाँटकाँट खासै देखिएको छैन”, अध्यक्ष केसीले भने, “तस्कर, भ्रष्टाचारी, ठूला व्यापारीहरुले नेता खेलाउँछन् अनि कसरी हुन्छ भ्रष्टाचारको अन्त्य ?”

दुई दिनसम्म चल्ने राष्ट्रिय जनमोर्चा काठमाडौंको पाँचौं जिल्ला सम्मेलन उद्घाटन समारोहमा विभिन्न भाइचारा संगठनका प्रतिनिधिहरुले शुभकामना दिएका थिए । त्यस अवसरमा रक्तिम साँस्कृतिक अभियानका कलाकर्मीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । सम्मेलनमा काठमाडौं जिल्लाका महानगरपालिका, नगरपालिकास्तरका समितिहरुको सम्मेलन र भेलाद्वारा चुनिएका जिल्लाभरिका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार